माधवले सुनौलो अक्षर लेखाउने कि कलुषित बन्ने ?





दुई वर्षअघि नै खुलासा भएर पटकपटक चर्चामा रहने गरेको सुडान डार्फ मिसन एपीसी घोटाला काण्डले यतिखेर सञ्चारमाध्यममा हट केकको रूप लिएको छ । राष्ट्रको इज्जत-प्रतिष्ठा नै चकनाचुर भएको र नेपाल प्रहरीको सुडान मिसनसमेत धरापमा परेको यस्तो संवेदनशील मामलामा अनुसन्धान र कारबाही प्रक्रिया गम्भीरताका साथ अघि नबढाएर वर्तमान सरकारले आफू कामचलाउ होइन पूरै पङ्गु र नालायक भएको दर्शाएको छ । इतिहासमै नभएको असी प्रतिशत रकम घोटाला काण्डप्रति यसरी आँखा चिम्लन सक्ने सरकारले अन्य प्रकृतिका भ्रष्टाचारमा के आँखा लगायो होला, के कारबाही गर्‍यो होला ? सहजै अनुमान लगाउन सकिन्छ । यस्तो सरकारका प्रधानमन्त्री दिनको चार भाषणमा नैतिकता र इमानदारीको उपदेश बाँडेर हिँड्छन्, नेपालीको कत्रो विडम्बना ।
यो सरकार तथा विशेषगरी प्रधानमन्त्री माधव नेपाललाई सुझाब छ कि कुर्सीबाट बिदा लिँदालिँदै एपीसी घोटालामाथि सशक्त छानबिन तथा दोषीउपर कारबाहीको दर्बिलो आधारभूमि तयार गरेर जाने हो भने इतिहासमा उनको नाम भ्रष्टाचारविरोधी प्रधानमन्त्रीका रूपमा सुनौलो अक्षरले लेखिनेछ, होइन र खुट्टा कपाएर त्यत्तिकै जान्छन् भने यो निश्चित छ कि इतिहासकै सर्वाधिक अक्षम तथा कलुषित प्रधानमन्त्रीको पगरी माधवकुमारले गुथ्नुपर्नेछ ।
– शरद भेटवाल, कलङ्की, काठमाडौं
भट्टराईको पत्याउने कि पुनको सुन्ने ?
भारतीय नेताहरूसँगको भेटघाट तथा छलफलपछि ‘भारत पनि नेपालको शान्तिप्रक्रियामा सकारात्मक कोणबाट चिन्तित रहेको’ सन्देश दिन आइपुगेका माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईको अभिव्यक्तिको तरङ्ग-लहर चलिरहेकै परिवेशमा माओवादीका अर्का नेता वर्षमान पुनले डा. भट्टराईको धारणामाथि तुषारोको वर्षा गराए । भारत नेपालको शान्तिप्रक्रियामा पटक्कै सकारात्मक नरहेको ठोकुवा पुनले गरे । नेपाली उखानअनुसार आलोकाँचो या ठेट्नो वस्तु भरपर्दो हुँदैन भनेर बुझ्न खोज्ने हो भने पनि उमेर र अनुभवले कच्चा वर्षमान माओवादी सुप्रिमो प्रचण्डका भरपर्दा र विश्वासपात्रमा गनिएका छन् । बाबुरामको आरिसकै कारण छिमेकीको नियतमा पुनले खोट देखेका हुन् कि बाबुरामको बुझाइमै कमजोरी भएको हो ? अत्यन्त गहिरो जिज्ञासा जाग्न पुगेको छ । को कति पानीमा छ भन्ने त समयले प्रस्ट्याइहाल्ला, तर माओवादीभित्र सल्किएको भुसको आगोले चाहिँ कुनबेला कहाँ के कति खति गर्ने हो भन्ने त्रास पो पैदा भएको छ । ‘शान्ति शान्ति’ भन्दाभन्दै घोर भ्रान्तिमा परेका हामीजस्ता भुइँजनतालाई आश्वस्त तुल्याइदिने कसले होला –
– भूमिराज निरौला ँचालू’, सुनसरी, हाल : चाबहिल
माओवादी दोधारे भएपछि…
आज देश गम्भीर सङ्क्रमणबाट गुज्रिएको छ । पटकपटकको आन्दोलनबाट देशले गणतन्त्र पाएको छ । तर, अझै निमुखा जनताले मुक्ति पाउन सकेका छैनन् । देशलाई अनिर्णयको बन्दी बनाएर कुर्सीको खेलमा मस्त रहने संसद्वादीहरूको हरकतले मुक्तिकामी जनतालाई क्षुब्ध तुल्याएको छ । यसले पुन: एउटा सशक्त आन्दोलनको खाँचो प्रस्टै औंल्याएको छ । विडम्बनाको कुरो त के छ भने आफूलाई क्रान्ति र शोषितपीडित जनताको पर्याय ठान्ने दल एकीकृत नेकपा माओवादी घोर दोधारे चरित्रमा उभिएको छ । एकातिर ऊ शान्ति र संविधानको राग अलापिरहेछ भने अर्कोतिर जनविद्रोहको अमूर्त गीत पनि गाइरहेको छ । यसले प्रतिगमनकारीहरूलाई नै फाइदा पुर्‍याउने निश्चित छ । तर्सथ समस्त सच्चा क्रान्तिकारीहरू अब एक ठाउँमा उभिनैपर्ने बेला आएको छ । यही आवश्यकता बोध गरेर म कामरेड मातृकाप्रसाद यादवको नेतृत्वमा रहेको क्रान्तिकारी पार्टी नेकपा माओवादी र यसको भ्रातृ सङ्गठन अखिल माओवादीमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दछु । अबउप्रान्त एकीकृत माओवादी र अखिल क्रान्तिकारीसँग मेरो संलग्नता नरहने आमजनसमुदायमा अवगत गराउँदछु ।
– मानसिंह ठकुरी -शिशिर)
भक्तपुर जिल्ला सचिवालय, अखिल क्रान्तिकारी

प्रतिक्रिया