नाटकका जन्मदाता, नयाँ शैलीका चमत्कारी, शब्दको जादुगर : हेनरिक इब्सेन

नाटकका जन्मदाता, नयाँ शैलीका चमत्कारी, शब्दको जादुगर : हेनरिक इब्सेन


– हेमन्त खतिवडा

हेनरिक इब्सेन नर्वेका हुन् । उनी आफ्नो जीवनकालमा सम्मानित पनि भए, निन्दित पनि । सबै ठाउँमा प्रदर्शित भए, नाटक हेरेर मान्छेहरूले उनको हाई–हाई गरे । कोही तर्से पनि । जब उनी बिते, त्यसपछि समीक्षकहरूले उनको मुक्तकण्ठले प्रशंसा गरे । उनलाई निन्दा गर्नेहरूले पनि आधुनिक नाटकका जन्मदता हुन् भनी घोषणा गरे । बर्नार्ड शाका शब्दमा उनको प्रभाव, तीनवटा क्रान्ति, ६ वटा धर्मयुद्ध, दुईवटा विदेशी आक्रमण र एउटा भुइँचालो बराबर छ । हेर्नुस् त कस्तो चमत्कार अनि कस्तो जादुगरी उनको लेखन । वास्तवमा इब्सेन शब्दका जादुगर नै हुन् ।

सन् १८२८ मा नर्वेको स्किन भन्ने ठाउँमा हेनरिक इब्सेनको जन्म भएको थियो । उनका बाबु नड धनी व्यापारी थिए, प्रशस्त जग्गाजमिन, अथाह धनदौलत, सबै सुविधाले भरिपूर्ण । धनीका छोराछोरी उनका साथीहरू स्किनको रमाइलो वातावरणमा हाँस्दै, खेल्दै हुर्के ।

तर, एक्कासि बाबुको व्यापार तहसनहस भयो, व्यापारमा घाटा लाग्यो । स्थिति यहाँसम्म आइपुग्यो कि एउटा धनाढ्य बाबुको धनी छोराबाट अब उनी गरिबीको डिलसम्म आइपुगे । पैसा हुन्जेल नड इब्सेन आँखा नहेरी खर्च गर्थे, सबैलाई खुवाउँथे–पिलाउँथे । उनको शान, शौकत देखेर मानिस उनको इज्जत गर्थे, बाटामा हिँड्दा उनलाई मान्छेहरू ढोग्थे । तर, जब उनी तन्नम भए, मानिसले उनलाई हेर्नै छोडे । अब इब्सेनहरू सम्पत्तिबाट विपत्तिमा खसे, अनि यस्तो विपत्ति जहाँ पैसाको अनुहार सजिलै देख्न सकिँदैनथ्यो । त्यसबेला इब्सेन आठ वर्षका थिए । तैपनि उनले यो भाग्यको उलटफेर असर अनुभव गरे । अब उनी धनीमानीका छोराछोरीसँग खेल्न छोडी खिन्न भएर बस्थे, अतीतको सुखद जीवन सम्झथे अनि भविष्यमा के–के हुने हो त्यही सोचेर बस्थे ।

गाउँको स्कुलमा इब्सेनले ल्याटिन सिकेका थिए । उनी चित्रकार बन्न चाहन्थे, तर खर्च धेरै । १५ वर्षको उमेरमा उनी ग्रिम्सटाड हिँडे, अनि एउटा औषधालयमा काम गर्न थाले । ग्रिम्सटाड एउटा सम्पन्न नगर थियो । फेरि पनि लेख्थे अनि चित्र बनाउँथे उनी । लुगा बेचेर किताब किन्थे । अनि थोरै लुगा लाएर हिँड्थे । यस्तै अवस्थाको बीच हो उनले क्याटिलिना लेखेको, यो उनको प्रथम नाटक हो । त्यो औषधालय जहाँ सबै आएर गफ गर्थे उनको औषधालयमा मानिस आउँथे, औषधि पर्खन्थे, अनि कुरा गर्थे, तर इब्सेन औषधि पिसिरहन्थे, मानिसहरूका कुरा ध्यान दिएर सुन्थे । उनीहरूको अनुहारको हाउभाउ हेर्थे अनि अनुहार निरीक्षण गर्थे ।

सात वर्षसम्म उनले औषधालयको रुखो जीवन बिताए । न साथी थिए न सङ्गती । उनी एक्लै काम गर्थे त्यहाँ । अब उनी आफ्नो घर गए, अनि बहिनीलाई लिएर घुम्न निस्किए । उनीहरू पहाड चढ्न थाले ।

इब्सेनले भने, ‘म महानताको टाकुरामा पुग्न चाहन्छु ।’ ‘त्यसपछि के गर्छाै ?’ बहिनीले तुरुन्तै सोधी । इब्सेनले त्यही बेला भने त्यसपछि म मर्न चाहन्छु । अब इब्सेनले काम छोडे, उनी क्रिस्टियाना गए, त्यहाँ उनले सन् १८५० मा स्कुललार्ड भन्ने कानुनका विद्यार्थीलाई भेटे । स्कुलार्डले घरबाट पैसा पाउँथे, तर एकदमै कम । त्यही पनि इब्सेनलाई उनले सँगै राखे । उनीहरू दुवै विश्वविद्यालय जान्थे । पैसाविहीन नाटककार, एउटा सहृदय साथीको सहयोग अनि शहरको रमणीय ठाउँमा उनको बसाइ । रातिको खाना खाने पैसा हुँदैनथ्यो । अरू खान लाग्थे, उनीहरू घुम्न लाग्थे अनि आएर मिल्क कफी पिउँथे ।

अब उनको नाटक क्याटिलिना कसैले छाप्न मानेनन्, स्कुलार्ड भन्ने व्यक्तिले आफ्नै पैसाले त्यो पुस्तक प्रकाशित गरिदिए, तर पुस्तक चलेन । कम्मर कसेर अब लेख्न लागे । तर, क्याटिलिना नबिकेपछि यो नाटकका प्रतिहरू थोत्रो कागजको भाउमा बेचे । यही बेला हो इब्सेनले १५ वर्षकी सुन्दरी रिकीसँग भेटघाट गरेको अनि प्यारमा डुबेर बिहेको प्रस्ताव गरेको । रिकीका बाबु पैसा नभएका इब्सेनलाई छोरी दिन चाहँदैनथे । तर, रिकी भने भेटिरहन्थिन्, मरिहत्ते नै गर्थिन् नि हौ !

एक दिन रिकीका बाबु एक्कासि आएर त्यही बेला उफ्रिए, इब्सेन भागे, जतिखेर उनी रिकीलाई अँगालोमा कसेर म्वाइँ खाँदै थिए । पछि नाटक लेखेर प्रसिद्ध भए, पैसा पनि धेरै कमाए । अब उनी रिकीलाई भेट्न गए, रिकीले बिहे गरिसकेकी थिइन् । नानीको आमा पनि भइसकेकी थिइन् रिकी ।
इब्सेनले गुनासो गरे ‘रिकी, मैले तिम्लाई पाउन सकिनँ ।’

रिकीले त्यही बेला भनिन्, ‘प्यारो इब्सेन तिमी त्यही बेला भाग्यौ नि त ?’ ‘हो म साह्रै कातर हुँ रिकी,’ उनले भने । बिस्तारै सास ताने उनले, अब उनको मुुटु ढुकढुक गर्न थाल्यो । रिकीलाई पहिलोपल्ट भेटेदेखि उनीसँग गरेको प्रेम, घुमेको, डुलेको सबै एक–एक दृश्य सिनेमाको चित्रझैँ उनको आँखैमा नाचिरह्यो । कसैले इब्सेन भनेर बोलायो, हँ उनी झसङ्ग भए । प्रेमको मन्दिरलाई लत्याएर रिकी गई, मनभित्र बेदनाको आगो दन्किएको थियो, उनलाई विरहको भाका सुन्न मन लागेको थियो । अनि क्वाँ–क्वाँ रुन मन लागेको थियो हाम्रा इब्सेनलाई ।

तीस वर्षको उमेरमा सुजानालाई बिहे गरे, आर्थिक अवस्था राम्रो थिएन, पैसाको लागि सधैँ खटिरहनुपथ्र्यो, सरकारसँग यात्रा खर्च मागे, सुरुमा त आनाकानी ग¥यो तर सरकारले उनलाई पछि पैसा दियो ।

अब उनी नर्वे छोडेर हिँडे । विदेशमा डुलिरहे, त्यही बेला प्रतिभाको मूल फुट्न थाल्यो । ब्रान्ड लेखे, पिअर जित्न लेखे । डोल्स हाउस (पुतलीको घर) लेखे, घोस्ट्स (प्रेतहरू) लेखे । आफ्नो असाधारण प्रतिभालाई तिखारे, निखारे । असाधारण प्रतिभा र मौलिकता प्रदर्शित गर्दै अगाडि बढे ।

अब उनले प्रसिद्धिको मदिरा चाख्न लागे । सन् १८७९ मा डोल्स हाउसले आलोचना सहनुप¥यो । पछि घोस्टस् (प्रेतहरू) नाटक लेखे । यसले पनि निन्दा सहनुप¥यो आलोचकहरूबाट, ‘एन ऐनमी अफ द पिपल’ (जनताको शत्रु) लेखे, त्यसमा पुराना विचार र विश्वासको खिल्ली उडाएका छन् ।

सन् १८८५ मा वाइल्ड डक –जङ्गली हाँस) लेखे । इब्सेनलाई कतिले विचारका नाटककार भन्छन् । विचारलाई नै उनले प्राथमिकता दिए अनि विचारकै निम्ति उनले पात्रलाई बङ्ग्याए पनि ।

इब्सेन विश्वविख्यात भए, उनको सुकीर्ति सर्वत्र फैलियो । २७ वर्षको विदेश वासपछि सन् १८९१ मा नर्वे फर्के ।

उनको स्वागतमा सारा देशवासी उर्लिए, गाना गाए अनि इब्सेनको नारा लगाए । ‘इब्सेन अमर रहुन् भन्दै उनको भव्य स्वागत गरे । बाटामा हिँड्दा मान्छेहरू उनलाई देखाएर भन्थे, ‘उनी हुन् नर्वेका सबभन्दा महान् अनि विलक्षण व्यक्तित्व, इब्सेन, सबका प्यारा इब्सेन ।’

मानिसहरू उनको दर्शन गर्थे, ठूलो ऐनाको छेउमा बस्थे, बियर माग्थे अनि अखबार पढ्थे । नर्वेमा फर्केपछि चारवटा नाटक लेखे, युरोपभरि मञ्चित भए, अनुवादहरू भए । अनि उनलाई नाटकका जन्मदाता, नयाँ शैलीका चमत्कारी, शब्दको जादुगर मान्न सबै बाध्य भए ।

अब जीवनका अन्तिम दिनहरूमा उनी आइपुगे । सन् १९०१ मा उनको होस हरायो, ५ वर्षसम्म त्यही बिरामीको हालतमा रहे अनि सन् १९०६ को २३ अप्रिलमा उनी बिते ।