१९७२ पछि चन्द्रमामा कोही गएनन्, किन ?


‘मानवताका लागि एक सानो पाइला, सिङ्गै मानवजातिको लागि ठूलो छलाङ सावित हुनेछ,’ चन्द्रमामा पहिलो पाइला राख्ने मानवले यसो भनेका थिए ।

त्यो दिन थियो २१ जुलाई १९६९, जुन दिन नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेर इतिहास रचिदिएका थिए । यसपछि थप पाँच अमेरिकी अन्तरिक्ष अभियान चन्द्रमामा पठाइयो । सन् १९७२ मा चन्द्रमा पुग्ने युजिन सेरसन आजसम्मका अन्तिम अन्तरिक्ष यात्री हुन्, उनीपछि आजसम्म कोही मानिस चन्द्रमा पुगेका छैनन् ।

तर, करिब आधा शताब्दीपछि अमेरिकाले पुनः चन्द्रमामा मानिससहितको यान पठाइने उद्घोष गरेको छ । राष्ट्रपति ट्रम्पले यस मामलासँग सम्बन्धित एक प्रस्तावमा हालै हस्ताक्षर गरेका छन् । यस अमेरिकी तदारुकतासँगै प्रश्न उठेको छ– अमेरिका या अन्य कुनै पनि देशले आधा शताब्दीसम्म किन चन्द्रमामा अन्तरिक्षयात्री पठाएनन् होला त ?

यो प्रश्नको जवाफ खोज्दै जाँदा आर्थिक मामला जोडिएर आउँछ । अर्थात्, बजेट नै प्रमुख बाधक रहेको देखिन्छ । किनकि, चन्द्रमामा मानिस पठाउनु भनेको अति महँगो काम हो । लसएन्जलसस्थित क्यालिफोर्निया युनिभर्सिटीमा खगोल विज्ञानका प्रोफेसर माइकल रिच भन्छन्, ‘चन्द्रमामा मानिस पठाउँदा अकल्पनीय धनराशि खर्च भएको थियो, तर त्यसअनुसार वैज्ञानिक फाइदा भने हासिल भएन ।’

विज्ञहरूका अनुसार उक्त मिसन वैज्ञानिक उपलब्धि हासिल गर्नेभन्दा पनि राजनीतिक अभीष्टका लागि भएको थियो, अन्तरिक्ष नियन्त्रण गरेर आफूलाई महाशक्ति दर्शाउने होडबाजीमा त्यतिबेला ठूलो खर्चको भार उठाएरै पनि अन्तरिक्ष मिसन पठाइएको थियो ।

अमेरिकाकै सन्दर्भमा चर्चा गर्नुपर्दा सन् २००४ मा तत्कालीन राष्ट्रपति डब्लु जर्ज बुसले पनि हालका ट्रम्पले झैँ चन्द्रमामा मानवसहितको मिसन पठाउने प्रस्ताव अघिसारेका थिए । त्यसका लागि १,०४,००० मिलियन अमेरिकी डलरको अनुमानित बजेट पनि बनाइएको थियो । तर, मिसनका लागि उक्त भारी बजेट जुटाउन बुस सरकार पनि असमर्थ रह्यो र प्रस्ताव अलपत्र बन्न पुग्यो । सम्बन्धित विशेषज्ञहरूलाई अहिले पनि यही डरले सताइरहेको छ, किनकि राष्ट्रपति ट्रम्पले प्रस्तावमा हस्ताक्षर गर्नुअघि सिनेटसँग परामर्शसमेत गरेका छैनन् । वैज्ञानिक लाभ कम र अत्यधिक खर्च रहेको यस्तो प्रस्तावमा कङ्ग्रेसको मञ्जुरी हासिल गर्नु अपरिहार्य छ ।

यसैगरी वर्षौंदेखि कैयन नयाँ उपग्रह, वृहस्पतिमाथि खोज–अनुसन्धान, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनलाई अन्तरिक्ष कक्षमा लन्च एवम् अन्य आकाशगंगाहरूको शोध र खोजमा नासा लागिरहेको छ । यसले पनि मून–मिसनको प्रस्ताव अलपत्र पर्ने सम्भावना बढाएको छ ।

भन्न त नासाले पनि फेरि चन्द्रमामा मानिससहितको मिसन पठाउनु आवश्यक रहेको तर्क अघि सार्दै आएको छ । नयाँ परिवेशमा चन्द्रमामा पुग्न सके निकै नयाँ रहस्यहरू उद्घाटित हुन सक्ने उसको तर्क छ । यसले चन्द्रमामा मानवसहितको यान पठाउने सवालमा दिलचस्पी पनि बढाएको छ । सरकारी एवम् निजी तवरबाट पनि निकै कोसिस नभएका होइनन्, चन्द्रमामा मानवबस्ती बसाइने महत्वाकाङ्क्षी योजनाहरू पनि पेस भएकै हुन् । चन्द्रमाको चट्टान एवम् खनिज पदार्थहरू पृथ्वीमा ल्याएर महँगोमा बिक्री गरी लाभ उठाउने कुरासमेत सम्बद्ध शक्तिराष्ट्रहरूले उठाउन थालेका छन् । अमेरिका यस्तो कुरामा आफूलाई पछि छोड्न किन चाहन्थ्यो र ? तर, कुरा आखिर अड्किएको छ बजेटकै विषयमा ।

प्रतिक्रिया