कति चिच्याउनु भनेर चुप बसेको हुँ-परमानन्द झा, उपराष्ट्रपति

कति चिच्याउनु भनेर चुप बसेको हुँ-परमानन्द झा, उपराष्ट्रपति


० लामो समयदेखि राजनीतिक गतिरोध कायम छ, दलहरूले सकेनन्, अब के गर्नुपर्ला ?
– राजनीतिक दलहरूले गतिरोध अन्त्य गर्न नसके राष्ट्रपतिले जिम्मेवारी लिएर यसको पहल गर्नुपर्छ । राष्ट्रपति मुलुकको संरक्षक भएकाले मुलुकलाई लथालिङ्ग अवस्थामा छाडेर पन्छिन मिल्दैन । संविधानले प्रदान गरेअनुसार राष्ट्रपतिले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । दल र सरकारले जिम्मेवारी पूरा गर्न सक्दिनौँ भन्छन् भने जिम्मेवारी लिन तयार हुनैपर्छ । हाम्रा राष्ट्रपति जिम्मेवारी लिन सक्षम पनि हुनुहुन्छ ।
० संवैधानिक राष्ट्रपतिले त्यस्तो गर्न मिल्छ र ?
– राष्ट्रपति मुलुक र संविधानको संरक्षक हो । मुलुक र संविधानमाथि सङ्कट आयो भने राष्ट्रपति चुप लागेर बस्न मिल्दैन । त्यस्तो अवस्थामा कि त राष्ट्रपतिले जिम्मेवारी लिनुपर्छ अन्यथा पद छाड्नुपर्छ ।
० सहमतिका लागि प्रयास नगरी जिम्मेवारी लिनुपर्छ भन्न मिल्छ र ?
– हामीले प्रयास गरिरहेका छौँ । आगामी माघ १५ गतेभित्र नयाँ सरकार निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाउने सहमति राष्ट्रपति, म, प्रधानमन्त्री र सभामुखबीच भएको छ । यसका लागि सभामुखले निर्वाचन प्रक्रियालाई छोटो बनाएर प्रक्रिया अगाडि बढाउने सहमति पनि भएको छ । त्यस्तै मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्य गर्न म पनि पहल गर्दै छु । छिट्टै उपयुक्त समयमा सबै राजनीतिक दलका नेतालाई बोलाई छलफल गरेर गतिरोध अन्त्यको प्रयास गर्दै छु ।
० राजनीतिक गतिरोधको कारणचाहिँ तपाईंलाई के लाग्छ ?
– संविधान निर्माणलाई अगाडि बढाउन नसक्दा अहिलेको राजनीतिक गतिरोध आएको हो । मुलुकमा शान्तिभन्दा संविधान निर्माण महत्त्वपूर्ण कुरा हो । समयमै नयाँ संविधान निर्माण भए मुलुकका असी प्रतिशत समस्या आफैं समाधान भएर जान्छ । संविधान मुख्य कुरो हो त्यसैले संविधान निर्माणको कामलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ । शान्ति त संविधान निर्माणको आधार मात्र हुन सक्छ । महत्त्वपूर्ण कुरा हुनै सक्दैन । संविधानसभाको निर्वाचन नयाँ संविधान निर्माण गर्न भएको हो न कि शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन । शान्तिका लागि संविधान होइन संविधानका लागि शान्ति हो ।
० त्यसो भए गतिरोध अन्त्य गर्ने उपाय के होला त ?
– संविधानको सुनिश्चितताका लागि नागरिक दबाब आवश्यक छ । अहिलेसम्म नेपालमा त्यस्तो देखिएको छैन । अहिलेसम्म नागरिक दबाब नभएकै कारण यस्तो अवस्था आएको हो । अब नेपाली जनता जाग्नुपर्छ । दलहरूमाथि दबाब सिर्जना गर्नुपर्छ ।
० तपाईं संविधान निर्माणमा आफ्नो भूमिका भएन भनेर गुनासो गर्नुहुन्थ्यो, अहिले त केही भन्नुहुन्न नि, के तपाईंले यतिबेला कुनै भूमिका पाउनुभएको हो ?
– भूमिका भएन भनी कति कोकोहोलो मच्चाइरहनु – जति भने पनि कसैले नसुनेपछि कराएर मात्र के गर्नु – कसैले मेरो कुरा सुनेन । भन्दाभन्दा म थाकिसकेँ, हुँदैनहुने भएपछि कति कराउने भनेर चुप लागेको हुँ, कसैले कुनै भूमिका दिएका छैनन् ।
– ऋषिकुमार