जिन्दगीका एघार वर्ष

जिन्दगीका एघार वर्ष


– बबिता बस्नेत

जिन्दगीको ११ घन्टा कति हो भनेर कसैले सोध्यो भने जवाफ हुन सक्छ, ‘तपाईंले त्यो ११ घन्टा कसरी बिताउनुभयो, त्यसमा भर पर्छ ।’ हिन्दू धर्म–संस्कृतिमा ११ दिनको ठूलो महत्व छ । ११ वर्ष ? एघार वर्षमा त के हुँदैन र ? १२ वर्षमा बगेको खोलो पनि फर्कन्छ भन्ने भनाइ नै छ । खोलो फर्किनुभन्दा १ वर्ष कम त हो । नेपालका लागि पछिल्लो एघार वर्ष कस्तो रह्यो ? कसैका लागि यो उर्वर वर्ष भयो होला, तर देशका लागि यो ११ वर्षले के अर्थ राख्यो, के भयो, के भइरहेको छ, दूरगामी असर या प्रभाव के प¥यो पुनरावलोकन गरेर अघि बढ्नुपर्ने समय आएको छ । ११ वर्षअघि यो मुलुकमा माओवादी युद्ध अन्त्य भई शान्तिप्रक्रिया सुरु भएको घोषणा गर्दा अब मुलुक समृद्धितिर अघि बढ्ने अपेक्षा गरिएको थियो । यसबीचमा तत्कालीन माओवादीका सुप्रिमो प्रचण्डको आसिकी स्टाइलको कालो कपाल बिनास्टाइलमा परिणत मात्र भएको छैन, सेतो पनि भइसकेको छ । परिवर्तनको के कुरा गर्नु ? शान्तिप्रक्रियाका सूत्रधार गिरिजाप्रसाद कोइरालाले यो संसार नै छोडेर गइसक्नुभएको छ । ११ वर्षअघि शान्तिसम्झौता हुँदै गर्दा उहाँको मुहारमा आएको उज्यालोपन हेर्दा उहाँले यति चाँडै संसार छाड्नुहोला जस्तो लागेको थिएन । शान्तिप्रक्रियापछिका अशान्त गतिविधिले उहाँलाई कहिल्यै शान्तसँग बाँच्न दिएन । अन्ततः राष्ट्रपति बनाउने प्रतिबद्धता गरेर नेता प्रचण्डले धोखा दिएपछि थप अशान्तिकाबीच उहाँको निधन भयो । शान्तिप्रक्रियाकै क्रममा शान्तिप्रक्रियाका प्रमुख व्यक्तित्वलाई चिरशान्तिको कामना गर्नु निश्चय नै राम्रो कुरा थिएन । तर, प्रकृतिको नियमलाई रोक्न नसकिने हुँदा केही गर्न सकिएन ।

शान्तिप्रक्रियादेखि संसदीय निर्वाचनसम्म (सन् २००६ देखि २०१७) यो ११ वर्षको अवधिमा के भयो भनेर हेर्दा समग्रमा संविधानको कुरा गरेर बितेको देखिन्छ । सुरुका केही वर्ष संविधानसभाको निर्वाचन, त्यसपछि संविधान निर्माण र पछिल्लो चरणमा संविधानको कार्यान्वयन । यी सबै चरणमा शान्तिप्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउने कुरा गरियो । नेताहरूका ‘डिस्टर्भ माइण्ड’ले गरेका शान्तिका कुराहरू सुन्न जति रोचक थिए, घटनाक्रम त्यति नै पीडादायी । नेपाल बन्द होस् या टायर जलाउने कार्यक्रम, वार्ताहरू अन्ततः पदको बाँडफाँडमै गएर टुङ्गिने । शान्तिको कामना गर्न त मनमा शान्ति हुनुपर्छ । आफू सही र इमानदार भएपछि मात्रै अरूलाई इमानदारीको पाठ सिकाउन सकिन्छ । कुरा मात्र गर्नका लागि मनमा शान्ति नचाहिने रहेछ, पटक–पटक आन्दोलनको घोषणा गर्दै शान्तिको कुरा अघि बढाइयो । यो ११ वर्षमा संविधान र शान्तिका नाममा धेरै मानिसको ज्यान गयो । बीचका सानातिना आन्दोलनमा पटकपटक मानिस घाइते भए । पछिल्लो चरणमा संविधान बनिसकेपछि पनि आन्दोलनका क्रममा मधेसमा गोली लागेर मानिसको देहान्त भयो । निधन हुनेमध्ये धेरै सर्वसाधारण थिए । तिनका परिवारको अवस्था के होला ? यो प्रश्न मनमा ल्याउने समय पनि शायद अब रहेन ।

नेताहरूका ‘डिस्टर्भ माइण्ड’ले गरेका शान्तिका कुराहरू सुन्न जति रोचक थिए, घटनाक्रम त्यति नै पीडादायी । नेपाल बन्द होस् या टायर जलाउने कार्यक्रम, वार्ताहरू अन्ततः पदको बाँडफाँडमै गएर टुङ्गिने । शान्तिको कामना गर्न त मनमा शान्ति हुनुपर्छ । आफू सही र इमानदार भएपछि मात्रै अरूलाई इमानदारीको पाठ सिकाउन सकिन्छ ।

निर्वाचन भयो, ठूलो उपलब्धि भयो । तर, यसबीचमा निर्वाचन हुन नदिने तत्व को थियो ? भनी फर्किएर हे¥यो भने यही नेतृत्व यसका लागि दोषी देखिन्छ न कि बाहिरी शक्ति । आफँैले युद्ध गर्ने वातावरण बनाउने या युद्ध गर्ने (दुवै दोषी छन्) १७ हजार मानिसको ज्यान लिने, हजारौँको जिन्दगी तहसनहस पार्ने, त्यतिबेला नेतृत्वमा रहेका यिनै व्यक्तिहरू चुनाव नगर्ने, वार्ता गरेर समस्याको समाधान पनि नगर्ने अनि अहिले के–के नै गरेझैँ गरी ठूलो उपलब्धि ग¥यौँ भन्ने, सुन्दा अनौठो लाग्ने कुरा संसारमा कहीँ हुन्छ भने त्यो हामीकहाँ नै हुन्छ । सकारात्मक, नकारात्मक दुवै अर्थमा हामीकहाँ आश्चार्यलाग्दा घटनाहरू हुने गर्छन्, हुँदै आएका छन् । जसको साक्षी यो पुस्ता बनिरहेको छ । राजनीतिक घटनाक्रम नियालेर यो देशमा आर्थिक विकासचाहिँ कहिले हुन्छ होला ? भनी आफैंसँग प्रश्न गर्दै कपाल फुलाउनेहरूको सङ्ख्या ठूलो छ । विभिन्न परिस्थितिको सार्वजनिक टीका–टिप्पणी गरेर बुद्धिजीवीका रूपमा दङ्ग पर्दै आत्मसन्तुष्टि लिनेहरू पनि धेरै छन् ।

व्यक्तिको मात्रै समय खेर गएजस्तो लागे पनि देशको समय खेर गइरहेको छ । शान्तिप्रक्रिया शुरु भयो अब विकास हुन्छ भन्दाभन्दै राजनीतिले ११ वर्ष खाइदियो । न त विकास भयो न त युद्धपीडितहरूले न्याय नै पाए । शान्तिको अर्थ न्याय पनि हो । न्यायबिनाको शान्तिलाई वास्तविक शान्ति भन्न मिल्दैन । अब निर्वाचन सकियो, विकास र समृद्धिका नाममा जनताले मत दिएका छन् । यत्तिका वर्षपछि अब त सबै कुरा ठीक हुने भो भन्ने ठान्दै गर्दा आलोपालो सरकार प्रमुखलगायतका कुराले फेरि पनि समृद्धिभन्दा बढी शासनको लालसाले नै बाँकी समय पनि जाने हो कि जस्तो देखिन्छ । ‘मर्निङ सोज द डे’लाई आधार मान्ने हो भने यो सही सङ्केत होइन । शासनको भन्दा अब मुलुकको विकास र समृद्धिको काम हुनुपर्छ । तर, अहिले चुनावपछिको अवस्था हेर्दा संविधानले एघार वर्ष लिएझैँ सङ्घीयताले अर्को एघार वर्ष लिने हो कि जस्तो देखिन्छ । संविधान बनाउँदा ११ वर्ष, कार्यान्वयनका लागि ११ वर्ष लाग्न थाल्यो भने एउटा मानिसको सिङ्गो जीवनका कालखण्डहरू समृद्धिको चाहनामै सीमित हुनेछन् ।

हेर्दाहेर्दै धेरै मुलुक कहाँबाट कहाँ पुगिसके । हामी विश्वकै पुरानो देश भएर पनि सत्तामोहका कारण झन्झन् पछाडि धकेलिँदै गएका छौँ । देश तीन कुराले बनेको हुन्छ, भूगोल, संविधान र जनता । भूगोलको विषयमा हामीले चिन्ता लिनुपर्ने देखिँदैन । देशको सिमानाको बारेमा चिन्ता लिनु नपरेपछि मुलुकलाई अघि बढाउन तयार गरिएको संविधानमा आधारित भएर जनतालाई सुखशान्ति दिन गाह्रो हुँदैन । सानो भूगोल, ससाना कुरामा प्रभावित भएर खुसी हुने जनता भएको देशमा विकासका कामहरू गर्न गाह्रो छैन । सातवटा प्रदेशमा धमाधम उद्योग–व्यवसायहरू सञ्चालनमा ल्याउने हो भने वैदेशिक रोजगारीका नाममा विदेशी भूमिमा युवाहरूले अनेक भुक्तानी भोग्नुपर्ने थिएन । हामीसँग भएको पानी र जमिनको उपयोग मात्रै हुन सक्यो भने पनि यहाँ गर्न सकिने कुरा धेरै छ । त्यसैले अबका ११ वर्षमा संविधानको कार्यान्वयन गरियो भनेर होइन मुलुकमा विकास र समृद्धि अघि बढ्यो भन्ने अवस्थाको सिर्जना गरियोस् ।