जमुना : परोपकारको सुन्दर नमुना

जमुना : परोपकारको सुन्दर नमुना


प्रदेश नम्बर ४ बाग्लुङ घर भई हाल बेल्जियममा ब्यवसाय गरि बसेकी जमुना शर्मा गौतमले बाग्लुङ नगरपालिकाकी क्यान्सरपीडित अम्बिका गौतमलाई आर्थिक सहयोगस्वरुप १ लाख ५ हजार रुपयाँ प्रदान गरेर परोपकारको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेकी छिन । आर्थिक अभावमा पीडित परिवारले गरेको आर्थिक सहयोगको अनुरोधमा परोपकारी मन भएकी जमुनाको सहयोगले पीडित महिलालाई उपचारमा राहत मिलेको भन्दै बिरामीका छोरा ध्रुव गौतमले सहयोगी हातलाई हार्दिक गरे।

परोपकारको अर्थ निःस्वार्थ भावबाट अरुलाई आर्थिक, नैतिक र भौतिक आदि किसिमको सहयोग गर्नु भन्ने हो । आफ्नो शरणमा आएको आफन्त, मित्र, शत्रु, कीट-पतंग, देशी-परदेशी, बालक-वृद्ध सबैको दुख निवारण गर्न निष्काम भावबाट प्रयास गर्नु नै परोपकार हो ।

परोपकार नै एक यस्तो गुण हो जसले मानवलाई पशुबाट अलग गरेर देवत्वको श्रेणीमा ल्याइदिन्छ । पशु तथा पक्षीहरु पनि आफुलाई गरिएको उपकारप्रति कृतज्ञ हुन्छन् । मनुष्य त झन् विवेकशील प्राणी हो, त्यसैले उसले आफुलाई पशुको श्रेणीबाट माथि उठाएर परोपकार गर्नुपर्छ ।

प्रकृतिको हरेक कण(कणले हामीलाई परोपकारको शिक्षा दिन्छ, जस्तो कि, नदि परोपकारको लागि बग्छिन्, वृक्ष सुर्यको प्रचण्ड तापबाट बचाउन हामीलाई छाया दिन्छ, सूर्यको किरणले बिनामूल्य संसारको सृष्टि चलायमान गराएको छ । चन्द्रमाबाट शीतलता, समुद्रबाट वर्षा, रुखबाट फलफूल र तरकारी, गाईबाट दूध, वायुबाट प्राण बिना मूल्य मिलिरहेको छ । यी सब परोपकारका उत्कृष्ट नमुना हुन् ।

पशुले त आफ्नो शरीर समेत भक्षिहरुको खानाको लागि समर्पण गर्दछ । प्रकृतिको यही त्यागमय वातावरण हामीलाई जमुना शर्माले झैँ निःस्वार्थ भावबाट परोपकार गर्नको लागि शिक्षा दिन्छन् ।

धार्मिक शास्त्रहरुमा पनि परोपकारका अनगिन्ति उदाहरणहरु पाइन्छन् । राजा रतिदेव चालीस दिनसम्म भोको हुँँदा केहि खाना मिलेको थियो तर त्यो खाना भोजन शरणमा आएको अर्को भीखारीलाई दिए । दधीचि ऋषिले देवताहरुको रक्षाको लागि आफ्नो हड्डी समेत प्रदान गरे । हिन्दुहरुका आदित्य शिवले संसारको रक्षाको लागि समुद्र मंथनबाट निस्केको बिष पिए, कर्णले आफ्नो कवच र कुण्डल समेत याचक बनेर आएका इन्द्रलाई दिए ।

राजा शिविले शरणमा आएको चीललाई आफ्नो शरीरको माशु काटेर खानदिए र बचाए । ईसा मसीह सूलीमा चढे भने दार्शनिक सुकरातले लोक कल्याणको लागि बिषको प्याला परोपकारको उत्कर्षमा हांसीहांसी पीए। शिख गुरु नानकले व्यापारको लागि बुबाले दिएको दौलत गरिब, साधु र दुखिहरुको परोपकारमा समर्पण गरिदिए ।

परोपकारका अनेक रूपहरु छन् जसबाट दान दिनेलाई आत्मिक आनन्द प्राप्त हुन्छ भने लिनेको रक्षा हुन्छ । जस्तै, तिर्खा लागेको मान्छेलाई पानी पियाउनु, बिमारी वा घाइतेलाई अस्पताल लैजानु, वृद्धलाई बसमा सिट दिनु, अन्धालाई सहारा दिनु, अशिक्षितलाई शिक्षा दिनु, भोकोलाई रोटि दिनु आदि परोपकारी कार्य हुन् ।

अन्त्यमा मानव परोपकारको लागि हमेसा अग्रसर हुनु पर्दछ । जमुना शर्मा जस्तै सबै मानव मनहरु परोपकारको लागि अगाडी आउनु बेल्जियमबासी नेपालीको लागि गर्वको कुरा हो । उनको मन सधै परोपकारको लागि उन्मत्त भै रहोस र अरुले पनि त्यसबाट प्रेरणा लिन सकुन् ।

– डिल्लीराम अम्माई, बेल्जियम