नगरपालिकालाई किन तिर्ने कर ?





जनताको करबाट जागिर खाने, त्यतिले नपुगे पेटभरि घुस खाने, डकार्दै घाम ताप्ने ठालु नगरपालिका हो भनी सबैको मुखबाट एउटै आवाज सुनिन्छ । हुन पनि यसो हेर्‍यो जनताको सेवा हुने काम केही नगर्ने तर सबैभन्दा बढी घुस खाने भ्रष्टाचारी कार्यालय भनेकै नगरपालिका रहेछ भन्ने छाप सबै नगरवासीलाई परेको छ ।
नगरभित्र निर्माणकार्य घर आदिको नक्सापास गर्दादेखि निर्माण पूरा हुँदा घुस दिनुपर्ने, त्यस्तै घरकर, भाडाकर चुङ्गीकर आदिले मात्र नपुगे फुटपाथमा चुरोट-सलाई बेचेर प्राण धान्ने निमुखा गरिबसँग पनि पैसा उठाउने तर हिसाब नदेखाउने र तलदेखि माथिका हाकिमसम्मलाई भागवण्डा मिलाई खानुपर्ने । हाकिमका आफन्तहरूलाई जागिरको निमित्त भर्ना गर्ने केन्द्र नगरपालिका हो भन्ने कुरा अब सबैले बुझिसकेका छन् ।
जनताको सेवाको नाममा शून्य केही नगर्ने नगरपालिकालाई जनताले कर तिरेर किन पाल्ने त – अब यही प्रश्न नगरवासीमा टड्कारो देखापरेको छ । हुन पनि हो अरू सेवाग्राही काम त गरेन गरेन, सामान्य मूल सडकहरूमा ढल फुटेर यत्रतत्र बगेको छ, टोल र सडकमा हिँड्ने मानिस नाक थुनेर हिँड्नुपरेको महिनौँ दिन भइसक्यो तर त्यसतर्फ नगरपालिकाले ध्यान दिँदैन । एउटा मात्र उदाहरणको रूपमा कलंकी वडा नं. १४ को बीपीमार्ग र संरचना मार्गको अन्तिम ढल निकास बल्खुखोलानजिक कुलेश्वर जाने मूल सडकमा ढल फुटेर यत्रतत्र छरिएको महिनौँ भइसक्यो । जुन ठाउँ कलंकी चक्रपथबाट लगभग दुई सय मिटर कुलेश्वरतर्फ जाने लिकरोडमा पर्छ । एक महिनादेखि सडक किनारमा घर हुने टोलवासी उदयनाथ खनाल, बालकान्त अधिकारीलगायतका उपभोक्ता एवम् टोल सुधार समिति लिई मनपा वडा नं. १४ मा गई लिखित निवेदन गर्दा पनि आजसम्म कुनै सुनुवाइ भएन । कहिले बजेट छैन त कहिले नयाँ सचिव आउनुभएको छ, अध्ययन गर्दै हुनुहुन्छ भन्ने जवाफ मात्र पाइन्छ । कस्तो अध्ययन हो नयाँ सचिवले ठूलै मुद्दा हर्ेर्नुपर्ने त होइन, केवल दुईजना कामदारले गर्न सक्ने कुरा महिनौँ दिनसम्म गरिँदैन भने कतै त्यहीँ पनि घूस खोजिएको त होइन भनी टोलवासीहरू शङ्का गर्न थालेका छन् ।
यसरी नगरपालिकाप्रति जनताको श्रद्धाभाव घट्दै गयो भने एक दिन ‘कर नतिर’ आन्दोलनले नगरपालिका घेर्नेछ । ‘अति सर्वत्र वर्जितम्’ भनेजस्तै अति हुनु भएन । जनताले सहने सीमाको पनि हद हुन्छ । सीमा नाघेपछि कसैले रोक्न सक्दैन । यिनै कुरालाई नगरपालिकाले ध्यान देओस् र हामी जनसेवाको उद्देश्य बोकेर जनताको करबाट तलब खाने सेवाग्राही हौँ भन्ने सद्बुद्धि पलाओस्, यही हाम्रो शुभकामना छ ।
– मुक्तिनाथ खनाल
मोटरसाइकलले धोका दिएपछि प्रहरीफन्दामा
अवैध हतियार बोकेर चोरी, डकैती र लुटपाटलगायतका आपराधिक कार्यमा संलग्न दुई युवा कालिमाटीबाट बल्खुतर्फ लागेको विशेष खबर पाएलगत्तै महानगरीय प्रहरी आयुक्तको कार्यालय चनाखो बन्यो । तत्काल रानीपोखरीस्थित आयुक्तको कार्यालयबाट प्रहरीको एक टोली अपराधी पक्रन खटियो । सम्भवतः अपराधमा संलग्न युवाहरूले पनि आफूहरू प्रहरीको निसानामा परेको खबर तत्काल पाए र आफूले प्रयोग गरेको बा.२८ प ८८ नम्बरको पल्सर मोटरसाइकलको एक्सिलेटर पूरै दबाएर उनीहरू फर्पिङको बाटो सोझिए । तर, प्रहरीको हात पर्नुबाट जोगिने उनीहरूको अभिलाषा त्यतिबेला चकनाचुर भयो जब चोभारडाँडा पुग्दा तीव्र गतिको मोटरसाइकल नियन्त्रणबाहिर गई दुर्घटनाग्रस्त हुनपुग्यो । प्रहरीले पनि अपराधी पक्रने आशा राखेको थियो कि थिएन, तर उनीहरूलाई अप्रत्यासित रूपमा सफलता हात लाग्यो । अन्ततः राजधानीमा विभिन्न आपराधिक कार्यमा संलग्न रही जनमानसमा त्रास फैलाउँदै आएका अर्जुन र राजकुमार प्रहरीफन्दामा परे । घटना गत ४ गते आइतबारको हो । आइतबार साँझ पक्राउ परेका युवाहरू नुवाकोट त्रिशूली घर भएका २० वर्षीय अर्जुन तामाङ र राजकुमार डङ्गोल रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट प्रहरीले मेड इन इटली लेखिएको एक थान पेस्तोल, सोको गोली तीन राउन्ड र म्याग्जिनसमेत बरामद गरेको जनाइएको छ । उनीहरूबारे थप अनुसन्धान भइरहेको बुझिएको छ ।
– टंक भट्टराई
खतिवडा किन पछि परे –
चाकडी, चाप्लुसी र सरकार समर्थित पार्टीका बिल्ला भिरेर निजामतीका केही कर्मचारी सचिव पदसम्मको बढुवा हुने गरेको अहिलेको समयमा सम्भवतः सबैभन्दा पुराना मानिएका धरणीधर खतिवडा भने अहिले निकै पछि परेका छन् । हुन त उनले पनि त्यही बाटो हिँड्न कोसिस नगरेका त होइनन् होला, तर खप्पीस चाकडीवाजहरूका तुलनामा भने उनी पछि परेकै हुन् भन्ने उनका समकक्षीहरू नै भन्दै छन् ।
०५३ सालमा सहसचिवसम्म आफ्नै क्षमताले पुग्न सकेका खतिवडा आज १४ वर्षपछि पनि सचिव हुन नपाउनु उनकै दर्ुभाग्य मान्नेहरू पनि नभएकका होइनन् । सहसचिव खतिवडा कुनै दिन प्रजिअ हुँदा राम्रा-नराम्रा उनका कार्यले चर्चित हुन पुगे पनि उनको तुलनामा बढुवा हुने अन्य कर्मचारी दूधले नुहाएका सबै हुन भन्न सकिन्न । तर पनि विगत केही वर्षदेखि कर्मचारीले बहन गर्नुपर्ने भूमिका गम्भीर रूपमा निर्वाह गर्दै आए पनि सबभन्दा पुरानो भएर बढुवाको मूल्याङ्कनमा नपर्नुचाहिँ सायद खतिवडाको चाकरी नै नपुगेको हो कि भनी अनुमान उनका समकालीन कर्मचारीहरूले नै गर्ने गरेको सुन्नमा आएको छ ।
– नेपाल सरकारको बहालवाला कर्मचारी, सिंहदरबार

प्रतिक्रिया