अर्काको एजेण्डामा बहकिएर मत मागेपछि…

अर्काको एजेण्डामा बहकिएर मत मागेपछि…


– निर्जला कक्षपति

प्रदेश सभा र प्रतिनिधि सभाको अहिलेसम्मको नतिजा हेर्दा नेपाली कांग्रेसले नराम्ररी हार ब्यहोर्नुपरेको छ । देशभरबाटै कांग्रेसको नतिजा राम्रो आउन सकिरहेको छैन । काठमाडौंमा नेपाली कांग्रेसले क्षेत्र नं २, ३, ५ ६, ८ र ९ मा समेत नराम्रो हार ब्यहोर्नु परेको छ । ललितपुरको पनि तीनवटै क्षेत्रमा बाम गठबन्धनको जित भएको छ । जनताले दिएको मतअनुसार नेपाली कांग्रेसले अब प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने छ ।

विगतका चुनावको कुरा गर्नुपर्दा अहिलेको जस्तो बाम शक्तिहरूले गठबन्धन गर्ने गरेका थिएनन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । यसपटक इतिहास रच्दै माओवादी र नेकपा एमाले मिलेर चुनावी मैदानमा उत्रिए । दुईटा दलको गठबन्धन हुनु चुनाव जित्ने आफैंमा बलियो आधार थियो भने नेपाली कांग्रेस एक्लै (लोकतान्त्रिक गठबन्धन भनिए पनि प्रकारान्तरले एक्लै परेको अवस्था) चुनावी मैदानमा उत्रिनु कांग्रेसको लागि आफैंमा निकै ठूलो चुनौती र संघर्षको अवस्था थियो ।

बहुदलिय समाजमा निर्वाचन हुनु, जनताले आफ्नो मताधिकार प्रयोग गर्नु अनि राजनीतिक दलले गरेको काम र उसले खेलेको भूमिकाअनुसार जनप्रतिनिधीलाई जनताले पराजित गर्न र विजयी तुल्याउन सक्छन् । यो नै बहुदलिय व्यवस्थाको सुन्दर पक्ष हो । नेता र राजनीतिक दलले खेलेको भूमिकालाई जनताले शुक्ष्म रुपमा केलाइरहेका हुन्छन् । नेपाली कांग्रेसले यति धेरै पराजय भोग्नु परेको कारण चुनावमा जानुअघि कुनै एजेन्डा बनाउन नसक्नु हारको प्रमुख कारण हो । चुनावमा जानुअघि नेपाली कांग्रेसले आफनो कुनै एजेन्डा बनाउन नै सकेन ।

यद्यपि, गणतन्त्र र धर्म निरपेक्षेता माओवादीको एजेन्डा हो । नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्र कायम हुनुपर्छ भन्नेहरूको संख्या अहिले पनि अत्यधिक छ । यस्ता विचारहरू बेलाबखत मिडीयाबाट बाहिर आए पनि आफ्नो विचारमा कांग्रेसका नेताहरू अडिग रहन सकेनन् र नेपाली कांग्रेस पार्टीले त्यो अडानलाई कायम राख्न सकेन । आफ्नो विचारमा अडिग रहन नसक्नु र धर्मराउनु पनि नेपाली कांग्रेसको पराजयको कारण बन्न सक्छ । अन्ततः माओवादीले आफनो एजेन्डा भन्दै धक्कु लाउने गरेको एजेन्डा गणतन्त्र र धर्मनिरपेक्षतालाई नै नेपाली कांग्रसले बोकेर हिँड्यो । बास्तवमा त्यो नेपाली कांग्रेसको आफनो एजेन्डा नै थिएन अथवा होइन भन्दा पनि हुन्छ । त्यसैले राजनीतिक विश्लेषकहरू अर्काको एजेन्डा बोकेर हिँड्नु नै कांग्रेस पराजयको कारण मान्ने गर्छन् ।

अहिले समानुपतिकतर्फको नतिजा पनि धमाधम आइरहेको अवस्था छ । समानुपतिकको नतिजा हेर्दा दोस्रो पोजिसनमा रहेको कांग्रेसको स्थिति त्यति खराब मान्नुपर्ने अवस्था होइन । यदि कांग्रेस पार्टी नै खराव हुँदो हो त समानुपातिकमा यति धेरै मत पक्कै आउँदैनथ्यो । नेपाली कांग्रेसले राम्रो उम्मेदवार उठाउन नसक्नु पनि हारको प्रमुख कारण हो ।

माओवादीले आफनो एजेन्डा भन्दै धक्कु लाउने गरेको एजेन्डा गणतन्त्र र धर्मनिरपेक्षतालाई नै नेपाली कांग्रसले बोकेर हिँड्यो । बास्तवमा त्यो नेपाली कांग्रेसको आफनो एजेन्डा नै थिएन अथवा होइन भन्दा पनि हुन्छ । त्यसैले राजनीतिक विश्लेषकहरू अर्काको एजेन्डा बोकेर हिँड्नु नै कांग्रेस पराजयको कारण मान्ने गर्छन् ।

यता बाम गठबन्धनले भने चुनावको लागि निकै नै रणनीतिक योजना बनायो र प्रमख दुई पार्टी नेकपा एमाले र माओवादीबीच गठबन्धन पनि गर्यो । चुनावका लागि आकर्षक नारा लिएर मैदानमा उत्रियो । चुनावमा बहुमत ल्याउने अनि ५ वर्षसम्म दिगो राष्ट्रिय सरकार बनाउने भन्ने नाराले नै जनताको मन छोयो र राजनीतिक स्थायित्व चाहिरहेका जनताका लागि यो नारा नै बलियो र जित्न सक्ने आधार बन्न पुग्यो । किनभने ९–९ महिनामा सरकार परिवर्तनबाट आजित भएका नेपाली जनतालाई दिगो सरकार भयो भने मूुलुकमा केही हुन्छ कि भन्ने आश रहेको छ ।

यता प्रधानमन्त्री शेरबहादुर देउवाले भाषण गर्दा दिएको अभिव्यक्तिलाई यत्ति हल्का रुपमा उडाइयो, अर्थात्, बाम गठबन्धनको सरकार आयो भने अधिनायकवाद आउने उनको टिप्पणीलाई जनताले पत्याउँदै पत्याएनन् । फेरि बाम गठबन्धन आयो भने रुनै नपाइने प्रधानमन्त्री देउवाको अभिव्यक्ति झनै हास्यास्पद थियो ।

अर्को कुरो देशको प्रधानमन्त्री जस्तो पदमा रहेपछि बोल्दा हिँड्दा, अभिव्यक्ति दिँदा धेरै नै कुरामा विचार पुर्याउनुपर्ने हुन्छ । प्रधानमन्त्री भनेको साधारण व्यक्ति मात्र त होइनन्, उनको जीवन समेत व्यक्तिगत हुँदैन । प्रधानमन्त्रीसँग जनताले जूनसुकै पनि प्रश्न गर्न सक्छन् र पाउनु पर्छ । साझा सवालले अन्तरवार्ता लिने क्रममा प्रश्नकर्तालाई देउवाले हकारेको व्यवहार नेपाली जनताले पटक्कै रुचाएका थिएनन् । साझा सवालमा एक यूवाले प्रश्न गर्दा निकै रिसाएका देउवाप्रति जनताको क्रेज विस्तारै घटेकै थियो । सो अन्तर्वार्तापछि, एकपछि अर्का गर्दै नराम्रा घटनाहरू हुँदै गए । भाषण पढ्दा समेत अर्कै विज्ञप्ति पढ्न थालेपछि जनमानसमा उनको इज्जत झनै घट्दै गयो र जनताले यस्ता नेता भएपछि कसरी देश उँभो लाग्छ भन्ने सोच्न थाले । यसअघि पनि राजासमक्ष जनताको अधिकार लगेर बुझाएको आरोप त यिनलाई लागेकै हो । हेर्दा निकै झिना मसिना लाग्ने यस्ता कुराले पनि राजनीतिमा निकै प्रभाव पारेको हुन्छ ।

अर्कोतिर कम्युनिष्टहरू एक भएर अथवा गठबन्धन बनाई चुनावी मैदानमा होमिँदा नेपाली कांग्रेसले कुनै लोकतान्त्रिक दलसँग सहकार्य गर्न नसक्नु अर्को ठूलो कमजोरी देखिन्छ । काठमाडौंको मत परिणामलाई हेर्दा, नेपाली कांग्रेस यसरी पराजित हुनुमा भर्खर जन्मेको विवेकशील साझा पार्टीको उदय हुनु पनि हो । विवेकशील साझा पार्टीले कांग्रेसकै भोट धेरै काटेको पाइन्छ । काठमाडौं क्षेत्र नं १ कै कुरा गर्नु पर्दा यसअघि पनि रेणु दाहालले ५ हजारकै हाराहारीमा मत प्राप्त गरेकी थिइन् । यसपटक अनिल शर्माले पनि त्यति नै हाराहारीमा मत ल्याएका छन् । विवेकशिल साझा पार्टी, राष्ट्रिय पार्टी बन्न नसके पनि अहिले प्राप्त गरेको मत नै उसको लागि ठूलो मत हो ।

नेपाली कांग्रेस पार्टी देशकै सबभन्दा पुरानो पार्टी हो । यो पार्टीको जस्तो लामो इतिहास कुनै पार्टीले बोकेको छैन । विश्वेश्वरप्रसाद कोइराला, गणेसमानसिंह र महन्द्रनारायण निधि जस्ता संस्थापक नेताहरू जिउँदै नरहे पनि उनका सन्तति पार्टीमा संलग्न छन् । सिंगो इतिहास बोकेको यो पार्टी समय अनुसार चल्न नसकेकै हो । विपीको सिद्धान्तलाई समेत कांग्रेस पार्टीले अनुशरण गर्न सकेको छैन । पार्टीले कुनै नयाँ एजेन्डा बनाउन नसक्नु, नयाँ नीति तथा कार्यक्रमहरू अघि ल्याउन नसक्नु, कार्यकर्ताको भावनालाई कुल्चिएर अघि बढ्नु, पुरानै नेताहरूको हालीमुहाली रहिरहनु र कांग्रेसको कार्यकर्ता नबने पनि उनको सर्मथकलाई आफ्नो मान्छे भनेर पहिचान गर्न नसक्नु कांग्रेस पार्टीको ठूलो कमजोरी हो ।

अहिलेका मत परिणामलाई हेर्दा कांग्रेस तेस्रो पोजिसनमा देखिएको छ । कांग्रेसमा निकै प्रभाव राख्ने नेताहरूलाई समेत यो चुनावले पाखा लाइदिएको अवस्था छ । सकेसम्म नेतृत्वमा आफै रहिरहने र प्रभुत्व जमाइरहने प्रवृत्तिलाई जनताले फैसला गरिदिएका छन् । अब पनि कांग्रेस पार्टीले नयाँ तरिकाले नसोच्ने हो भने अबको ५ वर्षपछि प्रजातान्त्रिक धारको पार्टीको रुपमा अर्को पार्टीको जन्म नहोला भन्न सकिन्न । त्यसैले अब पनि बीपीको व्याज खाएर पार्टी चलाउने कि नयाँ सोच, फरक धारबाट पार्टीलाई अगाडि बढाउने ? आफ्नो एजेन्डामा अडिग रहने कि अरुको पुच्छर बनेर अस्तित्व गुमाउँदै जाने ? काङ्ग्रेसले तत्काल तय गर्नैपर्छ ।