इण्डियन अर्धसैन्य बलका जवानले गरे चार सहकर्मीको हत्या

इण्डियन अर्धसैन्य बलका जवानले गरे चार सहकर्मीको हत्या


भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेको समाचार एजेन्सीहरुले महत्वका साथ सम्प्रेषण गरेका छन् । भारतको छत्तिसगढ राज्यको बिजपुर जिल्लामा शनिबार साँझ भएको उक्त घटनामा सैन्य बलको केन्द्रीय शिवीर भित्र रहेका सदस्यहरुमध्ये अन्य केही घाइते पनि भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

शनिबार बेलुका स्थानीय समयअनुसार पाँच बजेतिर छत्तिसगढ राज्यको बिजपुर जिल्लामा सो घटना भएको हो । आक्रमणकारी सिपाहीले सँगै रहेका आफ्ना सहकर्मीहरुलाई बन्दुक प्रहार गरेका थिए ।

“उसले आफ्ना चारजना सहकर्मीलाई बन्दुक प्रहार गरेका थिए, त्यसपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो, अर्का एकजना सहायक निरीक्षक घाइते भएका छन्,” बिजपुरका एक अधिकारीले भने ।

छत्तिसगढ राज्यका बरिष्ठ प्रहरी अधिकृत सुन्दरराज पीले स्थानीय सञ्चार माध्यमहरुलाई शनिबार अबेर दिएको जानकारी अनुसार घटना के, कसरी र किन भयो भन्ने बारेमा अहिले केही स्पष्ट भईसकेको छैन, प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सैन्य बलमा बन्दुक प्रहार गरी हत्या गर्ने ३५ बर्षीय सनाथ कुमारलाई पक्राउ गरिएको र सोधपुछ सुरु गरिएको बताइएको छ भने छत्तिसगढका मुख्यमन्त्रीले ट्वीटरमार्फत् घटनाको भत्र्सर्ना गर्दै दोषीलाई कारबाही गर्ने बताएका छन् ।

ज्ञात रहोस्, छत्तिसगढ भारतीय माओवादीको प्रभावित क्षेत्र हो ।