एक सय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धाद्वारा मतदान

एक सय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धाद्वारा मतदान


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका ११५ वर्षीया जंगलीदेवी चौधरीको मतदान गर्ने धोको पूरा भएको छ । उहाँले आज घर नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान मतदान गर्नुभएको हो ।

उहाँका नाति जितबहादुर चौधरीले बोकेर उहाँलाई मतदान केन्द्रसम्म पु-याई मतदान गराउनुभएको छ । पञ्चायतकालदेखि गरी हालसम्म ११औँ पटक मतदान गरेको वृद्धा चौधरीले बताउनुभयो । “देशमा शान्ति आउनुपर्छ गरिब जनतालाई हेर्ने उम्मेदवारलाई मतदान गरेको छु”, उहाँले भन्नुभयो, “कसैको दबाबमा नपरी मतदान गरेको छु ।”

उहाँ जस्तै १०५ वर्षको उमेरमा मतदान गर्न मतदान केन्द्रमा आइपुग्नुभएका तुलसीदेवी ऐरले विकास गरी देशलाई समृद्धिमा पु¥याउने उम्मेदवारलाई मतदान गरेको बताउनुभयो । शुक्लाफाँटा नगरपालिका–११ को सरस्वती माविमा रहेको मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।

उहाँका नाति वीरेन्द्र ऐरले बज्यैले अन्तिम पटक मतदान गरी देशलाई गति दिने उम्मेदवारलाई मतदान गर्छु भन्ने हठ गरेपछि मतदान केन्द्रमा मोटरसाइकलमा बोकेर ल्याई मतदान गराएको बताउनुभयो । सोही मतदान केन्द्रमा ११० वर्षीया जसुदेवी ऐरले समेत मतदान गर्नुभएको छ ।

मतदान गर्न आइपुग्नुभएका वृद्ध ऐरले वृद्ध भत्ता दोब्बर बनाउने अश्वासन दिएका उम्मेदवारलाई मतदान गरेको बताउनुभयो । उहाँका बुहारी बिष्नादेवी ऐरले मतदान गर्न धेरै कर गरेपछि उहाँलाई मतदान गराउन ल्याइएको बताउनुभयो ।

नगरपालिकाकै वडा नं १० मा रहेको श्रीकृष्ण माविमा रहेको मतदान केन्द्रमा दृष्टीविहीन ७० वर्षीय फक्का डगौराले समेत मतदान गर्नुभएको छ । उहाँलगायत तीनजना दृष्टीविहीनले मतदान गरेको मतदान अधिकृत हिक्मतराज जोशीले बताउनुभयो । सोही केन्द्रमा क्रियापुत्री नेत्रराज जोशीले समेत मतदान गर्नुभएको छ ।