‘गोरे’बाट उत्साहित राकेश राई

‘गोरे’बाट उत्साहित राकेश राई


वरिष्ठ रङ्गकर्मी तथा निर्देशक अनुप बरालको ‘एक्टर्स स्टुडियो नेपाल’मा चार वर्ष प्रशिक्षण गरेर उनी पासआउट भएका थिए । त्यसपछि नाटक र नेपाली सिनेमामा सानोतिनो भूमिका निभाउँदै उनी कलकारिता क्षेत्रमा प्रवेश गरेका थिए । ललितपुरको पाटन क्याम्पसमा सोसोलोजीमा मास्टर्स गर्दागर्दै कलाकारितामा प्रवेश गरेका राकेशकुमार राई अहिले नेपाली चलचित्र ‘गोरे’मा सशक्त भूमिका देखिएका छन् । आगामी मङ्सिर २९ गतेदेखि देशव्यापी रूपमा प्रदर्शन हुन लागेको चलचित्र ‘गोरे’सँगै राकेशको पनि चर्चा चुलिएको छ । राकेश मार्सलआर्टस् तेक्वान्दोका खेलाडी र अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् । त्यसमाथि उनको वलिष्ठ शरीर निकै आकर्षक छ । उत्कृष्ट अभिनय र आकर्षक शरीरका धनी राकेशले यही कारणले ‘गोरे’मा अभिनय गर्ने मौका पाएका थिए । निकै उत्साहित राकेशसँग गोरे फिल्मको बारेमा गरिएको कुुराकानी :

० ‘गोरे’ फिल्मको प्रदर्शनको मिति नजिकिँदै जाँदा कस्तो महसुस भइरहेको छ ?
– यो मेरो डेब्यु फिल्म भएकोले निकै एक्साइटेड छु, साथै नर्भसनेसको पनि महसुुस गरिरहेको छु । फिल्म रिलिजपछि कस्तो प्रतिक्रिया आउँछ, दर्शकहरूलाई फिल्मले हलसम्म तान्न सक्छ कि सक्तैन, सोहीबारेमा सोचिरहेको छु । मन निकै चञ्चल भइरहेको छ ।

० कस्तो किसिमको फिल्म हो गोरे ?
– गोरे विशुद्ध कमर्सियल फिल्म हो । यो फिल्ममा प्रेम, रोमान्स, एक्सन, कमेडी र स्पेन्स देख्न पाइनेछ । सबै कुराले भरिपूर्ण भएकाले गोरे मसलेदार फिल्म हो भन्दा फरक पर्दैन ।

० गोरे फिल्ममा काम गर्दाको अनुभवचाहिँ कस्तो रह्यो नि ?
– पारिवारिक माहोल र राम्रो टिमवर्क भएकाले गोरेको सुटिङ ३५ दिनमा सकिएको थियो । त्यसमाथि अग्रज कलाकार दिलीप रायमाझी, अनु शाहको सहयोगी भावना आफैँमा प्रशंसनीय थियो । सुटिङको दौरानमा उहाँहरूबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ । यो फिल्मको निर्देशक रामेशकुमार राई भएकाले काम गर्न अझै सजिलो भयो ।

० भनेपछि यो फिल्ममा तपाईंलाई निर्देशक राईले ब्रेक दिनुभएको रहेछ, होइन त ?
– मलाई ब्रेक निर्देशक राईले दिए पनि प्रस्ताव भने निर्माता सूर्य जीसीले गर्नुभएको हो । स्क्रिप्ट हेरे राम्रो लाग्यो र काम गरेको हुँ । अर्को कुरा म त्यसै यो लाइनमा आएको होइन, मैले एउटा कलाकारका लागि चाहिने सबै कोर्स गरेको छु । डान्स, एक्सन, फिजिकल मेन्टेन गरेको छु ।

० यो फिल्ममा तपाईंले कस्तो भूमिका निभाउनुभएको छ ?
– म यो फिल्ममा अन्यायविरुद्ध लड्ने जुझारु युवा प्रदीपको भूमिका छु । जसमा मैले सशक्त अभिनय देखाउने अवसर पाएको छु ।

० गोरे फिल्मलाई दर्शकहरूले मन पराउने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– हामीले निकै मिहिनेत गरेका छौँ, फिल्मलाई सफल बनाउन कुनै कसर बाँकी राखेका छैनौँ । हाम्रो मिहिनेतलाई दर्शकले अवश्य स्वीकार गर्नुहुन्छ होला । मैले दर्शकबाट निकै अपेक्षा गरेको छु ।

० अन्त्यमा, तपाईं त तेक्वान्दोको खेलाडी, पदाधिकारी अनि कलाकारितासँगको तालमेल मिल्छ त ?
– सबै कुरा आफूमा निर्भर हुन्छ । मलाई यी दुवै क्षेत्र एक सिक्काको दुई पाटाजस्तै लाग्छ । मलाई दुवै क्षेत्रमा केही गर्न सक्छु भन्ने आत्मविश्वास छ । जुन भविष्यमा गरेर पनि देखाउनेछु ।