बोल काङ्ग्रेस, नेपाल एकल कि बहुराष्ट्र देश ?

बोल काङ्ग्रेस, नेपाल एकल कि बहुराष्ट्र देश ?


– देवप्रकाश त्रिपाठी

एजेण्डाविहीनतालाई नै एउटा बेग्लै एजेण्डाका रूपमा नबुझ्ने हो भने यतिबेला नेपाली काङ्ग्रेस बुझाउने कुनै विशिष्ट एजेण्डा नभएको अर्थ लगाउनुपर्ने हुन्छ । अर्काले अघि सारेका एजेण्डामा सहमति या असहमति जनाउनुलाई कुनै दलविशेषको मौलिक अवधारणाका रूपमा बुझ्नु उपयुक्त होइन । दशकअघि काङ्ग्रेसका आफ्नै प्राकृतिक एजेण्डा थिए, बहुलवादमा आधारित संसदीय प्रजातन्त्र, राष्ट्रियता, समाजवाद र संवैधानिक राजतन्त्रजस्ता विषयलाई मानिस काङ्ग्रेसको पर्यायका रूपमा बुझ्दथे । सङ्घीयता, धर्मनिरपेक्षता, जातीयतामा आधारित समानुपातिक एवम् समावेशिता र गणतन्त्रको पक्षमा काङ्ग्रेस भएको महसुस नेपाली जनताले कहिल्यै गरेका थिएनन् । पार्टीमा बहस–छलफलसमेत नगरीकन व्यक्तिविशेषको लहडमा रहस्यमयी ढङ्गबाट कम्युनिष्टमार्फत प्रवेश गराइएका एजेण्डाहरूलाई काङ्ग्रेसले स्वीकार गर्दै गयो । वामपन्थी एजेण्डाहरूलाई स्वीकार गर्दै जाँदा त्यसले मुलुकलाई पार्ने असरप्रति काङ्ग्रेस नेतृत्व सचेत रहेन, आफू र प्रजातन्त्रसमेत चिरस्थायी ढङ्गले विस्थापित हुन सक्छ भन्नेतर्फ पनि काङ्ग्रेसले हेक्का राखेन ।

नेपाललाई जगैदेखि हल्लाएर खलबल्याउने र अन्ततः देशको स्वतन्त्र सार्वभौमिकता विसर्जन गराउने नियतबाट विदेशीले बोकाइदिएका एजेण्डा कार्यान्वयनको अभिभारा माओवादी कम्युनिष्टले राम्रोसँग पूरा गरेका हुन् । माओवादीमार्फत प्रस्तुत एजेण्डालाई एमाले र काङ्ग्रेससहितका दलहरूले अङ्गीकार गरे । तथापि पछिल्ला केही वर्षयता खासगरी एमालेको नेतृत्व केपी शर्मा ओलीको हातमा आइसकेपछि राष्ट्रियतासँग सम्बन्धित कतिपय विषयमा एमाले पृथक् देखिएको छ । सबैभन्दा रोचक पक्ष त के छ भने जातीयता, जातीयतामा आधारित सङ्घीयता र बहुराष्ट्रवादको प्रवक्ता बनेको माओवादीसँग पार्टी एकता गर्ने प्रतिबद्धता जाहेर भइसकेपछि पनि ओलीले सार्वजनिक रूपमै नेपाल बहुराष्ट्र नभई एकल राष्ट्र देश भएको स्पष्ट गर्ने गरेका छन् ।

नेपाललाई बहुराष्ट्रिय मुलुक ठान्ने प्रचण्ड नेतृत्वको माओवादी मधेसकेन्द्रित समूहको इच्छा र मागबमोजिम संविधान संशोधन गर्न राजी भएको थियो । अब चुनावपछि केपी ओलीको एकल राष्ट्र मुलुक नेपाल भएको स्वीकार गर्दै माओवादी एमालेमा समाहित हुन्छ या एमालेको साथ लिएर केही बढी स्थानमा विजय हासिल गरिसकेपछि माओवादी आफ्नो बाटो लाग्छ, यसको जानकारी पाउन अब लामो प्रतीक्षा गर्नुपर्ने छैन । तर, सैद्धान्तिक र वैचारिकभन्दा पनि अन्य कैयन पन्छाउन नसकिने बाध्यात्मक एवम् व्यावहारिक कारणले माओवादीलाई एमालेमा समाहित हुन कर लागेको छ । त्यसैले ‘बहुराष्ट्रियता’लगायतका आफ्ना पूर्वअडान परित्याग गरेर माओवादी एमालेमा विलीन हुन सक्ने सम्भावना बढी छ ।

चुनाव प्रचारको दर्मियानमा नेपाली काङ्ग्रेसका नेताहरूले तराईतिर पुगेर संविधान संशोधनका पक्षमा आफूहरू प्रतिबद्ध रहेको अभिव्यक्ति दिए, दिँदै छन् । तर, यता काठमाडौं, पोखरा, झापा, इलाम, धनगढी, कञ्चनपुर र सम्पूर्ण पहाडी क्षेत्रमा काङ्ग्रेस एकल राष्ट्रवादको पक्षमा भएको प्रतिबद्धता जनाउन यिनले आवश्यक ठानेनन् । ठानेनन् किनभने नेपाली जनताको रूपमा चिनिने मानव समुदाय र काङ्ग्रेसका कार्यकर्तालाई यसप्रकारका गहन विषयमा रुचि नभएको जानकारी काङ्ग्रेस नेतृत्वलाई छ । तर, ढिलो या चाँडो नेपाल बहुराष्ट्र मुलुक हो या एकल भन्ने विषयमा काङ्ग्रेस स्पष्ट हुन कर लाग्नेछ ।

सामान्यतया दुई या त्यसभन्दा बढी राष्ट्रियता भएका सार्वभौमिकता सम्पन्न देशलाई बहुराष्ट्रिय मुलुक भनिन्छ । एउटै जातीय समुदाय, एउटै भाषा, एउटै संस्कृति र विशिष्ट राजनीतिक पहिचानसहितको समूहलाई एउटा राष्ट्रका रूपमा परिभाषित गर्ने गरिएको छ । त्यस्तो राष्ट्र जसको आफ्नै मौलिक र विशिष्ट इतिहाससमेत छ भने देश एउटै भए पनि त्यहाँभित्र अनेक राष्ट्र भएको मानिन्छ । तर, कुनै जाति, धर्म या सांस्कृतिक समुदायको भएकै कारण तिनलाई बेग्लै राष्ट्रको परिभाषामा समेट्नुपर्छ भन्नेचाहिँ होइन । बेग्लै राजनीतिक पहिचान र ऐतिहासिक पृष्ठभूमिसहितको कुनै समुदाय अस्तित्वमा छ भने मात्र त्यसलाई एउटा राष्ट्रको मान्यता दिन सकिने हो । यदि त्यसो हुँदैनथ्यो भने छिमेकी मित्रराष्ट्र भारतमा करिब दुई हजार जातीय समुदाय छन्, ती हरेकलाई बेग्लै राष्ट्र मानिएको छैन, जब कि भारत बहुराष्ट्रिय मुलुक हो ।

विश्वमा भारतसहित अफगानिस्तान, क्यानडा, इथियोपिया, इन्डोनेसिया, मदागस्कर, नाइजेरिया, पाकिस्तान, रसिया, संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका, स्पेन, टर्की र बेलायतलगायत केही बहुराष्ट्रिय देश छन् । युरोपियन युनियनलाई पनि पछिल्लो समयमा बहुराष्ट्रिय मुलुकका रूपमा विद्वान्हरूले गणना गर्न थालेका छन् । भारतमा विविध धार्मिक, जातीय र भाषिक समूह छन् र तीमध्ये कैयनको आफ्नै राजनीतिक पहिचान र ऐतिहासिक पृष्ठभूमिसमेत भएकोले भारत बहुराष्ट्रिय मुलुक बन्न पुगेको हो । त्यसैगरी ज्यू ९व्भध० र अमेरिकन बेग्लाबेग्लै राष्ट्रियताको मुलुक भएकोले पनि अमेरिकालाई संयुक्त राज्य अमेरिका भनिएको हो । त्यसो त त्यहाँ फ्रान्स, बेलायत, जर्मनी, इटालीलगायतका मुलुकबाट आ–आफ्ना संस्कृति, परम्परा, भाषा र झण्डासहित बसाइँ सरेर मानिसहरू पुगेका र तिनलाई व्यवस्थापन गर्ने क्रममा संयुक्त राज्य अमेरिकाको जन्म भएको पनि ठानिन्छ । त्यस्तै इग्बो ९क्ष्न्द्यइ० र नाइजेरियन दुई राष्ट्रियता भएकोले नाइजेरिया बहुराष्ट्र देश बनेको हो भने स्कट र ब्रिट राष्ट्रियताका कारण ब्रिटेन बहुराष्ट्रिय मुलुक हुन पुगेको हो ।

भियतनाममा भियतहरूको सङ्ख्या ८६ प्रतिशतभन्दा माथि भए पनि त्यहाँ ५३ वटा जातीय समुदाय छन् । १४९ जातीय समुदाय भएको लाओसमा ६८ प्रतिशत लाओ मात्र छन् । ७४ प्रतिशत थाई भएको थाइल्याण्डमा ३८ जातीय समूह छन् भने ८६ प्रतिशतभन्दा बढी खमेरहरूको बसोवास रहेको कम्बोडियामा ३८ जातीय समुदाय छन् । कम्बोडियामा चिनियाँ र भियतनामीको सङ्ख्या पाँच प्रतिशत मात्र भएको बताइन्छ । श्रीलङ्कामा सिंहली, श्रीलङ्कन, तामिल, भारतीय तामिल, मुर्स, वेदास र वर्घर्सलगायतका जातीय समुदायको बसोवास रहेको छ । मलेसियामा मलाया, चिनियाँ र भारतीय प्रमुख तीन जातीय समुदाय छन् भने फ्रान्स प्रमुख पाँच राष्ट्र (संस्कृति) मिलेर बनेको देश हो ।

उल्लिखित कुनै पनि देश बहुराष्ट्र मुलुक होइनन्, हुन सकेनन् । नेपालभन्दा कैयन गुणा विशाल देश फ्रान्स, ब्रेटन, ओसिटन, अल्साटियन, कोर्सिकन र ल्फेमिस सांस्कृतिक समूहको सम्मिश्रण हो । पहिले, अल्सास, ब्रिटानी, कोर्सिका, ल्फेण्डर्स, मोसेले, नर्दन क्याटनोलिया, ओसिटानिया, सेभोय र बाक्स नामक क्षेत्रहरू सांस्कृतिक रूपमा फ्रेञ्च थिएनन्, उन्नाइसौं शताब्दीमा आएर मात्रै तिनलाई फ्रेञ्च अर्थात् फ्रान्सेलीकरण गरिएको हो । बेग्लाबेग्लै र विशाल सांस्कृतिक समुदायको समागमबाट बनेको भए पनि फ्रान्सलाई बहुराष्ट्र मुलुक भनिँदैन र उसले एकल राष्ट्रियताको अभ्यास गर्दै आएको छ ।

पृथ्वीनारायण शाहले एकीकरण गरेयता नेपालले पनि एक राष्ट्र सिद्धान्तमा आधारित भएर आफूलाई अघि बढाउँदै आएको छ । विशिष्टीकरण गरेर हेर्दा यहाँ अनेकौँ भाषिक, जातीय एवम् सांस्कृतिक समूह भेटिए पनि हामीले एकल (नेपाली) राष्ट्रियताको अभ्यास गर्दै आएका छौँ । नेपाल यस्तो मुलुक हो जहाँ मानिसको उत्पत्ति भएको प्रमाण अहिलेसम्म भेटिएको छैन । उत्तर, दक्षिण र पूर्व–पश्चिमबाट बसाइँ सरेर आएकाहरूको देश हो यो । कोही तीन हजार वर्ष पहिले नै यस भूमिमा आए होलान्, कोही तीन सय वर्षअघि र कोही तीन दशकअघि । नेपालमा जसको जहिले प्रवेश भएको भए पनि तिनको बेग्लै राष्ट्र बन्ने राजनीतिक पहिचान र ऐतिहासिक पृष्ठभूमि छैन । काठमाडौं उपत्यकाको नेवार समुदायलाई बेग्लै राष्ट्र मान्न सकिने ऐतिहासिक, राजनीतिक र सांस्कृतिक पृष्ठभूमि भए पनि उक्त समुदाय नेपाललाई बहुराष्ट्र मान्न तयार छैन र तिनले आफूहरू बेग्लै राष्ट्र भएको दाबी पनि गरेका छैनन् । बसाइँसराइका कारण काठमाडौं उपत्यकाले आफ्नो बेग्लै राष्ट्रियताको दाबी गर्ने हैसियत पनि यतिबेला गुमाइसकेको छ ।

नेपालभित्र बसोवास गर्ने जुनसुकै जाति, भाषा, क्षेत्र र सांस्कृतिक समुदायका मानिस भए पनि हामी सबै नेपाली भन्ने सांस्कृतिक एकताको भावना यहाँ स्थापित भइसकेको छ । थारू, मैथिल, भोजपुरा, नेवारी, तामाङ, गुरुङ, मगर, ब्राह्मण र क्षेत्रीहरूको आ–आफ्नै संस्कृति, परम्परा, वेशभूषा र भाषा भए पनि सबै सांस्कृतिक समूहलाई ‘नेपाली’ भनेर बुझिन्छ । जसरी बगैँचामा अनेक प्रजातिका फूलहरूले शोभा बढाउँछ, नेपालको शोभा भनेकै विविधता हो र विविधता नै नेपाली संस्कृति बनेको छ ।

क्यानडा बहुराष्ट्र देश हुनु किन जायज छ भने त्यहाँ युरोपका विभिन्न मुलुकबाट बसाइँ सरेर गएका मानिसको बसोवास छ । खासगरी अङ्ग्रेजीभाषी ब्रिटिस र फ्रेञ्चभाषी फ्रान्सेलीले एक–अर्कोको भाषा, संस्कृति तथा परम्परा स्वीकार गर्न तयार नभएपछि क्यानडाले राज्यको आधिकारिक भाषा नै दुईवटा (अङ्ग्रेजी र फ्रेन्च) बनाएको छ । फ्रेञ्चबहुल क्विवेक राज्यलाई विशेष अधिकार पनि क्यानडाले उपलब्ध गराएको छ । त्यस्तै अफगानिस्तानमा पास्तो र दारी दुई भाषालाई राज्यले आधिकारिकता प्रदान गरेको छ । ४५ प्रतिशतभन्दा बढी प्रस्तुन समुदायको बसोवास रहेको अफगानिस्तानमा पस्तुनहरूलाई नै पहिले अफगान पनि भनिन्थ्यो । ताजिक्स, हजरस, उज्वेक्स, आइमाक्स, तर्कमेन्स र बलुच्सजस्ता बेग्लाबेग्लै ऐतिहासिक एवम् राजनीतिक र सांस्कृतिक पृष्ठभूमिका मानिसको बसोवास भएकोले अफगानिस्तानलाई बहुराष्ट्र देश भनिएको हो ।

हिन्दू र मुसलमान सांस्कृतिक समुदायलाई आधार बनाएर भारत विभाजन गरी बनाइएको पाकिस्तानलाई बहुराष्ट्र देश किन भनिन्छ भने त्यहाँ पञ्जाव, बलुच र उर्दूभाषीहरूको विशिष्ट इतिहास तथा सांस्कृतिक पृष्ठभूमि छ । पाकिस्तानले उर्दूलाई आफ्नो देशको आधिकारिक भाषा बनाएको छ, जब कि त्यहाँ उर्दू मातृभाषीहरूको सङ्ख्या आठ प्रतिशत मात्र छ । राजनीति र अर्थतन्त्रमा पञ्जावको विशिष्ट प्रभाव छ भने पाकिस्तानभित्र सिन्धी, पस्तुन, बलुच, मोहजिर र कास्मिरीहरूले बेग्लाबेग्लै राष्ट्रिय आन्दोलन चलाइरहेका छन् र ऐतिहासिक, राजनीतिक एवम् सांस्कृतिक विशिष्टतालाई आधार बनाउँदा उक्त मुलुकलाई बहुराष्ट्र देश भन्नु नपर्ने कारण पनि देखिँदैन ।

बेल्जियममा फ्रेन्डर्स र वालिनियमहरूको भिन्न इतिहास, संस्कृति तथा राजनीतिक पृष्ठभूमिलाई हेर्दा उक्त मुलुकलाई बहुराष्ट्र देश भन्नु स्वाभाविक हुन्छ । तर, नेपाल कुन आधारमा बहुराष्ट्र मुलुक हुन सक्छ ? नेपालको सांस्कृतिक पहिचान भनेकै विविधता हो । भौगोलिक विविधता, भाषिक विविधता, जातीय विविधता, भेषीय विविधता र सांस्कृतिक विविधता नै वास्तवमा नेपाल हो । सबैलाई जोड्ने कार्यको आरम्भ राजसंस्थाले गरेको थियो भन्न हिचकिचाउनुपर्ने कारण छैन । बयासी प्रतिशत सनातन वैदिक (हिन्दू) धर्म मान्ने र बौद्ध, शैव, जैन तथा किरातजस्ता ओमकार परिवारसम्बद्ध धर्मावलम्बीसमेत चौरानब्बे प्रतिशत जनताको सम्मानस्वरूप देशलाई ‘हिन्दूराज्य’को पहिचान दिइएको थियो र हाम्रो राष्ट्रिय एकताको आधार यसरी धर्म पनि बनेको हो । तराई, पहाड र हिमाल जोड्ने अचुक साधन हाम्रो धर्म हो भन्ने तथ्यलाई मेट्न खोज्दा राष्ट्रिय एकता सङ्कटमा परेको छ ।

तराईमा हिन्दू धर्मावलम्बीहरूको मुख्य बसोवास रहेको छ र नेपाललाई हिन्दूराष्ट्रको पहिचानमा पुनः स्थापित गर्दा तिनले आफूहरू सम्मानित भएको महसुस गर्नेछन् । मधेस र मैथिलीको नाममा अलग राष्ट्र खोज्नेहरूलाई शिथिल तुल्याउन सकिने एजेण्डा पनि यही नै हो । विविधतापूर्ण नेपाललाई एउटै नेपाली सांस्कृतिक राष्ट्र बनाउने योगदान पु¥याएको नेपाली भाषाले पनि हो । करिब ५० प्रतिशत मानिसको मातृभाषाको रूपमा रहेको नेपाली नबुझ्ने र नबोल्ने कुनै जातीय, क्षेत्रीय या भाषिक समुदाय नेपालमा शायदै छ । सबैले नेपालीलाई आफ्नै भाषाको रूपमा ग्रहण गरेका छन् । यद्यपि सङ्घीय लोकतान्त्रिक गणतन्त्र हाम्रो भाषालाई पनि सङ्कटापन्न अवस्थामा पु¥याउन यत्नशील देखिँदै छ ।

जो सङ्घीयताको अवधारणामा ज्यादा रमाएका छन् र जसले नेपाललाई बहुराष्ट्रको अवधारणामा लैजान दबाब दिइरहेका छन् तिनको मागमा कुनै तर्क र तथ्यगत आधार देखिँदैन । हालको २ नम्बर भनिने प्रदेशमा एकै जातीय समुदायको बसोवास छैन, एकै धर्म र सांस्कृतिक समुदाय पनि त्यो होइन । एउटै भाषिक समूह पनि उक्त प्रदेशमा छैन । अवधि, भोजपुरी, नेपाली, उर्दू र मैथिललगायतका मातृभाषीहरूको साझा भूमि सिङ्गै नेपाल भएजस्तै उक्त प्रदेश पनि हो । मधेस दाबी गरिएको क्षेत्रको बेग्लै सभ्यता, राजनीतिक पहिचान र विशिष्ट ऐतिहासिक पृष्ठभूमि पनि छैन । एक प्रकारको विशिष्टता हरेक क्षेत्र, गाउँ, जिल्ला र जातिको हुन्छ । तर, बेग्लै राष्ट्र बन्न अनेकौँ उच्च विशिष्टता कायम भएको हुनुपर्छ । भारतबाट बसाइँ सरेर आउनुलाई आधार बनाउने हो भने पहाड र हिमाली क्षेत्रसम्म फैलिएका आर्यमूलका मानिस भारतबाट नै बसाइँ सरी आएका हुन् । काठमाडौं उपत्यकाका नेवारी समुदायका मानिसको उद्गम भूमि पनि भारत नै हो । सांस्कृतिक र धार्मिक तथ्यका कुरा गर्ने हो भने पनि पहाड र हिमालसम्म सनातनी संस्कृति तथा धर्मको प्रभाव छ । कुनै समय अलग राजा र राज्य भएको कुरालाई आधार बनाउने हो भने त्यस्ता राजा र राज्य पहाडी र हिमाली भूक्षेत्रमा पनि कति थिए कति ? केलाई आधार बनाएर बहुराष्ट्रको अवधारणालाई स्वीकार गर्ने ?

यस आधारमा नेपाललाई बहुराष्ट्र मुलुक भन्नु या बनाउनुपर्ने कुनै वस्तुगत कारण नभएको निष्कर्ष निकाल्न सकिन्छ । सुडानमा झैँ किस्ताबन्दीमा माग बढाउँदै जाने, सङ्घर्ष गर्ने/सम्झौतामा आउन बाध्य तुल्याउने र अन्ततः देश विभाजनसम्म गर्ने नियत बहुराष्ट्रवादका पक्षधरहरूले राखेका छैनन् भन्न हरेक नेपालीले पाउनुपर्छ । यति गम्भीर विषयमा पनि नेपाली काङ्ग्रेसजस्तो पार्टी मौन रहँदा काङ्ग्रेसको नियत र नियतिमाथि प्रश्न उठेको छ । यस सम्बन्धमा स्पष्ट गर्नुको सट्टा मधेसी मोर्चाको इच्छाअनुरूप संविधान संशोधन गर्न तत्पर रहेको प्रतिबद्धता जाहेर गर्दा केही भोट त जोगाउन सकिएला, तर देश जोगाउन सकिँदैन । कम्युनिष्टको एजेण्डा धारण गरेर हिँड्दा काङ्ग्रेस र प्रजातन्त्र जीवनमरणको दोसाँधमा आइपुगेको छ, अब मधेस र तराईको नाममा राजनीतिक अभीष्ट प्राप्त गर्न खोज्नेहरूको एजेण्डासँग एकाकार हुँदा देशको एकता र अस्तित्वको पनि रक्षा गर्न असमर्थ हुने अवस्थामा काङ्ग्रेस पुग्न सम्भव छ, काङ्ग्रेस नेताहरूको समयमै चेत खुलोस्, शुभकामना ।