‘उग्र राष्ट्रवाद’को रहस्य

‘उग्र राष्ट्रवाद’को रहस्य


 बद्रीनरसिंह केसी

यतिबेला जङ्गलमा बसेर चुनावमा बम पड्काउने वा सहर पसेर जबर्जस्ती चन्दाको नाममा आतङ्क मच्चाउनेदेखि राष्ट्रवादीको झाँकीमा चुनावमा भाग लिएर दुईतिहाइ बहुमतको सपनामा सत्ता कब्जा गर्नेसम्मका यावत् व्युहरचनामा पार्टीका विभिन्न रूप छ्याप्छ्याप्ती लागिपरेका छन् । बम पड्काउनेदेखि मुख चलाउनेसम्मका आवाजहरू घन्किरहेका छन् । उग्र राष्ट्रवादको नारा उस्तै घन्किएको देखिन्छ । एक–अर्काप्रति दलहरूको पूर्वाग्रही धारणा नेताहरूका अभिव्यक्तिमार्फत छताछुल्ल भइरहेका छन् ।

‘स्थिर सरकार, निर्माण, विकास र समृद्धि’को नारा पनि उत्तिकै घन्किरहेको छ । तर, ३ वर्षअघिदेखि टहरामा बस्दै आएका भूकम्पपीडित र ४ वर्षअघिदेखि त्यस्तै अवस्था भोगिरहेका बाढीपीडितहरूलाई नयाँ घरमा सारेर नयाँ जीवन दिनेबारे कुरै छैन । कुरै मात्र भए नै, तर गर्ने इच्छाशक्ति कदापि देखापरेन । सबै कुरा चुनावी प्रोपोगण्डाका मसला बने, र चुनावचाहिँ सत्ता हत्याउने नाङ्गो नाच ।
प्रोपोगण्डा कतिपय शक्तिविशेषका लागि अस्तित्वरक्षक हतियार बन्दै आएको देखिन्छ । विघटित सोभियत सङ्घमा सबभन्दा लामो (१८ वर्ष) शासन चलाएका सोभियत कम्युनिस्ट पार्टीका महासचिव लियोनिद ब्रेजनेभले साँचो बोलेका छन्, ‘तपाईंहरूलाई थाहै छ, म कुनै लेखक होइन, पार्टीको कार्यकारी हुँ । परन्तु हरेक कम्युनिस्टले जस्तै मैले पनि कम्युनिस्ट पार्टीले फैलाएको प्रोपोगण्डाअनुरूप परिचालित हुनैपर्छ र हाम्रो पार्टीको प्रेसका लागि काम गर्न सरिक हुनुपर्ने आफ्नो कर्तव्य मान्नैपर्छ ।’

जसरी १० वर्ष लामो हिंसात्मक द्वन्द्व र रक्तपात नेपालको इतिहासमै सबभन्दा ठूलो त्रासदी र त्यसका नारा धोकेबाज सावित भए, ‘स्थिर सरकार, निर्माण, विकास र समृद्धि’को नारासँगसँगै रेल र पानीजहाजका कुरा पनि त्यस्तै हुने त होइन भन्ने आमआशङ्का उठिरहेको छ । शीर्ष भनिएका नेताहरूको नैतिकता वा राजनीतिक इमानदारी कुन स्तरमा छ भन्ने बुझ्न सत्तामा टाँसिइरहन खोज्नेहतको चरित्रले प्रस्ट पार्दैन र ?!

ठूला कुरा गर्ने नेतालाई न समाजवाद चाहिएको हो, न त लोकतन्त्र वा राष्ट्रवाद नै । राजनीतिक स्थिरता पनि चाहिएको होइन । मुलुकले राजनीतिक अस्थिरता भोगेको दुई दशक बिते पनि उनीहरू सत्तामा वा त्यसैको वरिपरि नै घुमिरहेका छन् । उनीहरूको ध्येय फगत सर्वसत्तावाद, परिवारवाद र अवसरवाद हो । त्यसैको स्वार्थ रक्षाका क्रममा राष्ट्रवादको नारा घन्काइएको हो । सत्तामा बस्न पाइरहिन्छ भने यो संविधानका आधारभूत मूल्य–मान्यतालाई तिलाञ्जली दिएर बाह्य मोडेलको ‘समाजवाद’ लागू गर्न उनीहरूलाई कुनै आपत्ति रहेनछ । त्यसका लागि अर्को राजनीतिक अस्थिरता र संवैधानिक सङ्कट निम्त्याउन तयार भएर नै वर्तमान गतिविधि सल्बलाएका हुन् । अस्ट्रियामा जन्मेर इजराइलमा बसाइँ गएका प्रसिद्ध अस्तित्ववादी दार्शनिक मार्टिन बुबरले ठीकै भनेका रहेछन्, ‘वास्तविक सङ्घर्ष पूर्व र पश्चिमका बीच होइन, पुँजीवाद र साम्यवादका बीच पनि होइन, बरु शिक्षा वा चेतना र प्रपोगण्डाबीचको हो ।’

आजभोलि ‘उग्र राष्ट्रवाद’को विज्ञापन शैलीका नाराले खास–खास दल रङ्गिएका छन्, तर निर्देशित राष्ट्रवाद वा नक्कली राष्ट्रवादको असलियत बुझ्न सचेत नागरिकलाई खासै कठिन नपर्ला । कुहिएको फर्सीजस्तो बाहिरबाट हेर्दा ताजा लाग्ने, तर भित्रभित्रै सडिसकेका नाराले फेरि पनि जनतालाई थाङ्नामा सुताउने दुस्साहस भइरहेको अनुभूति हुन्छ । सही अर्थमा राष्ट्रवाद निर्वाचन जित्ने विज्ञापन वा प्रोपोगण्डा वा सिधासाधा जनताको भोट हत्याउने हत्कण्डा होइन । तर, बे्रजनेभले भनेझैँ प्रोपोगण्डा नै सबैथोक हो भनेजस्तो व्यवहार यहाँ प्रदर्शन भइरहेको छ । राष्ट्रवादलाई निहित स्वार्थका लागि पार्टीकरण गर्ने दुस्साहस वर्तमान राजनीतिको सबभन्दा विस्मयकारी पक्ष भइरहेको छ । यो दुर्नियतिबाट सबैले बच्ने कोसिस गर्नु आजको आवश्यकता हो ।