यस्तो छ: विक्रम सम्वतको इतिहास

यस्तो छ: विक्रम सम्वतको इतिहास


-दीर्घराज प्रसाई,
विक्रम सम्वत २०६७ साल वैशाख १ गतेदेखि नयाँवर्ष प्रारम्भ भएको छ । मीन राशि समाप्त भई मेष राशी प्रारम्भ हुनासाथ अर्थात् मेषमा सूर्यले प्रवेश गरेको दिन वैशाख १ गतेदेखि विक्रम सम्वतको नववर्ष प्रारम्भ हुन्छ । ‘अथ सूर्यवंश प्रभावान्नेपाले किराँत राजन निजित्य लिच्छवी वंश प्रवर्ततेः।’-(पशुपति पुराण) अर्थात् सूर्यवंशी लिच्छवी राजाकोे प्रभावले किराँत राजालाई जिती लिच्छवीवंश शुरु भएपछि लिच्छवीवंशका पहिला राजा धर्मपाल, भूमिवर्मा विक्रमादित्य उपाधिवाट पुकारिएका सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाबाट विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि विक्रम सम्वत उठान भएको हो । वैदिककालदेखि चल्दै आएका महिना, वार, थीतिहरुलाई निरन्तरता दिई राष्ट्रिय सम्वतको रुपमा यो सम्वत प्रचलित हुँदै आएको छ । हिमवत खण्डका स-साना राज्यहरु सेनवंशी, बाईसी, चौबीसी तथा काठमाण्डौं उपत्यका लगायत ब्रम्हपुत्रदेखि गंगाको आसपाससम्म विक्रम सम्वत चलनचल्तीमा आएका प्रमाणहरु छन् । विक्रम सम्वत लगायत इतिहासको फेरबदलमा नेपालमा चलिआएका शक सम्वत, नेपाल सम्वतहरु तिथिको आधारमा मात्र चलिरहेको र तिथिहरु गडबड भइरहने हुँदा शासन व्यवस्थामा असजिलो भएकाले सुव्यवस्थाको लागि चन्द्रशम्शेरले ज्योतिषीहरुको सम्मेलनबाट सल्लाह लिएर तीथि र बारहरुमा तलमाथि नगरी विक्रम सम्वत १९६१ मेष संक्रान्ति वैशाखदेखि १ गते प्रारम्भ गरी गतेमा लेख्ने चलन चलाएका हुन् । विक्रम सम्वत भन्दा १३५ वर्षपछि शक सम्वतको उठान र ९३७ वर्षपछि नेपाल सम्वतको उठान भएको हो । विक्रम सम्वतको वर्षमा ३६५ दिन र शक सम्वत र नेपाल सम्वतका ३५४ दिन मात्र हुने हँदा विक्रम सम्वत व्यवहारिक हुनगएको छ । विक्रम सम्वत जेठो सम्वत भएकाले ऐतिहासिक तथ्यलाई जीवन्त राख्न सफल बनेकोछ ।

इतिहासविद् श्री नयनाथ पौड्यालले नेपालको पुरातत्व विभाग राष्ट्रिय पुस्तकालयवाट प्रकाशित भाषा वंशावलीमा विक्रमादित्य राजा बारेमा किंवदन्तीहरु प्रस्तुत गर्दै बज्रयोगिनीवाट पारसमणिसहित आशीर्वाद प्राप्त गरेको राजप्रसादको दक्षिणतर्फ -हालको नारायणहिटी) चतुर्मुख नारायण स्थापित गरी जोडीधारा बनाई तीर्थस्थलसमेत बनाई विक्रम सम्वत चलाएको कुरा उल्लेख गरेकाछन् । साँखु बज्रयोगिनीको मन्दिरदेखि केहीमाथि एक मन्दिरमा विक्रमादित्य राजाको टाउको रहेको र जसको अध्यावधि बज्राचार्यवंंशका पूजारी विक्रमादित्य राजाको टाउकाको पूजा गरेर बसेका छन् ।

यसबारेमा अनेकौं किम्वदन्ती छन् । विक्रमादित्यले यहाँ राज्य गरेका यो ज्वलन्त प्रमाण हो । उनैबाट काभ्रे जिल्लाको नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किंवदन्ती प्रचलित छ । योगी नरहरिनाथले भन्नु भएकोछ-“श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः”भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ति राजा विक्रमादित्यको बत्तिसपुतली राम मन्दिर भएको ठाँउमा राजसिंहसान थियो भन्ने पाइन्छ, भन्नु भएकोछ । यसबारेमा काभ्रे नालामा विक्रमादित्यले शासन गरेको कुरा बाशुपाशाबाट काभ्रे सिन्धु वृतान्त पुस्तकमा र कविताराम श्रेष्ठले अन्नपूर्ण पोष्टमा लेखेका छन् । लिच्छवी शासनकालमा निर्मित हरिसिद्धि मंन्दिरमा विक्रम सम्वत ७११ उल्लेख भएको वंशावली छ र विक्रम सम्वत ९४५मा हरिसिद्धिनाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ । जयस्थिति मल्लको पालाको शुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । त्यसपछि त्यसरी नै मल्लकालभरी विक्रम सम्वत चलनचल्तीमा भएको कुरा अभिलेखहरुमा प्राप्त छन् ।

मोरङ्गका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहरमा विक्रम सम्वत १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम सम्वत १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम सम्वत १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरु भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातत्व संग्रह (२०१८)मा प्रकाशित गराएका छन् । फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम सम्वत १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम सम्वत १६९३ उल्लेख छ । अछामको वरदादेवी मंदिरमा विक्रम सम्वत १७७९ पौष उल्लेख छ । भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिमपट्टकिो भित्तामा विक्रम सम्वत १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्णपट्टामा विक्रम सम्वत १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल सम्वत ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम सम्वत १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेललबाट अभिलेख संग्रहमा उल्लेख गरिएको छ । राजा भूपतेन्द्र मल्लले विक्रम सम्वत १७६३ उल्लेख गरेको कुरा भुवनलाल प्रधानले उल्लेख गर्नु भएको र जयप्रकाश मल्लले विक्रम सम्वत १८१४मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण प्रमेय’ मा उल्लेख गर्नुभएको छ ।

विक्रम सम्वत यसक्षेत्रको प्रचलित सम्वतको रुपमा मानिएकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम सम्वत १८२५को वसन्तपुर दरबारको अभिलेखमा- ‘राजा पृथ्वीनाराण शाहको बंश गुहृयेकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थीर भइरहोस्’ भनेर विक्रम सम्वत १८२५ उल्लेख गरेका थिए । जंगबहादुरले मुलुकी ऐनलाई संग्रह गरी त्यसमा विक्रम सम्वत १९१०नै उल्लेख भएको छ । इतिहासकार दिनेशराज पन्तले ‘राजीवलोचन जोशीका बराज्यू’ नामक पुस्तकमा विक्रम विक्रम सम्वत १७२१मा लमजुङमा वीर्रमर्दन शाह राजा थिए र विक्रम सम्वत १७४१मा लमजुङमा केहरिनारायण शाह राजा थिए । विक्रम सम्वत १७९६मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी (पूर्णिमा १० पूर्णाङ्कको ३९) उल्लेख गर्दै विक्रम सम्वत १७२१ प्रयोग भइआएको देखाएका छन् । इतिहाकिार ज्ञानमणि नेपाल लेख्छन्-΄विक्रम सम्वतको प्रचलन मध्यकालमा वाइसी-चौबीसी, सेन, मल्ल, शाह राजाहरले विक्रम सम्वत चलाउदै आएका थिए । केन्द्रका तीन सहरका मल्लराज्यहरमा पनि पूर्व मललकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका पुक्ष्पिका वाक्यहरुमा विक्रम सम्वतको प्रयोग हुँदैआएको थियो । भक्तपुरमा नवर्ष प्रारम्भ हुादा धमधामसाथ बिस्केटजात्रा मनाइन्छ । तराईमा थारुहरु वैशाख शररु हुने दिनदेखि नै सिरुवाजात्रा मनाउँछन् ।’ त्यस्तै अरुणकुमार पाण्डे लेख्छन्- ΄सृष्टिको आरम्भमा सूर्य लगायतका ग्रहनक्षत्र शून्य अवस्थामा रहेको र त्यही सून्यमा विक्रम सम्वतको गणनापति शूर हुन्छ । विक्रम सम्वत विश्वब्रहृमाण्डका ग्रहगति र प्राकृतिसँग सापेक्ष छ । नेपालमा विक्रम सम्वतले सबै जाति, भाषा, धर्म र संस्कृति र विविधतालाई समिटेको छ ।’

सम्वतहरुको विषयमा विक्रम सम्वत १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३वटा अभिलेख खोजी लगी लिच्छवीकालमा उल्लेखित सम्वतहरुलाई विक्रम सम्वत ठहर्‍याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन-‘मानदेवको सम्वत ३८६को चाँगुको अभिलेखको सम्वत विक्रम सम्वत हो । यसरी विक्रम सम्वत ३८६देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको सम्वत ४८९ सम्मका सम्वत विक्रम सम्वत हुन् ।’ यसैगरी नेपालका खोजकर्ता इतिहासविद् शंकरमान राजवंशीले पूर्व लिच्छवीकाल र उत्तर लिच्छवीकालका सम्वतहरु शक सम्वत होइनन् भन्दै लिच्छवीकालका अभिलेखमा उल्लेखित सम्वतहरुलाई विक्रम सम्वत नै मानेका छन् । लिच्छवीकालमा उल्लेखित सम्वतहरुलाई शक सम्वत होइनन् -लिच्छवी सम्वतको निर्णय, नयराज पन्त (नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान २०४३) भनेका छन् । यसैगरी तर, कतिपय नेपालकै इतिहासकारहरुले विक्रम सम्वत नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी सम्वत ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमादित्य लेख्दैमा विक्रम सम्वत उठान गर्ने उनै हुन् भन्नु मिल्दैन । इतिहास शिरोमणी बाबुराम आचार्यले लेख्नुभएको छ- ‘जुनसमय इशापूर्व ५७ वर्षमा यो सम्वतको उठान भएको थियो उससमयमा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । उज्जयिनीका खण्डहरुको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य रहेको चिन्ह भेटिएको छैन ।’ विक्रमादित्य राजाको भारतमा उदय भएको थियो भने त्यस्ता प्रतापी चक्रवर्ती राजाको विषयमा त्यससमयका भारतका कवि वा कलाकारहरुले कहीं न कहीं त्यस्ता राजाको विषयमा चर्चा गर्थे होलान्, कहीं कतै गुनगान हुन्थ्यो, कहीं कतै मूर्ति पनि बन्थ्यो होला ।

नेपाल सम्वतमा वर्षमा ३५४ दिन र तिथिबाट मात्र चल्ने र विक्रम सम्वतको वर्षमा ३६५ दिन, गते लगायत तीथि, बारमा आवद्ध रहँदै आएको र शक सम्वत भन्दा १३५ वर्ष र नेपाल सम्वत भन्दा ९३६ वर्ष जेठो सम्वत भएकाले यसको एतिहासिक गरिमा छ । ज्योतिषी पं. सूर्यप्रसाद ढुँगेल भन्नुहुन्छ- ‘विक्रम सम्वत प्रकृतिसँग आवद्ध छ । दिन र रात सूर्यले नै निर्धारण गर्ने र सूर्यले एकवर्ष अर्थात ३६५ दिन १५ घडी ३१ पला ३१ प्रतिपला, यति समयमा एक चक्कर ३६० डिग्री पुरा गरेको हुन्छ । सूर्यले जव ३६० डिग्री अर्थात रासी, अंशा, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन रासी समाप्त भई मेष राशी सूर्यमा प्रवेश गर्छन् र विक्रम सम्वत अनुसार नयाँवर्ष प्रारम्भ हुन्छ । यसैगरी ३० अंशको एक महीना हुनेहँदा पहिलो ३० अंश सिद्धिएपछि वैशाख सिद्धिएर जेष्ठ महीना प्रारम्भ हुन्छ । यहीक्रमबाट ३०।३० अंश काटेपछि वर्ष पूरा हुन्छ ।’ फलतः विक्रम सम्वत नेपाल र भारतमा कतिपय स्थानमा इतिहासको प्रारम्भदेखि लोकप्रिय हुँदैआएको छ । अहिले पनि भारतका कतिपय ठाउँमा हिमवतखण्ड नेपालको प्रतावले विक्रम सम्वतहरुलाई नै आधार बनाएर पञ्चाङ्गहरु प्रकाशित भइरहेका छन् । विक्रम सम्वत नेपालको मौलिक हो । सम्राज्यवादी शक्तिको आक्रमणबाट सुरक्षित बन्दै नेपालले आफ्नो र्सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको प्रमाणहरुमा विक्रम सम्वतको निरन्तरता पनि एक हो । विक्रम सम्वत नेपालको गौरव हो । २०६७ साल नयाँवर्षको शुभ-उपलक्ष्यमा स्वदेश-विदेशमा रहेका नेपालीहरु विचमा सुख-समृदिको शुभकामना आदान-प्रदान गरौं ।
Email:[email protected]
२०६७ साल नयाँ वर्षको उपलक्षमा