मुगाबेले राजिनामा नदिने

मुगाबेले राजिनामा नदिने


जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा नदिने धारणा आइतबार सार्वजनिक गर्नुभएको छ ।

जिम्बावेमा सेनाले शासन सत्ता हातमा लिएपछि उहाँलाई नजरबन्दमा राखिएको थियो । त्यसपछि उहाँले सेनाको कदमप्रतिको प्रतिक्रिया के दिनुहोला भन्ने बारेमा निकै जिज्ञासा राखिएको थियो ।

अर्कातर्फ उहाँले आफै राजिनामाको घोषणा गरेर बाटो खोलिदिए राम्रो हुने सुझाव धेरैले दिएका थिए । तर पछिल्ला केही दिनयता भने उहाँको राजिनामा आउनुपर्ने अडान विपक्षी दलले पनि राखेको थियो ।

तर ती सबै चौतर्फी मागहरु उहाँले अस्वीकार गरी आफूले पद नछोड्ने घोषणा आइतबार अबेर सञ्चारमाध्यममार्फत गर्नुभएको छ ।

उहाँले आइतबार साँझ देशवासीका नाममा सम्बोधनगर्दै राजीनामा दिने अपेक्षा गरिएकोमा सो अपेक्षा विपरीत आफू जिम्बावेको वैधानिक राष्ट्रपति रहेको धारणा राख्नुभएको थियो ।

त्यतिमात्र नभएर उहाँले उक्त सम्बोधनमार्फत नै आगामी महाधिवेशनमार्फत सत्तारुढ दल, जानपिएफको नेतृत्व नै गर्ने चाहना पनि व्यक्त गर्नुभएको थियो ।

तर ९३ वर्षीय राष्ट्रपति मुगाबेलाई भने उहाँको दलले पार्टी नेताबाट हटाउने निर्णय गरिसकेको छ । अबको केही हप्तापछि सत्तारुढ पार्टीको महाधिवेशन हुन गइरहेको छ ।

आफूलाई पार्टीको नेतृत्वबाट हटाएको भन्ने बारेमा आफूलाई केही थाहा नभएको उहाँले जानकारी दिनुभयो । त्यस अवसरमा उहाँले उक्त प्रसंगमा त्यो भन्दा बढी केही भन्न चाहनुभएन ।

राष्ट्रपति मुगाबेका सत्ता साझेदारहरु तथा यहाँको विपक्षी दलले भने राजीनामा नदिने उनको उक्त निर्णयको कडा शब्दमा विरोध गरेका छन् ।

उनीहरुले राष्ट्रपति सत्तामै रहेर पार्टी र राष्ट्रपतिको नेतृत्व पनि आफ्नी श्रीमतीलाई हस्तान्तरण गर्न खोजेको आरोप उहाँको आफ्नै राजनीतिक दल र विपक्षीहरुले लगाएका छन् ।

राष्ट्रपति मुगाबेले सम्हाल्दै आएको दलको नेतृत्व केही दिन पहिले राष्ट्रपतिको आदेशमा उपराष्ट्रपतिबाट हटाइनुभएका पूर्व उपराष्ट्रपति एमरसन माङ्गाग्वालाई दिइएको छ ।

सेनाले शासनसत्ता सम्हाल्नु पहिले सत्ता सम्हालेको जिम्बावे अफ्रिकन नेशनल यूनियन– प्याट्रिओटिक फ्रन्ट (जेडएएन्यू–पिएफ) ले मुगाबेलाई पदबाट राजीनामा दिन आग्रह पनि गरेको छ ।

जिम्बावेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा लिएको थियो । सेनाले शासनसत्ता हातमा लिएयता आफ्नै घरमा नजरबन्दमा रहेकोमा शुक्रबार पहिलोपटक उहाँ सार्वजनिक कार्यक्रममा देखिनुभएको थियो । रासस/एएफ्पी