साहित्य र पर्यटन प्रवद्र्धनका लागि स्रष्टाको पैदल यात्रा

साहित्य र पर्यटन प्रवद्र्धनका लागि स्रष्टाको पैदल यात्रा


नेपाली साहित्यमा कलम चलाउँदै आएका केही स्रष्टाको पहलमा बितेको एक वर्षदेखि थालिएको स्रष्टा पदयात्राको १३औँ श्रृङ्खला सुन्दरीजलदेखि चिसापानीसम्मको पैदलयात्रा गरि गत शुक्रबार सम्पन्न भएको छ । स्रष्टा पदयात्रा अभियानकोे १३औं श्रृँखलामा १३ जना स्रष्टाको सहभागिता रहेको थियो । स्रष्टाको पदयात्रा काठमाडौँको सुन्दरीजलबाट सुरु भई मुलखर्क–ठूलोधाप हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमानामा रहेको चिसापानीमा पुगेर सकिएको थियो ।

सुन्दरीजलबाट हिँडेको टोली करिब ७ घण्टाको पैदल यात्रापछि चिसापानी पुगेको थियो । पदयात्रामा स्रष्टाहरु शीतल गिरी, डिल्लीराज अर्याल, जशध्वज गुरुङ, श्रीओम श्रेष्ठ रोदन, डा. धनप्रसाद सुवेदी, डा. नेत्र एटम, लीलाराज दाहाल, हरि गौतम, प्रमोद प्याकुरेल, राजेश खनाल, डिल्लीरमण सुवेदी, प्रवेग हाङस्रङ र दामोदर सापकोटा सहभागी थिए ।

पैदल यात्राका क्रममा साहित्यिक तथा समसामयिक विषयमा छलफल गरिएको थियो । प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थल भए पनि प्रचारप्रसारको अभावमा चिसापानी क्षेत्र ओझेलमा परेको पैदल यात्रामा चिसापानी पुगेका साहित्यकारहरुले दुःखेसो गरे । उनीहरुले आफ्ना लेख तथा समाचारको माध्यमबाट यो क्षेत्रलाई परिचित गराउनु र प्रचारप्रसार गर्नु आवश्यक रहेको बताए ।

स्रष्टाहरुको टोली शुक्रबार राती चिसापानीमै बास बसेको थियो । सो क्रममा साँझ साहित्यिक छलफल तथा रचना वाचनको कार्यक्रम पनि आयोजना गरिएको थियो । ‘स्वास्थ्य र सिर्जनाकालागि पदयात्रा’ नारासहित सुरु भएको यो अभियानको उद्देश्य ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा पुरातात्विक क्षेत्रहरुको अवलोकन गर्दै सो विषयमा साहित्यिक सिर्जना गर्नु र पर्यटन प्रवद्र्धनमा सहयोग गर्नु रहेको बताइएको छ ।