पत्तैयाको उखरमाउलो !

पत्तैयाको उखरमाउलो !


– श्रीविक्रम भण्डारी

जब साँझको सात बज्छ, पत्तैया (बैङ्कक) गुलाबी नसामा झुम्छ । समुद्रको किनारा हुँदै सीधा पत्तैयासँग जोडिएका सडक एक्कासी उत्तरतिर मोडिन पुग्छन् । सडकको बीचमा अस्थायी जालीको बार लगाइन्छ, त्यसपछि ‘वाकिङ स्ट्रिट’ सुरु हुन्छ । बिस्तारै–बिस्तारै गुलावी नसाको मात चढ्दै गएपछि पत्तैयामा रङ्गीन साँझको आरम्भ हुन्छ । त्यसले संसारका हरेक ‘मर्यादाका नियम–कानुन’लाई तोड्दै स्वतन्त्रताको सीमालाई समेत पार गरिदिएको अनुभूति दिलाउँछ । पत्तैयाको ग्रिनसिटी पार्क र सेभन स्टार हिल्टन होटेलहरू त्यसको साक्षीका रूपमा चम्किरहेका हुन्छन् ।

एसिया, युरोप, अमेरिका, उत्तर अमेरिका, अफ्रिका र अस्ट्रेलिया सबै महादेशका विभिन्न उमेर तथा कदकाँठीका ‘रङ्गीला’हरू पत्तैयाको मस्त–रङ्गमा तरङ्गित हुँदै जीवनको आनन्द–सागरमा डुबुल्की मार्न उत्ताउलिइरहेका हुन्छन् । उनीहरूको प्रत्यक्ष सहभागिताले त्यसै त रङ्गीन पत्तैयालाई अझ रङ्गीन बनाइदिन्छ, जुन दृश्य नियाल्नेका लागि आफैँमा त्यो दिवास्वप्न प्रतीत हुन्छ ।

साँझ ८ बजेदेखि पत्तैया प्रत्येक दिन दुलहीजस्तै सिँगारिएको हुन्छ । रङ्गीन लाइट, रङ्गीन मान्छे, रङ्गीन नशा, रङ्गीन परिकार त्यसमाथि रङ्गीन सुन्दरी पत्तैयाको विशेषता नै रहेछ । जति हेरे हेरौँ–हेरौँ लाग्ने, जति खाए खाउँ–खाउँ लाग्ने, त्यसमाथि स्वप्निल सुन्दरीहरूको नग्न यौनिक क्रीडाले पत्तैयाको रौनकतामा चार चाँद लगाइदिन्छ । कामक्रीडालाई नै जीवन ठान्नेहरूका लागि यसबाहेक उत्कृष्ट थलो अन्यत्र होला के ? यस्तै भाव पैदा हुन्छ एउटा तमासेको हृदयमा । भुक्तभोगीहरूका अनुसार भोगीको त कुरै छोडौँ रोगी र असक्तहरू समेत त्यहाँ ¥याल चुहाउन पुग्छन् । नियाल्दा यो सत्यजस्तै पनि महसुस हुन्छ । रित्तो पकेट बोकेर अर्काको तमासा हेरेरै चित्त बुझाउनेहरूको पनि त्यहाँ भिड नै लाग्ने रहेछ ।

पत्तैयाको रङ्गीन रातलाई अझ ‘सङ्गीन’ बनाउन थाई र रसियन युवतीहरूले विशेष भूमिका खेलेका हुन्छन् । ग्राहकलाई आफूतिर आकर्षित गर्न तिनका पहिरन नै काफी हुन्छ । टु पिसमा सजिएका युवतीले प्रदर्शन गर्ने अदा वा कामुक हाउभाउले हरेकलाई आकर्षित गरेको हुन्छ । आफ्नो यौनिक ‘शो’ दर्शन गराउनका लागि तिनले के–के मात्र बार्गेनिङ गर्दैनन्, पत्तैया पुगेर मात्र यसको जल्दोबल्दो अनुभव गर्न सकिन्छ ।

एकसेएक राम्री, दृष्टिले धोका खाएकै किन नहोस् ! बत्तीस लक्षणले युक्त प्रतीत हुने, कामुक युवतीको रूपरङ देख्दा शास्त्रीय कथामा पढिने स्वर्गकी अप्सरा यिनै हुन् कि भन्ने आभास हुन्छ । तिनका हाउभाउ र कटाक्ष अत्यन्तै लोभलाग्दा हुन्छन् । त्यसमाथि ग्राहक रिझाउन तिनले गर्ने ‘हर्कत’ अकल्पनीय लाग्दछ । पश्चिमाका लागि त्यो सामान्य भए पनि हाम्रा लागि अवर्णनीय नै हुने रहेछ । यसर्थमा कि तिनले प्रदर्शन गर्ने यौनिक भावभङ्गिमा वा हर्कत हाम्रोजस्तो समाजका लागि सहज या सोच्न सकिने किमार्थ छैन ।

उखरमाउलो गर्मी त्यसमाथि स्वप्निल सुन्दरीहरूको आभा–मण्डलभित्र परेपछि मन थाम्नै मुस्किल… । कति त चिसो बियर वा आइस क्युबसहित हुस्कीको चुस्कीमा भुलेर मन शान्त पार्ने कोसिस गर्छन् । तर, ‘हट युवती’का सामु त्यो चिसो बियर वा ह्विस्की स्वयम् नै कुन बेला तातिसक्छ, पिउनेलाई पत्तै हुँदैन । त्यसपछि सुरु हुन्छ ‘महाभारत’ ! छर्लङ्ग रात कटेर बिहानको झिसमिसेले सिरेटो हानेको हेक्का नै रहँदैन । यही क्रिया–कर्मले निरन्तरता पाइरहेको छ पत्तैयाले । थाहा छैन कहिलेसम्म यसले विश्वभरका ‘मस्त’हरूलाई अलमस्त पारिरहख्ने हो !?