झापा–१ लाई विकासको नमूना बनाउने विश्वप्रकाशको प्रतिबद्धता

झापा–१ लाई विकासको नमूना बनाउने विश्वप्रकाशको प्रतिबद्धता


आसन्न प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका युवा नेता विश्वप्रकाश शर्माले निर्वाचन क्षेत्रलाई देशकै नमूना क्षेत्र बनाउने घोषणा गर्नुभएकोे छ ।

निर्वाचन प्रचारअन्तर्गतका विभिन्न कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका नेता शर्माले विकासका अनेकन सम्भावना भए पनि यस क्षेत्रको दीगो विकासमा पहलकदमी गर्ने नेतृत्वको अभावका कारण सोचेअनुरुप विकास हुन नसकेको बताउनुभयो । मंसीर २१ को निर्वाचनमा विजयी बनेपछि आफुले यस क्षेत्र जनताको चाहना, स्थानीय आवश्यकता र क्षेत्रको संभावनालाई समेटेर व्यवस्थित र दीर्घकालिन विकासको नयाँ अध्यायको थालनी गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

उहाँले चन्द्रगढी ज्यामिरगढी र दुवागढीलाई औद्योगिक क्षेत्र बनाउने, बाहुनडाँगी र शान्तिनगरलाई कृषि पर्यटन क्षेत्र, धाईजनलाई हेल्थ हब बनाउने, सिद्धिखोलाबाट विद्युत उत्पादन गर्ने र झापा क्षेत्र नं. १ लाई समेट्ने गरी रिङरोड बनाएर त्यसलाई रिङरोड नं. १ नामाकारण गर्ने समेत योजना मतदातासमक्ष राख्नु भएको छ ।

शर्माले मुलुकको पुर्वी प्रवेशद्धार काकरभिट्टालाई बन्दमुक्त क्षेत्रको रुपमा विकास गर्ने समेत बताउनुभयो । नेपालको बजेट वितरणको समय उचित नभएको भन्दै अब बजेट भाषणको समय असारमा नभएर चैतमा बनाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस उम्मेद्वार शर्माले भन्नुभयो– ‘असार साउन भनेको वर्षातको समय हो । त्यो समयमा आर्थिक वर्षको शुरुवात गर्दा बजेट कार्यान्वयनमा जटिलता आइरहेकाले अब आर्थिक वर्ष वैशाखदेखि शुरु गर्नु पर्छ ।’

झापा क्षेत्र नं. १ मा कांंग्रेस उम्मेद्वार शर्मासंगै वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की चुनावी मैदानमा हुनुहुन्छ । झापा १ को भिडन्तलाई देशैभरि खास चासोका साथ हेरिएको छ ।