खुल्ला दिसामुक्त घोषणा गर्ने सामुहिक प्रतिबद्धता

खुल्ला दिसामुक्त घोषणा गर्ने सामुहिक प्रतिबद्धता


झापाको मेचीनगर नगरपालिका, वडा नं. ७ र १५, ज्यामिरगढीलाई यही पौष १० गते खुल्ला दिसामुक्त घोषणा गर्न ७ बुँदे प्रतिबद्धता गरिएको छ ।

शुक्रबार ज्यामिरगढीमा आयोजित सरसफाइ सम्मेलनमा सहभागीले तोकिएको मितिभित्र आफ्नो घरमा सुरक्षित शौचालयको निर्माण र प्रयोग गर्ने, खुल्ला स्थानमा दिसा गर्ने कार्यलाई सामाजिक अपराध मानी त्यसको नियन्त्रणका लागि सबै सक्रिय हुने, सबै राजनीतिक दलका अगुवाहरुले चर्पी बनाउनका लागि समुदायलाई उत्प्रेरित गर्ने, विद्यालय तथा सहकारी लगायतका अन्य संघसंस्थाले शौचालय निर्माणका लागि समुदाय र आफ्ना सदस्यहरुलाई प्रेरित गर्ने, सहकारीहरुले शौचालय निर्माणका लागि सुलभ दरका ऋण प्रदान गर्ने लगायतका प्रतिवद्धता गरिएको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख विमलकुमार आचार्यले नगरपालिकाका अन्य वडाहरुले समेत ज्यामिगढीको सिको गरी खुल्ला दिसामुक्त अभियानलाई सार्थक बनाउनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले सरसफाइ महिलाको इज्जत, प्रतिष्ठा र स्वाभिमानको समेत विषय भएको उल्लेख गर्दै महिलाको अगुवाइमा खुल्ला दिसामुक्त एवम् पूर्ण सरसफाइ अभियानलाई अगाडि बढाउनुपर्ने बताउनु भयो ।

मेचीनगर–१५ का अध्यक्ष गुणराज भट्टराईको अध्यक्षतामा भएको सरसफाइ सम्मेलनमा सहकारी क्षेत्रबाट राजन विष्ट, महिलाको क्षेत्रबाट रेणु के.सी., शिक्षा क्षेत्रबाट सन्तप्रसाद चौलागाईं, मञ्जु अधिकारी, वडा सचिव रुद्रबहादुर तिम्सिना, विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक महेन्द्र के.सी. लगायतले सरसफाइको महत्व बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

ज्यामिरगढीमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमसँगको साझदोरीमा बिराट सामुदायिक अध्ययन केन्द्र, बिर्तामोडले खुल्ला दिसामुक्त अभियानको सहजीकरण गरिरहेको छ ।

– रेजिना गौतम