मुगाबेविरुद्ध सडकप्रदर्शन गर्न सेनाको आह्वान

मुगाबेविरुद्ध सडकप्रदर्शन गर्न सेनाको आह्वान


जिम्बावेका प्रभावशाली पूर्वसैनिकहरूकोे संस्थाले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्धमा सडक प्रदर्शनमा उत्रिन आह्वान गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै क्रिस्टोफर मुत्सभाङगाले मुगाबे र उनकी श्रीमती ग्रेसको राजनीतिक खेल अब बाँकी नरहेको दाबी गरे । सो क्रममा उनले हरारेमा मुगाबे विरुद्ध शनिबार सडक प्रदर्शन गर्ने तयारी भएको जनाउँदै सहभागी हुन आह्वान गरे ।

उनले भने, ‘सैनिक अधिकारीहरुले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गरेका छन्, यो सफल अभियान हो तर अब सकियो । हामी हाम्रो पुरानो गौरव भोलि पनि फर्काउन चाहन्छौं, जब सेनाले सुरु गरेको छ, हाम्रो काम सकिएको छ ।’ मुगाबेका बारेमा अब पछि फर्केर केही गर्नु नपर्ने उनको भनाई छ ।

मुगाबेको ३७ बर्ष लामो शासन अन्त्य भएको दाबी गरिएको परिवेश र सेनाले शासन हातमा लिएपछि मुगाबे पहिलो पटक शुक्रबार विश्वविद्यालयको दिक्षान्त समारोहमा देखिएका छन् ।

यसअघि जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहेका जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गरेका छन् । लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि सेनाको नियन्त्रणमा छन् । उनले गत बिहीबार पदबाट राजीनामा दिन अस्वीकार गरेका समाचार प्रकाशमा आएको थियो।

जिम्बावेको सेनाले देशको समग्र शासन सत्ता लगभग हातमा लिएको छ । उनलाई भने उत्तराधिकारीको चयन गर्नेसम्बन्धी विवाद खडा भएको भन्दै उनकै निवासमा नजरबन्दमा राखेको जनाइएको छ । सेनाको नजरबन्दमा रहेका उनी जिम्बावेमा लामो समयदेखि शक्तिमा छन् । तथापि ९३ बर्षका उनले आफ्ना दूतहरु र सेनाप्रमुखसँग वार्ता गरिरहेका छन् ।

जिम्बावेको विपक्षी दलका नेताले मुगाबेले तत्कालै राजीनामा दिनु जिम्बावेका जनताको हितमा हुने बताएका छन् । सेनाले देशमा नियन्त्रण कायम गरेको छ तर त्यहाँ राजनीतिक दलका विरोध प्रदर्शन वा कुनै विरोधका कार्यक्रमहरु भएका छैनन् ।

मुगावेले राजिनामा दिन नमानेपछि अब सेनाले के कस्तो रणनीति लिन्छ भन्ने बारेमा चाहिँ विभिन्न प्रतिक्रियाहरु आइरहेका र उता केही अफ्रिकी मुलुकहरुका विदेशमीन्त्रीहरुको बैठकले भने जिम्बावेको सेनालाई कुनै पनि हालतमा सत्तामा लिएको नियन्त्रण फिर्ता लिन र देशलाई सामान्य अवस्थामा फर्काउन आग्रह गरिरहेका छन् ।