‘निरञ्जन-निराकार’लाई मान्ने कि इमानदारलाई छान्ने ?

‘निरञ्जन-निराकार’लाई मान्ने कि इमानदारलाई छान्ने ?


– राजेन्द्रप्रसाद पाठक

समय सन्दर्भमा कयौं युग परिवर्तन भइसके, त्यसैले शास्त्रानुसार यो अठ्ठाईसौंँ कलीयुग हो । सत्यदेखि कलीयुगसम्म आइपुग्दा देवादिदेव श्रीमहादेवको पूजा–आराधानामा कुनै पनि कमी आएको सायदै होला । यसको प्रमुख कारण भनेको दुईवटा मात्र छन्, एक– निरञ्जन, दुई– निराकार, अर्थात् रङ्ग पनि नभएको र आकारसमेत नभएको । प्रकृतिप्रदत्त भौतिक वस्तुमा दुईवटामा मात्र यस्ता अन्तर्निहीत गुण हुन्छन्, त्यो पहिलो हावा र दोश्रो पानी हो । यी दुवैमा आकार र प्रकृतिप्रदत्त रङ्ग हुँदैनन् तर प्रकार भने हुन्छन् ।

नेपाली राजनीतिमा समेत यस्तै एक महा–कमरेडको उदय भएको दुई दशक पूरा भएर तेश्रो दशकमा प्रवेश भएको छ । उनको आरम्भदेखिकैै चरित्रलाई कोट्याउने हो भने रंङ्ग र रुप दुवै बदल्न क्षणभर लगाउँदैनन् । उनी महादेवकै जस्तो आफ्नो पूजा होस् भन्ने चाहन्छन् । उनका ढुलमुले विचारले आकार नलिए पनि हाईवे बनोस् भन्ने चाहनाका खातिर कुनैबेला पथको समेत परिकल्पना गर्न पछि परेका छैनन् । उनी पानीजस्तै छर्लङ्ग छन् । रातो बोतलमा हाले रातै देखिन्छन् त कालोमा हाले कालै । बोतलमा हाले उनको आकार बोतलजस्तै हुन्छ त डबकामा हाले डबकाजस्तै हुनु उनको ‘महान’ गुण हो ।

उनी भारत गए भारतीयजस्तै हुन सक्छन् त चीन गए चीनियाँलाई नै लठ्याइदिन्छन्् । क्रिश्चियनलाई भेटे उनी ठेट इसाइको बाना मिलाउँछन् भने हिन्दु भएका ठाउँ ‘जन्मजात हिन्दु हुँ नि’ भन्ने वहाना उनलाई छँदैछ । उनको अभीष्टचाहिँ जिसस र महादेवजस्तै आफू पुजिनुपर्छ भन्ने रहेको उनका बोली–व्यवहार र गतिविधिले झल्काइरहेछ । तर उनी जिससलाई नै सजिलो मानिरहेका छन् किनकि, उताबाट भेटीको थुप्रो लाग्दछ । उनले मुलुकको विधानलाई नै मनपर्दी बदलेर यो विशेषता दर्शाइसकेका छन् कि यतिबेला उनका लागि प्रिय महादेव नभई जिसस नै हुन् ।

उनी मात्र होइन, ब्रह्मा, बिष्णु, महेशजस्तै पुजित हुने आशा–अपेक्षा गर्ने गैरकमरेडहरू समेत भेटीको रेट लगाई आफूलाई जनताको लागि भन्दै क्रसमा टाँग्न समेत पछि नपर्ने महान आत्माहरू चुनावी सरगर्मीमा होमीइरहेका छन् । उनीहरू समेत यि तीन महान स्तरबाट आफुलाई तल झार्न चाहँदैनन् । भेटी र भोग उनीहरूका अति प्रिय बस्तु हुन् । उनीहरूलाई खुशी पार्न यि दुई चिज अर्पण गर्न सके उहाँहरूबाट तथास्तु भैहाल्छ । अब बाँकी रहेको एउटै प्रोसेस भनेको कार्यकर्तारूपी भक्तहरूबाट अनुमोदन गराउने काम । यो त झनै उनीहरूका लागि केटाकेटीको खेल नै भैगयो ।

एक–दुई खेस्रा कागजका टुक्रामा लेखिएका मिठा हरफहरूसहित केही उप–भेटीघाटी, निल्न सक्नेलाई चौटा नसक्नेलाई झोल । अझै उपबुज्रुक भन्नेलाई त तीनवटै झटारो मारे त कसो नझर्ला फल भन्ने महान सोच र आत्मविश्वासका साथ होमिएका छन् हाम्रा महान् चुनावी यौद्धाहरू । आजसम्म चुनाव मात्रै हाम्रो ‘महान चाड’ बन्दै आएको छ, बाँकी संस्कार–संस्कृतिहरू बिस्तारै हराउँदैछन् । किनकि, मान्न चाहनेसँग पैसा र आम्दानी छैन, नचाहनेहरूसँग सबैथोक छ । संस्कार र संस्कृतिविरोधिहरू डलर, युआन र युरोको भेटी थापिरहेका छन् । देशमा हुने उत्पादन शुन्यउन्मुख छ । किनकि कृषिप्रधान देशका कृषकलाई सिजनमा जहिल्यै मल र बिउको अभाव गराइन्छ । यो अप्रत्यासित होइन सुनियोजित नै हो । विगत तीन दशकयतादेखि हर साल यसै भइरहेको छ ।

जम्मा दुई दशकको जिम्मेवारीमा डा. मोहम्मद महाथीरले मलेशिया विकसित देश बनाएर राजनीतिबाट सन्यास लिए । पार्क चुङ हेले कोरिया बनाए । लि क्वानले सिङ्गापुर बनाए । तर दुर्भाग्य, हाम्रा त्रिकालदर्शी भनौदाले पनि बनाए तर आ–आफ्नै घर–परिवार र आफन्त मात्र भने पनि धन्न बनाए जसलाई अबको दशौँ पुस्तासम्म केही गर्नु पर्दैन । उनिहरूका रोल मोडल उनीहरूकै जिभ्रोमा झुण्डिएका पुर्वसामन्तहरू नै हुन् । उनीहरूकै सिको र शैलीमा अघि बढिरहेका छन् हाम्रा त्रिमुर्ती । अझै श्मसानबाट जन्मीएका महा–कमरेडको त कुरै नगरौँ । हजार जिब्रा भएका शेष नागलेसमेत बयान बखान गर्न नसकिने नालीबेली उनको राजनैतिक जीवनको कमाई हो ।

तसर्थ, छिमेकीकै मेहरवानीमा रमाएर उनीहरूकै विरुद्धमा सुरुङ युद्ध छेड्नेसम्मको दुस्साहासपुर्ण मिथ्या प्रचार गर्न सफल सप्तरङ्गी छेपारेश्वर दैत्यश्वरानन्द सर्वभक्षी बन्न सफल भएका थिए । उनीहरू जनताको इच्छा–आवश्यकताको समुल अन्त्य गर्दै पद प्रतिष्ठा र पैसाको मुलबाट आफूलाई कहिल्यै विमुख गर्न चाहँदैनन् । देश र जनताको अन्त्यष्ठि कार्यमा भाग लिएर कृयाकर्म सम्पन्न नगराएसम्म उनीहरूको सन्यास सम्भव छैन । किनकि आगामी दिहरूमा आफुहरू जस्तै सर्वभक्षी जन्मन सक्ने कुरामा विश्वास राख्दैनन् । त्यसैले पृथ्वीतलमा कोही पनि बिनेश्वर जन्मदै छ भने उनीहरूकै शाखा–सन्तती भएर जन्मिउन् भन्ने चाहना राख्दछन् । मृत्युमञ्जीलहरू र उनीहरूको बागबगैचामा यस्तै–यस्तै मृतमञ्जरीको पालुवा हुर्कियोस् भन्ने चाहना र भावनाले आतेप्रोत भएर नै यस्तै भविष्य उत्पादनमा तल्लीन भएर लागेका छन्, महामण्डलेश्वर दैत्यराज महानुभावहरू ।

आसन्न धिपधिपे चुनावले यस्ताहरूको पहिचान गरेर पर्गेल्न नसकेको खण्डमा देश र जनताको भविष्य अझै अन्योलमा पर्न सक्ने विषयमा छलफल गरिरहनु नपर्ला । भ्रष्ट्राचारी र देशद्रोहीलाई मृत्युदण्डको सजाय र नो–भोट तथा जनप्रतिनिधिलाई जनताको इच्छाले फिर्ता बोलाउन सक्ने समेतको अधिकार संंविधानमा सुनिश्चित नभएसम्म जनार्दन बन्न सक्दैनन् जनता । देशको कार्यकारी प्रमुखलाई जनताले प्रत्यक्ष मतदान गरेर पदाशीन गर्न सक्नेसम्मको ब्यवस्था हुन जरुरी छ । त्यति हुन नसके पनि जनताका प्रतिनिधि बनेर जानेहरूमा देश र जनताप्रति पूर्ण जिम्मेवारीको भावना जागृत हुनु जरुरी छ । नेपालको हालसम्मकै इतिहासमा तिलको दाना जति पनि मानवताको प्रत्याभुति हुन सकिरहेको छैन । जुन देशको न्यालयमा दलको प्रतिनिधि रहन्छ त्यहाँ दलीय वकालतसिवाय अरु केही अपेक्षा गर्न सकिँदैन भन्ने आमजनताको ठहर छ ।

जब न्यायालय निरीह बन्दछ तब राज्य र सम्पूर्ण जनता निरीह बन्न बाध्य हुन्छन् । अब देशमा जनता रहेनन् सबै नै एक न एक दलका कार्यकर्ता भैसके । विशुद्ध जनताको भावनाले मात्र देश देख्दछ । बाँकी कार्यकर्ताले पार्टीसिवाय अन्य देख्दैन । देश र जनहितका लागि काम गर्ने हो भने विशुद्ध जनता र नेपालीको खोजी हुनु पर्दछ । जुनकुनै अवस्थामा पनि ठोस निर्णय र योजनासहित प्रस्तुत हुन नसके आफ्नो त भलाई होला देश र जनताको भलाई अनिश्चित छ । ठोस परिणाम हासिल गर्नतर्फ उन्मुख योद्धालाई चयन गर्ने कि निरञ्जन निराकार बनेर स्वपुजनको अभीष्ट पाल्नेलाई अनुमोदन गर्ने, अब मतदाता जनता नै जानुन् । अस्तु !