एपिएफले हरायो भारतको डायमन्डलाई

एपिएफले हरायो भारतको डायमन्डलाई


मध्य प्रदेशको डायमण्ड फुटबल एकाडेमीलाई ४–० को भारी गोल अन्तरले पाखा लगाउँदै विभागीय टोली एपीएफ झापाको शिवसताक्षीमा जारी दोस्रो संस्करणको सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको छ ।

स्थानिय गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा बुधबार भएको खेलमा डायमण्ड फुटबल एकाडेमीलाई हराउदै एपीएफ प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेस गरेको हो । अव सेमिफाइनल प्रवेशका लागि एपिएफले नेपाल आर्मीको सामना गर्नुपर्ने छ ।

सुरुवातदेखि नै आक्रमक बनेको एपीएफले गोलको खाता खोल्न भने आधा घन्टा सम्म संघर्ष गर्नुप¥यो । एपीएफका लागि पहिलो गोल रुपबहादुर लामाले गरे । नविन लामाको कर्नर किकलाई रुपबहादुरले हेडमार्फत सुन्दर ढंगले जाली चुमाए ।

एपीएफले दोस्रो हाफको २३ औँ मिनेटमा गोल थप्दै गोलअन्तर २–० बनायो । श्याम नेपालीले एक्लै बल अगाडि बढाउँदै आकर्षक ढंगले गोल गरे । ३१ औँ मिनेटमा एपीएफका रञ्जन बिष्टले गोल गर्दै गोलअन्तर ३–० बनाए । ४० औँ मिनेटमा नविन लामाले गोल गर्दै एपीएफका लागि ४–० को स्पष्ट जित सुनिश्चित गरे ।

खेलको म्यान अफ द म्याच एपीएफका रुपबहादुर लामा घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगिताअन्तर्गत बिहीबार हुने खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लब र चर्च ब्वाइज काठमाडौँबीच प्रतिस्पर्धा हुने छ ।

खेलमा भारत तर्फका दुई खेलाडी घाईते भए । गोल किप्पर अभिजित रोय र राईमन चन्द्रदास को खुट्टामा चोट लागेको छ । उनिहरुको स्थानिय पुर्नजिवन हेल्थ केयर सन्टरमा उपचार हुन नसकेपछि थप उपचारका लागि विर्तामोडको विएण्सी अस्पताल लगिएको छ ।
– रेजिना