गालीबिनाको भाषण हुँदैन ?

गालीबिनाको भाषण हुँदैन ?


चितवनमा केही दिनअघि भाषणका क्रममा वाम गठबन्धनका नेता प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई लक्षित गर्दै भन्नुभएछ, ‘मेरो त यहाँ प्रतिस्पर्धी नै छैनन् । काङ्ग्रेसका कोही उठेका भए अर्कै कुरा हुन्थ्यो, कुनै पृष्ठभूमि र सङ्गठन नभएका मानिस उठेका छन्, सानोतिनो ठेक्का गर्ने व्यवसायीलाई प्रतिस्पर्धी पनि के मान्नु ?’ उहाँकै नाममा खोलिएको सामाजिक सञ्जालमा उहाँका यी भनाइ सगौरव सेयर गरियो ।

चुनावी मन्तव्यसँगै व्यवसाय गरेर खानेहरूप्रति नेता प्रचण्डको दृष्टिकोण पनि बाहिर आयो । हामीकहाँ नेताहरूले आफू ‘फुलटाइम’ राजनीति गरेकोमा गर्व गर्ने चलन छ । आज मुलुकमा जे–जस्ता बेथिति छन् ती राजनीतिलाई ‘फुलटाइम जब’ या पेसा ठानेका कारणले नै भएका हुन् भन्न सक्ने अनेक आधार छन् । विकसित मुलुकमा उम्मेदवारी दिँदा नेताहरूले ‘म यो पेसा या व्यवसायमा यति वर्षदेखि संलग्न छु, यस कारणले सफल छु, यतिलाई रोजगारी दिएको छु, यतिको उपचार या उद्धार गरेको छु, यतिलाई निःशुल्क कानुनी सेवा दिएको छु त्यसैले म देशलाई उन्नतितर्फ अगाडि बढाउन सक्षम छु’ भनेर पेसा, व्यवसायअनुरूपका तर्क पेस गर्छन् ।

हामीकहाँचाहिँ सत्ता प्राप्तिका लागि मैले यति अपराध गरेँ, यति मान्छेलाई बेघरबार बनाएँ, यतिको हत्या गरेँ भनेर प्रमाण पेस गर्ने अवस्थामा कतिपय राजनीतिकर्मी छन् । ‘वर्षौंदेखि खालीखुट्टा राजनीति गरिरहेको छु’ भनेर कसैले भनिरहँदा यहाँ ‘तपाईं आफूले त आफँैले किनेर खुट्टामा जुत्ता लाउन सक्नुभएको रहेनछ, हामीलाई कसरी समृद्धितर्फ लानुहोला त ?’ भनेर प्रश्न गरिँदैन । प्रजातन्त्रका लागि जेल बस्दाको कथा अर्कै थियो, अबको कथा फरक हुनुपर्छ । धान रोप्दा राम्रो धान फलाएको मान्छे, पत्रकारिता गर्दा सकारात्मक रूपमा नाम कमाएको मान्छे, वकिल हुँदा अपराधीको मुद्दा नहेरेको र अन्यायमा परेकालाई न्याय दिलाएको मान्छे, ठेकेदार हुँदा जेको ठेक्कापट्टा गरेको छ त्यसमा मुलुक या कुनै कम्पनीलाई नमारेको मान्छे यस्तै–यस्तै नै आउने हो अब राजनीतिमा ।

व्यवसायमा भएको मान्छेले कम्तीमा हातमुख जोड्नकै लागि भनसुनवाला राजनीतिको सहारा लिनुपर्दैन । त्यसैले म पहिला यस्तो व्यवसायमा संलग्न थिएँ या अब राजनीतिक जिम्मेवारीपछि यस्तो काम गर्न हुन्छ होला र ? भनेर आफूले विगतमा गर्दै आएका सानातिना काम गर्न हिचकिचाउनुपर्ने कुनै कारण छैन । हामीकहाँ यत्तिका धेरै युवा विदेश पलायन हुनुमा कामप्रतिको मूल्यमान्यता पनि एउटा प्रमुख कारण हो । शीर्षस्थ भनिएका नेताको त कामप्रतिको मान्यता त्यस्तो छ भने अरूको हुँदा अचम्म मान्नुपर्ने कारण पनि देखिँदैन ।

पुराना राजनीतिकर्मीले भाषणमा एक–अर्कालाई गालीगलौज गरेर माहोल नै नकारात्मक बनाएको सुन्दासुन्दा थाकेका नेपाली जनताले नयाँ राजनीतिकर्मीबाट एक–अर्कालाई हिलोको सट्टा पानी छ्याप्लान् भन्ने अपेक्षा गरेका थिए । तर, आफू अग्लिनका लागि अरूलाई होचो देखाउने प्रवृत्तिबाट उनीहरू पनि मुक्त देखिएनन् । नेकपा एमालेका नवनेता नवराज सिलवालले आफ्ना प्रतिद्वन्द्वी उदयशमशेरलाई गरेको गालीको सगौरव सेयर गरिएको भिडियो हेर्दा ‘कठै ! एउटा जिन्दगी बाँच्न मान्छेले के–के गर्नुपर्छ’ जस्तो लाग्यो । उक्त भिडियोमा आएका कमेन्टहरू हेर्दा नेपाली नयाँ पुस्ता गालीगलौज र नकारात्मक कुराबाट प्रभावित हुन छोडेछन् भन्न सकिन्छ । सामाजिक सञ्जालमा सक्रिय बढी युवा पुस्ता नै हुने भएकाले नयाँ पुस्ता भनिएको हो । मेरो कारणले उदयशमशेर चर्चित भए भन्ने उहाँको भनाइलाई उदयको ठाउँमा अरू जोसुकै मानिसको नाम लिएको भए पनि मन पराइने थिएन ।

धेरैजसो मानिसलाई आफूप्रति प्रायः भ्रम हुन्छ, दार्शनिक सोच पनि भएका कारण सिलवाललाई आफैँप्रति त्यति ठूलो भ्रम होला भन्ने ठानिएको थिएन । व्यक्तिगत गालीगलौज जसले जसलाई गरे पनि त्यो सही होइन । राजनीतिमा नवप्रवेशी ब्यवसायिक ब्यक्तित्वबाट सकारात्मक अभिब्यक्तिको अपेक्षा गरिनु स्वभाविक नै हो । उहाँजस्ता नव–राजनीतिकर्मीबाट राजनीतिमा भइरहेका नकारात्मक प्रवृत्ति अन्त्यको अपेक्षा गरिन्छ न कि पुनरावृत्ति । ब्यक्तिगत गालीगलौज जसले जसलाई गरे पनि त्यो सही होइन ।

झापामा विश्वप्रकाश शर्मा, राजेन्द्र लिङ्देन र कास्कीमा रवीन्द्र अधिकारीले अहिलेसम्म आफ्ना प्रतिस्पर्धीलाई ‘लौन के बोलेको होला यस्तो’ भनेर मन नै चिसो हुने गरी गालीगलौज गरेको सुनिएको छैन । चुनाव आउन अझै केही दिन बाँकी छ, आशा गरौँ उहाँहरूले प्रतिस्पर्धीलाई हिलो होइन पानी मात्रै छ्यापेको सुन्न पाइयोस् । प्रतिस्पर्धा हो, आफू जित्नलाई तर्कहरूको आवश्यकता पर्छ । तर्क दिँदा म चर्चित भएकाले कसैको नाम आयो भनेर रवीन्द्र मिश्रबाट पनि नसुनियोस् । कसैलाई व्यक्तिगत रूपमा गाली नगरी आफ्ना योजना, सपना र कार्यक्रमबारे बताएरै जनताको मन जित्न सकिन्छ । सपनाको कुनै सीमा हुँदैन, देख्न पनि सकिन्छ, देखाउन पनि सकिन्छ, तर ती सपनाहरू आफू सम्बन्धित ठाउँमा पुगेपछि पूरा गर्न नसके पनि थालनीसम्म गर्न सक्ने प्रकारका हुनुपर्छ ।

नेताहरू मुलुक र जनताप्रति संवेदनशील हुनुपर्नेमा ‘इगो सेन्सेटिभ’ बढी देखिन्छन् । आफूले आफैँलाई ‘म त यस्तो पो त’ भन्नु र अरूले ‘उहाँ त यस्तो पो त’ भनिदिनुबीचको दूरी निकै गहिरो छ । कम्तीमा नयाँ पुस्ताले गालीगलौजको राजनीतिबाट मुक्त हुनुपर्छ । मपाईं प्रवृत्तिको अन्त्य पनि शायद आवश्यक छ । कुनै पनि मानिसले म यस्तो, म उस्तो भनिरहनै पर्दैन, उसले बोल्ने भाषा, प्रयोग गर्ने शब्द र व्यवहारबाट ऊ कस्तो भन्ने थाहा भइहाल्छ । अहिले नेताका चुनावी भाषणबाट जनताले ‘को कस्तो होे’ मूल्याङ्कन गरिरहेका छन् । साथीभाइ र निकटवर्तीहरू नै चकित पर्ने गरेर गालीगलौज गर्दा नकारात्मक सोचबाट ग्रसित नेताले यो मुलुकमा के सकारात्मक परिवर्तन गर्लान् र ? भन्ने अर्थ लाग्छ ।

नकारात्मक कुरा सुन्दा र अनेकौँ नकारात्मक परिस्थिति भोग्दाभोग्दा मानिस दिक्क भएका छन् । नेताहरूबाट कामको कुरा त पछि नै होला कम्तीमा भाषणमा त सकारात्मक कुरा सुनियोस् भन्ने चाहना छ । कुनै बेला थियो, अरूलाई गालीगलौज गर्दा मानिस यसले ठीक पा¥यो भन्ने प्रतिक्रिया दिन्थे । तर, अहिलेको पुस्ता अरूलाई गाली गर्दा आफूले प्रशंसा पाइन्छ भन्ने मान्यता राख्दैन । चुनावी अभियानमा स्वाभाविक रूपमा प्रतिस्पर्धीको प्रशंसा कसैले गर्दैन, तर अनावश्यक गाली गर्नु पनि जरुरी छैन । आफू अग्लिन र फैलिनका लागि आकाश अग्लो मात्र होइन फराकिलो पनि त्यतिकै छ, त्यसैले आफू माथि पुग्नका लागि कसैलाई तल झारिरहनै पर्दैन ।