एटीएम कार्डका डाटाहरु असुरक्षित !

एटीएम कार्डका डाटाहरु असुरक्षित !


नेपाली बैंकका एटीएम कार्डका डाटाहरु असुरक्षित बन्दै गएको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको अनुसन्धानमा नेपाली बैंकका एटीएम कार्डका डाटाहरु असुरक्षित बन्दै गएको फेला परेको हो ।

हालै मात्र ठमेलबाट सीआईबीले बुल्गेरियन नागरिक भिटालिया भ्यासिलिभिच नेकिटलाई पक्राउ गरेको छ ।
उनी एटीएम प्रयोगकर्ताको गोप्य डाटा अनधिकृत रुपमा चोर्न प्रयोग हुने कार्ड स्किमर मेसिनसहित पक्राउ परे ।

दुई महिना यता एटीएम मेसिनबाट विभिन्न प्रविधि प्रयोग गरेर अनधिकृत रुपमा रकम निकाल्ने गिरोहका सदस्य पक्राउ परेको यो तेस्रो घटना रहेको प्रहरीको दाबी छ । कात्तिक १४ गते नेपाल आएका भिटालियाले कति एटीएम प्रयोगकर्ताको डाटा अनधिकृत रुपमा हात पारेका छन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनले एकै दिनमा सयौं एटीएम प्रयोगकर्ताको कोड नम्बर हात पारेका हुन सक्छन् ।

ठमेलको डिस्कभरी होटलको उनी बसेको कोठा छापा मारेर प्रहरीले ग्लोबल आईएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटीएम मेसिनबाट रकम निकालेका ३ थान स्लिप, विद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न ५ थान औजारसमेत बरामद गरेको बताइन्छ ।

पछिल्ला वर्षहरूमा पूर्वी युरोपेली देशका ह्याकरहरू नेपालमा पर्यटकको भेषमा आउने र कमजोर सुरक्षा प्रणालीसहितका नेपाली एटीएम मेसिनबाट प्रयोगकर्ताको एटीएम कार्डको पिन नम्बर र अन्य कोड नम्बर चोरी गरी रकम निकाल्ने गरेका घटना बढेको प्रहरी बताउछ ।

सिआईबीका अनुसार यस्तो कार्यमा विदेशी मुलुकका नागरिकको बढी संलग्नता देखिने गरेको छ । प्रहरीका अनुसार हालसम्म केन्द्रिय अनुसन्धान व्यूरोले ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतीय गरी जम्मा १८ जना विदेशी नागरिकहरु पक्राउ गरेको छ ।

निजहरुबाट हालसम्म नेपाली ८८ लाख ६८ हजार ८५० , अमेरिकी डलर ७३ हजार ५ सय ८०, युरो ६४ हजार १ सय ७५ र विभिन्न एटीएम १ हजार ३ सय २६ थान बरामद गरिएको छ ।यसले गर्दा बैंकहरुलाई उच्च सर्तकता अप्नाउन सीआईबीले सुझाव दिएको छ ।