बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार

बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार


बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले जनाएको छ । गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु भएको उनीहरुमाथिको हिंसाका कारण देश छोडेर भाग्ने शरणार्थीको संख्या ६ लाख नाघेको हो ।

उनीहरु बंगलादेशको कोक्स् बजारमा बसोबास गरिरहेका छन् । बंगलादेश सरकारले उनीहरुलाई सो क्षेत्रमा शरणार्थी शिवीरहरु बनाइदिएको सिन्ह्वाले जनाएको छ ।

शुक्रबार जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा आइओएमका प्रवक्ता जोल मिलम्यानले ती शरणार्थीहरुको अवस्था भने अत्यन्तै कष्टकर रहेको जानकारी दिए ।

निकै साँघुरो ठाउमा उनीहरुलाई राखिएको, आवश्यक मात्रामा आधारभूत आवश्यकताको पनि उनीहरुमा आपूर्ति हुन नसकेको, उनीहरुको संख्या धेरै भएका कारण जनघनत्व बढीहुदा निकै कठिन भएको र सडक र बिजुलीको पनि आवश्यक प्रबन्ध हुन नसकेकोले गर्दा उनीहरुलाई गाह्रो भएको उनले जनाए ।

बालबालिकाका लागि संयुक्त राष्ट्रसंघ र बंगलादेश सरकारले बालबालिकालाई खोप कार्यक्रम सञ्चालन गर्ने भएका छन् । प्राप्त समाचारअनुसार शरणार्थी बालबालिकाको अवस्था दिनप्रतिदिन कष्टकर बन्दै गएको तथा उनीहरुलाई खोप तथा औषधि उपचारको व्यवस्था पनि नरहेकोले बताइएको थियो ।

पछिल्लो समयमा यहाँका बालबालिका निमोनिया र झाडापखालाले ग्रसित भएका समाचार आएको थियो । बालबालिकाको अवस्था सुधारका लागि भन्दै संयुक्त राष्ट्रसंघीय बालकोष र बंगलादेश सरकारले दादुराको खोप दिने व्यवस्था गराएको बताइएको छ ।