चीनलाई खुशी पार्दै अमेरिका

चीनलाई खुशी पार्दै अमेरिका


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकको हितका निम्ति कुनै देशले अर्को देशसँग फाइदा लिनुलाई खराब भन्न नमिल्ने अभिव्यक्ति दिएका छन् । बहुचर्चित चीन भ्रमणको दोस्रो तथा अन्तिम दिन आफ्नो सम्मानमा चिनिया राष्ट्रपति सी चिनपिङले दिएको पार्टीमा प्रफुल्ल मुद्रामा सहभागी भएका राष्ट्रपति ट्रम्पले व्यापारमा चीनले गरेको नाफा आफू र आफ्ना नागरिकको हितार्थ हुनाले यसमा चीनको कुनै दोष नभएको रोचक अभिव्यक्ति दिए ।

अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रताको प्रसंशा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘हामीबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत बन्दै जानेछ ।’ अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पसमेत सहभागी उक्त भब्य भोज विहिबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजना गरिएको थियो ।

चिनियाँ परम्परागत शैलीका सामग्रीले सजाइएको गोल्डेन हलमा भएको भोजमा राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई ‘टोस्ट’ दिँदै चीनको पछिल्लो प्रगतिको खुलेर प्रशंसा गरे ।

चिनियाँ राष्ट्रपति सीले पनि आफ्ना अमेरिकी समकक्षीलाई टोस्ट दिँदै चीन र अमेरिकाबीचको सम्बन्ध आजका दिनसम्म आइपुग्दा निकै मित्रवत बनेको बताए ।

सो अवसरमा अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले “चीनसँग व्यापार सम्झौताका विषयमा भएका छलफलले दुई मुलुकबीचको भिन्नतालाई निकै साँघुर्याइदिएको उल्लेख गरे ।

तथापि, आफ्नो चीन भ्रमणकै दौरानमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीच असमान व्यापार अभ्यास भइरहेको र यसले अमेरिकाले चीनसँगे व्यापार घाटा व्यहोर्नूपरेको बताएका थिए । तर व्यापारमा चीनले गरेको नाफाबारे धेरैलाई अचम्म पार्दै ट्रम्पले त्यसमा चीन दोषी नभएको तर्क गरेर चीनलाई खुशी पार्ने प्रयत्न गरे ।

तस्बिर : सिन्ह्वा