कोही छ हामीभन्दा ठूलो आशावादी ?

कोही छ हामीभन्दा ठूलो आशावादी ?


  • सुशील देवकोटा

भनिन्छ, मानिस निराशावादी हुनुहुँदैन । निराशावादी मानिस कहिले पनि खुसी वा सुखी हुँदैन, निराशा बढ्दै जाँदा मानिस ‘डिप्रेसन’को अवस्थामा पुग्छ र आत्महत्यासमेत गर्न सक्छ । त्यसैले मानिस सधैँ आशावादी हुनुपर्छ । यो भनाइमा कत्तिको सत्यता छ त्यसको व्याख्या मनोवैज्ञानिकहरूले राम्रोसँग गर्न सक्लान् । तर, योचाहिँ पक्कै भन्न सकिन्छ कि यदि यही भनाइ नै सम्पूर्ण रूपमा सत्य हो भनेचाहिँ नेपालमा आत्महत्याको दर निकै कम हुनुपर्ने हो, लगभग शून्य नै हुनुपर्ने हो । किनभने, हामी नेपालीभन्दा धेरै आशावादी धर्तीमा सायदै अरू कोही होलान् ।

०४६ सालको राजनीतिक परिवर्तनपछिको यो २७-२८ वर्षसम्म हामीले जम्मा एउटा काम गरेका छौँ, त्यो हो- हाम्रा नेता सुध्रिने र देशले सकारात्मक काँचुली फेर्ने आस । यही आसमा जुन नेताले जे भन्यो हामीले त्यही गऱ्यौं। उनीहरूले सडकमा उतार्दा उत्रियौँ, नारा लगा भन्दा घोक्रो सुक्ने गरी करायौँ, बन्दुक बोकेर आतङ्ककारी बनेर निर्दोष मान्छेको हत्या गर भन्दा त्यो पनि गऱ्यौं। यो सबै हामीले आशामा डबेर नै गरेका हौँ । अब यसो गरेपछि देश बन्छ, अब यति गरेपछि जनताले सुुख पाउँछन् भनेर हामीलाई सपना बाँडियो र हामीले पनि त्यही सपना पूरा हुुने आसमा नेताले जसो-जसो भने त्यसै गऱ्यौं, तिनको हुकुमको दास जसरी । परिणाम के आयो त ? तैपनि हामी ती नेताहरूबाट आश गर्छौं भने हामीभन्दा धेरै आशावादी को होला त ?

आफ्नै देशमा पराईजस्तो भएका छन् नेपाली । नेपालमै जिन्दगी बिताउनुपर्ला कि भन्ने त्रासमा छन् नेपाली युुवा र तिनका अभिभावकहरू । नेपालका नेताको विगत र वर्तमानको आर्थिक अवस्थामा बाहेक कुनै क्षेत्र यस्तो छैन जसलाई हेरेर सन्तोष गर्न सकियोस् र भन्न सकियोस् कि हो, यो क्षेत्रमा त प्रगति भएको छ नि । राजनीति नेपालमा नाफामूलक व्यवसाय बनेको छ । जो राजनीतिमा लागेका छन् वा जसले जति माथिसम्म पार्टीको झन्डा उचालेका छन् उनीहरूका लागि सबैथोक छ नेपालमा । रोजगारी, विकास, उन्नति, सुरक्षा आदि त्यति घेरामै सीमित भएको छ । साधारण जनताको भागमा छ केवल आश्वासन !

आश्वासन पनि त्यस्ता कुरा पाउनका लागि जुुन एउटा स्वतन्त्र देशको नागरिकको नैसर्गिक अधिकार हो । स्वास्थ्य र शिक्षा पाउनु नागरिकको नैसर्गिक अधिकार हो । तर, हाम्रो देशमा ‘सबैका लागि शिक्षा, सबैका लागि स्वास्थ्य’ भन्ने नारा घन्किन थालेको धेरै वर्ष भइसक्यो, तर आज पनि यी दुबै चिज सामान्य नेपाली नागरिकको पहुँचभन्दा धेरै टाढा छन् । सहरबजारमा स्वास्थ्य र शिक्षालाई सेवा होइन नाफामूूलक व्यापार बनाइएकोले यी सेवाहरू सामान्य नागरिकको पहुँचबाट टाढा पुगेका हुन् भने गाउँमा त अझै पनि सिटामोलसमेत नपाइने अवस्था छँदै छ ।

यी अत्यावश्यक सेवालाई व्यापारीकरण गरिएको के हाम्रा नेताहरू र तिनका झण्डा बोक्नेहरूलाई थाहा छैन होला त ? अवश्य थाहा छ, तर उनीहरूको मुखमा कमिसनको बुजो यसरी कोचिएको छ कि न उनीहरूले गरिबका छोराछोरीले उचित शिक्षाको अभावमा पछाडि पर्दै गएको देख्छन् न स्वास्थ्य सेवाको अभावमा अकालमा मरिरहेको देख्छन् । कमिसनको पट्टीले नेताहरूको आँखा, कान र मुख सबै टालिएको छ । उनीहरू गरिब जनताको न दुःख देख्छन् न सुन्छन् न न्यायका लागि बोल्छन् । पिउने पानीसमेत यथेष्ट मात्रामा दिन नसक्नेहरूले हामी देश विकास गर्छौं, हामी तपाईंको सुनौलो भविष्य लेख्छौँ भनेर आश्वासन दिँदासमेत हामी पत्याउँछौं र साँच्चै त्यसो गर्छन् भनेर अझै पनि विश्वास गर्छौं भने हामीभन्दा ठूलो आशावादी को होला त अरू ?

चुनावको बेलामा हाम्रा नेताहरू बडो सिर्जनशील हुन्छन् । नयाँ-नयाँ नारा र आश्वासनका पुलिन्दाहरू उनीहरू यसरी सिर्जना गर्छन् कि लाग्छ विकसित देशका नेताहरूले पनि हाम्रा नेताबाट पो सिक्नुपर्छ त देश विकासको योजना कसरी कोर्ने भन्ने त ! अनि चुनावको बेलामा त झन् आश्वासनका ठेलीहरू जनतालाई यसरी बाँडिन्छ कि लाग्छ- ओहो ! यो चुनाव नभएर पो रै’छ त, यो चुनावपछि त हाम्रो देशको पनि कायापलट नै हुने रै’छ नि । तर, नतिजा ? उही निराशा, उही अभाव र उही अस्तव्यस्तता भोग्नुपर्छ हामीले अनि देख्नुपर्छ नेताहरूको सत्ता र कुर्सीका लागि उही लुछाचुँडी, उही हानाथाप । हामीलाई देखाउन र सुनाउन प्रत्यक्षमा एक-अर्कालाई सत्तोसराप गर्छन् आरोप-प्रत्यारोप गर्छन् । तर, यथार्थमा सबै मिल्छन् र लाज पचाएर गरिएको भ्रष्टाचारले नेताले फेरि अर्को बंगला खडा गर्छन्, फेरि नेताहरू चिल्ला गाडीमा हाम्रो आँखाअगाडिबाट हुँइकिएर जान्छन् र हामी तिनको गाडीले उडाएको धुलोमा आफ्नो भविष्य उडेको हेर्न विवश हुन्छौँ । फेरि पनि हामी आशा गर्छौं तिनै नेताहरूले हाम्रो भविष्य बनाउँछन्, हाम्रो देश बनाउँछन् भने हामीभन्दा आशावादी को त ?

देशमा रोजगारीको समस्या विकराल रूपमा छ । हाम्रा सन्तान रहरले होइन बाध्यताले खाडी मुलुकको सहनै नसकिने गर्मीमा गएर काम गर्न विवश छन् । कतिपयले आफ्नो युवा अवस्थाको जोस र जाँगर त्यही गर्मीमा पगालेर थिलथिलो शरीर लिएर फर्केका छन् भने कतिपय त बाकसमा बन्द भएर आएका छन् । तर, हाम्रा नेताहरू आजसम्म रोजगारी उपलब्ध गराउने आश्वासन बाँड्नबाट थाकेका छैनन् । संविधानमा ट्रेड युनियन खोल्ने अधिकार दिएर नयाँ रोजगारी सिर्जना हुने अवस्थामा अङ्कुश लगाउनेहरूले दिएको रोजगारीको आश्वासनमा समेत हामी सहजै विश्वास गर्छौं । रोजगारीको आश्वासन जनतालाई बाँड्छन्, जनताको जीवनस्तर उकास्ने भरोसा दिन्छन् र भत्ता र सुविधा आफ्नो बढाउँछन् । तैपनि हामी आशा गर्छौं कि यिनै नेताहरूले हाम्रो उत्थान गर्छन् हाम्रो देश बनाउँछन् भने हामीभन्दा ठूलो आशावादी को ?

भनिन्छ, हरेक कुराको एउटा सीमा हुन्छ । हाम्रो धैर्यताको पनि हाम्रो आशाको पनि कुनै सीमा त अवश्य होला नि । एक दिन त हामीले पनि पक्कै यो बुझौँला नि यी नेताहरूले हामीलाई केवल आश्वासन मात्रै बाँड्छन् । यिनीहरूलाई देश र जनताको कुनै माया छैन । यिनीहरू देश विकासको नाममा आफ्नो विकास गर्दै हामीलाई अरू देशको गुलाम बनाएर आफ्नै देशमा दोस्रो दर्जाको नागरिक बनाउनेतर्फ अग्रसर छन् । जुन दिन हामीले यो बुझ्छौँ त्यस दिन यी नेताहरूसँग हाम्रो मोहभङ्ग हुनेछ र देश यथार्थमा राष्ट्रभक्तहरूको हातमा जानेछ । कतै त्यो दिन अब आउन लागेको चुनावको दिन त होइन ? आशा गरौँ यही चुनाव नै त्यो दिन हो । आखिर हामीभन्दा ठूलो आशावादी अरू को होला र ?