अरुण तेस्रोमा झल्किएको एमालेको राष्ट्रवाद

अरुण तेस्रोमा झल्किएको एमालेको राष्ट्रवाद


– इन्द्रबहादुर बराल

केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सीधासाधा नागरिकसमक्ष घोर भ्रम छरेर आफ्नो वर्चश्व कायम गराउन सफल भएको सबैले महसुस गरेकै विषय हो । नेकपा एमालेको नक्कली नै किन नहोस्, राष्ट्रवादीजस्तै देखियो । नेपाली काङ्ग्रेसले त्यो खोक्रो राष्ट्रवादलाई उदाङ्ग पार्न नसक्दा स्थानीय तहमा केही कमजोर अवश्य देखिन पुग्यो ।

यसर्थ, आसन्न निर्वाचन (प्रतिनिधि र प्रदेश सभा) मा मूल रूपमा आफ्नो नीति तथा कार्यक्रमका अतिरिक्त नेकपा एमालेको नक्कली राष्ट्रवादको पर्दा उघारेर नाङ्गै बनाउन सक्नुपर्छ । नेपालका कम्युनिस्टहरू विशेष गरेर राजनीतिक व्याधा बनेर लोकतन्त्रको मूल मर्म र भावनामाथि षड्यन्त्रमूलक ढङ्गले प्रहार गर्दै छन् । राजनीतिमा जे गरे पनि हुन्छ भन्ने मान्यता बोकेका नेकपा एमाले र माओवादी केन्द्रको लोकतन्त्रप्रतिको भक्ति ‘बकुल्लाभक्ति’ नै हो, माछा पाएपछि जसरी बकुल्ला भक्ति टुट्छ त्यसैगरी उनीहरूको लोकतन्त्रप्रतिको प्रतिबद्धता कुनै पनि बेला टुट्न सक्ने छनक देखिइसकेको छ । वास्तवमा एमालेको राष्ट्रवाद सक्कली वा नक्कली के हो भनी चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

नेपालको विकास प्रयासमा छिमेकी मित्रराष्ट्र चीन र भारतको विशेष योगदान छ । राणाहरूको १०४ वर्षे जहानियाँतन्त्र र तीसवर्षे पञ्चायती निरङ्कुशतन्त्र टिकाउन मुलुकलाई आर्थिक र सामाजिक अवस्थामा जर्जर बनाइयो । जनआन्दोलन ०४६ पछि प्रजातन्त्रको पुनस्र्थापनासँगै विकासका ढोका बिस्तारै खुल्दै गए । तथापि, मुलुकमा पर्याप्त उद्योग–धन्दा, कलकारखानाको अभावमा यहाँका होनाहार र ऊर्जाशील युवाहरू विदेशीको दर्बानीमा पठाउनुको विकल्प रहेन र धेरै नेपाली युवाले बिदेसिनुपऱ्यो । ती ऊर्जाशील जनशक्तिलाई रोक्न सकेको भए सम्भवतः देशको राष्ट्रिय उत्पादकत्व अभिवृद्धि गर्न सकिन्थ्यो होला । त्यसका लागि नेपाली काङ्ग्रेसको सरकारले सुरु गरेको उदार र खुला अर्थनीति आवश्यक थियो र काङ्ग्रेसको सरकारले विदेशी लगानीकर्तालाई उद्योग–धन्दामा लगानी गर्न आह्वान गर्दै आवश्यक नीति निर्माणसमेत गरेको थियो ।

पुनस्र्थापित बहुलवादमा आधारित बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई स्थायित्व दिन आर्थिक समृद्धि आवश्यक सर्त थियो । त्यही आर्थिक समृद्धिको ढोका खोल्न आवश्यक पर्ने ऊर्जा उत्पादनमा काङ्ग्रेसले जोड दियो । त्यहीअनुरूप पूर्वीनेपालको अरुण तेस्रो जलविद्युत् आयोजना उत्पादन तथा सञ्चालन गर्न अर्जुनदृष्टिका साथ नेपाली काङ्ग्रेस लागिपऱ्यो । ०५४-५६ तिर हुनुपर्छ, उक्त ४ सय मेघावाटको अरुण तेस्रोमा आर्थिक सहयोगका लागि विश्वबैंकसँग सम्झौता भई अरुण उपत्यकामा पुग्ने प्रवेश मार्गसमेत बनिसकेको अवस्थामा नेकपा एमालेले अवरोध खडा गऱ्यो । अवरोध पनि यसरी गऱ्यो कि आर्थिक सहयोग गर्ने विश्व बैंकसमक्ष सीधै पत्राचार गरी सहयोग रोक्न आग्रह गऱ्यो ।

कुनै मुलुकको जिम्मेवार प्रतिपक्षी दलले नै यस्तो आग्रह गरेपछि विश्वबैंक झस्कियो र लगानीबाट हात झिक्यो । यसपछि नेपालीको अँध्यारा दिन प्रारम्भ भए । यस प्रकरणलाई राणाशाहीसँग जोडेर हेर्दा के भिन्नता पाइन्छ भने राणाले जनताका छोराछोरी पढे भने टाठाबाठा हुन्छन् र अधिकार खोज्छन् अनि आफ्नो हुकुमी शासन खोसिन्छ भन्ने चिन्ता गर्दथे भने नेकपा एमालेले चाहिँ अरुण तेस्रोजस्ता विराट् जलविद्युत् आयोजनाबाट सिङ्गै नेपाल झिलिमिली हुने भयो भन्ने कुरामा चिन्ताग्रस्त भएर आयोजनाको गला निमोठ्ने काम गऱ्यो । नेकपा एमालेले त्यसरी गरेको अवरोधका कारण रोकिन गएको अरुण तेस्रो आयोजनाको सूक्ष्म विश्लेषण गर्दा उक्त आयोजना रोकेर नेकपा एमालेले गम्भीर राष्ट्रघात गरेको ठहर गर्न कुनै अदालतको बाटो हेर्नैपर्दैन ।

ऊर्जाको अभावमा आज कैयौँ उद्योगधन्दा तथा कलकारखाना चल्न सकेका छैनन् । धेरै राष्ट्रिय उद्योगहरू ऊर्जासङ्कटले चल्न नसक्दा हाम्रा होनाहार युवाहरू बिदेसिनुपरेको छ । महँगोमा बिजुली खरिद गरेर न्यूनतम आवश्यकता पूर्ति गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसरी देशमा ऊर्जासङ्कट गराउन षड्यन्त्र गर्ने पार्टी कसरी राष्ट्रवादी भयो ? ठण्डा दिमागले सोच्नुपर्ने बेला आएको छ ।

राष्ट्रियता र राष्ट्रवादको शब्दजालले मात्र न राष्ट्रियता बलियो हुन्छ न असली राष्ट्रवादी नै बन्न सकिन्छ । नेकपा एमालेको राष्ट्रवाद अवसरवादी युद्ध कवज मात्रै हो । ऊर्जासङ्कट टार्न अरुण तेस्रो जलविद्युत् आयोजना सञ्चालन गर्ने नेपाली काङ्ग्रेस राष्ट्रघाती हुने, आयोजना तुहाउने एमालेचाहिँ राष्ट्रवादी कहलिने, यो कस्तो विडम्बना ! त्यसैले नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले नेकपा एमालेले गरेको ठाडो राष्ट्रघातको पर्दाफास गर्नैपर्ने देखिन्छ । अरुण तेस्रो आयोजना तुहाएर नेपाली जनतालाई उज्यालोबाट वञ्चित गराउने पार्टी कदापि राष्ट्रवादी बन्न सक्दैन । यो सन्देश सम्पूर्ण नेपालीसमक्ष पु¥याउनु नेपाली काङ्ग्रेसको जिम्मेवारी पनि हो । छिमेकी राष्ट्र चीन र भारत हाम्रा अत्यन्त निकटस्थ सहयोगी हुन् । यद्यपि युरोप र अमेरिकाको पनि त्यत्तिकै सहयोग प्राप्त भइराखेको छ । यसका अलावा उत्तर–दक्षिण छिमेकीहरू उदीयमान महाशक्ति मित्रराष्ट्र पनि हुन् । यी दुईबीच एक–अर्काप्रति कार्ड देखाएर खेल्ने बानी नेपाली नेता तथा दलहरूले अब त्याग्नुपर्छ । र, एमालेको शब्दजालको भ्रम तोड्दै काङ्ग्रेस अघि बढ्नुको विकल्प छैन ।

नेकपा एमालेको अर्को राष्ट्रघात महाकाली सन्धिमा पनि देखिएकै हो । महाकाली सन्धि गर्दा जताततै राष्ट्रघात देखेर मुलुकभर बबन्डर मच्चाउने अनि संसद्मा राति ३ बजेसम्म घुँडोमा मुन्टो जोतेर खुरुक्क अनुमोदन गर्ने, कस्तो राष्ट्रवाद हो ? काङ्ग्रेसले राष्ट्रघात गरेको आरोप लगाएर राष्ट्रका कैयौँ भौतिक संरचना ध्वस्त पार्ने एमालेले आफूले अनुमोदन गरेपश्चात् फेरि त्यही राष्ट्रघातलाई राष्ट्रहित देख्ने नेकपा एमालेले यसका लागि जनतासँग माफी माग्नु नपर्ने कस्तो राजनीति ? के भारतको विरोध गर्नु मात्रै राष्ट्रवाद हो ? के मधेस र मधेसी जनताको भावनामा चोट पु¥याउनु नै राष्ट्रवाद हो त ?

वास्तवमा राष्ट्रियता भनेको भूगोल, त्यस भूगोलमा बस्ने नागरिक, त्यहाँका प्राकृतिक स्रोत–साधन, धर्म–संस्कृति आदिको सम्मिश्रणयुक्त भावना नै राष्ट्रियता हो । त्यही दृष्टिकोण र विचारप्रति प्रतिबद्ध हुनु राष्ट्रवाद हो । बहसका क्रममा राष्ट्रियता र राष्ट्रवादका बारेमा अझै माझिँदै जाने पनि छन् । तसर्थ, मुलुककै पहिलो नम्बरको पार्टी बन्ने हाँक राख्नेले अझै गम्भीर र जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने हो । खबरदार ! एकदलीय अधिनायकवाद जगाउन षड्यन्त्र गर्नेहरूबाट समयमै बचौँ । कम्युनिस्ट अधिनायकवादको चक्रब्युहबाट लोकतन्त्रलाई जोगाउन नचुकौँ ।