देवीको फोटो सेसन र रेणुका चुनौती

देवीको फोटो सेसन र रेणुका चुनौती


– बबिता बस्नेत

धेरै वर्षपछि भएको स्थानीय निर्वाचनमा मेयर, उपमेयर, प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यलगायतका धेरै पदमा मानिस उठे । राजनीतिकर्मी मात्रै नभएर राजनीतिको नामै नसुनेका या राजनीतिबाट बेखबर मानिस पनि जनप्रतिनिधि बने । तर, भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको जति चर्चा कसैको भएन । देवी ज्ञवालीलाई नचिन्नेहरू धेरैले सुरुमा महिला भनेर चिने । राजधानीका ठूला साइजका दैनिक अखबारहरूले समेत देवी ज्ञवाली एमालेकी उम्मेदवार हुन् भनेर लेखे । कतिपय महिला पुरुषका नामले चर्चामा आउँथे, देवी महिलाका नाममा चर्चित बने । आफ्नै नामका कारणभन्दा बढी मेयर पदकी आफ्नै प्रतिस्पर्धी उम्मेदवार रेणु दाहालका कारण उनी चर्चामा आए । रेणुलाई जसरी पनि चुनाव जिताउनुपर्ने भन्ने चर्चाले देवीमाथिको सहानुभुति ह्वात्तै बढ्यो । घटनाक्रम पनि त्यसैगरी अघि बढ्यो । मतपत्र च्यात्ने कार्यदेखि लिएर अदालतको निर्णयसम्म । सामाजिक सञ्जालमा जे पायो त्यही लेखेको भनी विद्युतीय कारोबार ऐनको प्रयोगसमेत गरियो । निर्वाचनको परिणामसम्म पुग्दा देवी केही थाकेका, निराश र हतास देखिन्थे, साथमा पराजयको पीडा त छँदै थियो । अचम्मै भयो, बलेको आगो ताप्ने नेपाली समाज निभेको आगोतर्फ आकर्षित भयो ।

सरकारमा रहेको दुईवटा पार्टीको संयुक्त उम्मेदवार त्यसमा पनि नेता प्रचण्डकी छोरी र प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम् निर्वाचन क्षेत्रसम्म पुगेर आफ्ना कार्यकर्तालाई रेणुलाई भोट हाल्नका लागि निर्देशन दिएको पृष्ठभूमिले निस्तेज बनाएको देवीलाई हेर्ने दृष्टिकोण बदलियो । सडकमा हिँड्दा सर्वसाधारणले गर्ने नमस्कारमै फरक प¥यो । हात मिलाउनेहरूले गहकिलो किसिमले मिलाए । के एमाले, के काङ्ग्रेस, अन्य दलमा आस्था राख्नेहरू र राजनीतिमा खासै मतलब नराख्नेहरू सबैले हेर्ने दृष्टिकोणमा फरक प¥यो । ‘बिचरा’ शब्द प्रयोग हुने मानिसलाई प्रायः सहानुभूतिले हेरिन्छ, तर उनले सहानुभूतिसँगै इज्जत पनि कमाए । चुनाव हारेपछि उनलाई हेर्ने दृष्टिकोण जित्नेप्रति भन्दा बढी सम्मानित बन्यो । तर, यो सम्मानलाई देवीले लामो समय जोगाएर राख्न सकेनन् । पाएको सम्मानलाई टिकाएर राख्न सक्नु पनि ठूलै कुरा रहेछ । एकपटकको काठमाडांै यात्रा, नेताजीहरूसँगका भेटघाट र उत्साहित मुद्रामा खिचाइएका फोटाले उनलाई हेर्ने दृष्टिकोण ‘हत्तेरी के–के देख्नुपर्ने…, यस्तो पनि हुन्छ…कस्तो अप्ठ्यारो पनि नलागेको…हेर्नै अप्ठ्यारो लाग्यो’ जस्ता प्रतिक्रियामा बदलिए ।

चितवन त्यसै पनि चर्चित नै हो । कहिले के, कहिले के चर्चाहरू भइनै रहन्छन् । अहिले देवी ज्ञवालीकै चर्चा रहेछ । निर्वाचन हारेका उम्मेदवारको यति धेरै चर्चाको कारण नेता प्रचण्ड र उहाँका छोरा प्रकाशसँग काठमाडांैमा भएको भेटघाट, पोस्ट गरिएका फोटोहरू रहेछन् । ‘राजनीतिमा जे पनि हुन्छ, मानियो तर त्यसरी फोटो नै खिचाएर हामीलाई देखाउनुपर्नेचाहिँ थिएन क्या ।’ गत हप्ता चितवनको ग्लोबल होटेलको लबीमा यसरी कुरा गर्दै गरेका युवाहरूलाई यस पङ्क्तिकारले सोधेँ– जो भए पनि एक–अर्कामा मिलेको राम्रै हो नि, त्यसमा पनि पूरै पार्टी मिलिसक्यो, नेताहरू मिलिसके, उहाँ मात्रै नमिलेर के हुन्छ र ? एमालेकै मतदाता रहेछन् । उनीहरूले भने— तपाईंलाई थाहा छैन, चुनावमा हामीले के मात्रै सहेनौँ । माओवादी कार्यकर्ताले हामीलाई गरेको व्यवहार काठमाडांैमा नेताहरूले देखेनन्, उनीहरूलाई ‘फिल’ हुने कुरै भएन । केन्द्रका नेतालाई त भएन–भएन, स्वयम् देवीलाई नभएको देखेर हामीलाई अचम्म लागेको हो । राजनीतिमा जे पनि हुन्छ भन्थे, हो रहेछ, त्यतिबेला देवी कमरेडको आँसु पुछ्ने हामी नै हौँ । अरूले जसोतसो मनोरञ्जन लिए पनि एमालेका कतिपय युवाहरूलाई असैह्य भएको रहेछ ।

भरतपुर महानगरपालिकाको मेयरमा काङ्ग्रेसको पकड भएका कारण काङ्ग्रेसले जित्ने निश्चित थियो । शेरबहादुरले गल्ती नगरेका भए दिनेश कोइराला अहिले त्यहाँका मेयर हुने थिए । माओवादीलाई समर्थन मात्र होइन, हत्ते हालेर जिताएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पदका लागि क्षणिक भावुकतामा बगेको ठान्नेहरू धेरै रहेछन् । ‘नेताको निर्णयको असर उनीहरूलाई मात्र परे त ठीकै थियो, तर पार्टी सदस्यहरूलाई शिर उठाउनै गाह्रो प¥यो ।’ आफ्नो कुल–खानदान नै पुस्तेनी काङ्ग्रेस रहेको बताउनेहरूको भनाइ यस्तै छ । दश वर्षमा सबैभन्दा बढी काङ्ग्रेसको हत्या गरेर युद्ध जितेको ठान्नेहरूलाई भोट हाल्नुपर्दा कतिपयको आँसु चुहेको थियो रे । पार्टीलाई राम्रै होला भनेर हालिएको भोट अहिले प्रतिपक्षमा गनिँदा दुःख लाग्नु स्वाभाविकै पनि हो ।

महानगरपालिकाको मेयरमा रेणुले जितिन्, एकजना महिला महानगरको शक्तिशाली पदमा पुगिन्, राम्रै भो । उनलाई भोट हालेर जिताउनेहरू धेरैलाई पछिल्लो केन्द्रीय राजनीति जे भए पनि जिविसको चुनावमा कतै रेणुले काङ्ग्रेसलाई भोट हाल्छिन् कि भन्ने झिनो आशा थियो । तर, राजनीतिमा गुन–बैगुन नहुने रहेछ, उनले एमालेलाई भोट दिइन् । जिल्ला समन्वय समितिमा एमालेले जित्दा रेणुको अनुहारमा खुसी देखेर काङ्ग्रेसीहरूको मुहार ओझेल परेझैँ भयो । उनले जित्दा जबर्जस्ती नै सही धपक्क बलेका काङ्ग्रेसी मुहारहरू फुङ्ग उडेका मुहारमा बदलिए । भरतपुरका काङ्ग्रेसीहरूलाई अहिले ठूलो पश्चात्ताप छ, तर गल्ती सच्याउन सक्ने अवस्था छैन । आफैँले भोट हालेर जिताएको मेयरलाई सहयोग गर्ने कि नगर्ने ? महानगरमा जितेका काङ्ग्रेस सदस्यहरूले यसबीचमा अलि अप्ठ्यारो परीक्षा पनि दिनुपर्नेछ । परीक्षाको सुरुवात भइसकेको छ ।

मेयरका रूपमा रेणु दाहालका चुनौती प्रसस्त छन् । महानगरपालिकाको बजेट पास गर्न दिइएको छैन । कात्तिक २० गते नगरपरिषद् बस्नुअघि बजेट पास गरिसक्नुपर्नेछ । बजेट पास हुन नदिनेमा एमाले सदस्यहरू सक्रिय छन् । केही दिनअघि मेयरले काङ्ग्रेसका केही सदस्यलाई बोलाएर मलाई सहयोग गर्नुस् भनिछन् । जवाफमा उनीहरूले सहयोग त के हामीले तपाईंलाई जिताएरै ल्याएका हौँ, वातावरण बनाउने जिम्मा तपाईंको हो भनेछन् । एमालेबाटै सहयोग पाउन गाह्रो भएको उनको गुनासो रहेछ । कसले कसलाई सहयोग गर्ने कसलाई नगर्नेको चक्करमा महानगरमा अहिलेसम्म केही काम हुन सकेको छैन । बजेट पास भएपछि मात्रै काम अघि बढाउने भनेर सबै बजेटतिर केन्द्रित भएका छन् । महानगरमा प्रतिनिधि आएपछि अहिलेसम्म भएको काममा नागरिकतालगायतको सिफारिस र नाता प्रमाणित मात्रै हो । नेपाली राजनीति जे–जस्तो भए पनि नेपाली मनहरू अहिलेसम्म संवेदनशील नै छन् । पाँच वर्षका लागि आफ्नै ठानी आफूले भोट हालेको मान्छेले तीन महिना पनि नपुग्दै प्रतिपक्षीको व्यवहार गरिदिँदा मतदाताको मनमा निकै चोट परेको छ । भरतपुर महानगरपालिकामा जम्मा ८ जना एमाओवादीले जितेका छन् । सम्पूर्ण नगरवासीको मन जित्नु त छँदै छ, ८ माओवादी, ६९ जना काङ्ग्रेस र ७० जना एमाले प्रतिनिधिको नेताको रूपमा समान व्यवहार, सामूहिक हितमा निर्णय तथा समतामूलक सोचबाट अगाडि बढ्नुपर्ने चुनौती पनि मेयर रेणुलाई छ ।