एक उद्यमीका रूपमा परिचय बनाएकी सिङ्गापुरे महिला एन्जेला चेङले दिवंगत राजा वीरेन्द्रको नाममा ‘राजा वीरेन्द्र फाउन्डेसन’ नामक एनजीओ स्थापना गरी सञ्चालनमा ल्याउने समाचार सार्वजनिक भएको छ । सुरुमै ३५ करोड रकम सो फाउन्डेसनलाई सहयोग गर्ने एन्जेलाले बताएबाट ‘केबीएफ’को उद्देश्य लरतरो छैन भन्ने सहजै अनुमान गर्न सकिन्छ । नेपालको शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा काम गरिने उद्देश्य सार्वजनिक गरिएबाट नेपालजस्तो मुलुकका लागि सो फाउन्डेसन उपयोगी नै बन्ने अपेक्षा गर्न सकिन्छ । तर, व्यक्तिगत रूपमा त्यत्रो धनराशि लगाएर सिङ्गापुरकी महिला किन नेपालमा ‘सेवा’ गर्न उद्यत् भइन् भन्ने कुरालेअचाहिँ कुतूहल जन्माएको छ । दिवङ्गत राजा वीरेन्द्रप्रति एन्जेलाको यो आस्था र प्रेम कसरी ? उक्त संस्थाको संरक्षकका रूपमा उनले पूर्वयुवराज पारसका सुपुत्र हृदयेन्द्रलाई प्रस्ताव गरेकी छिन् । यसैगरी सदस्यहरूमा माओवादी नेता डा. बाबुराम भट्टराई, मन्त्री विद्या भण्डारीदेखि उपराष्ट्रपति परमानन्द झासम्मको नाम अगाडि सारिएबाट हामीजस्ता सर्वसाधारणको मनमा गजबको खुल्दुली जन्माएको छ । कमल थापा, आरजु राणा, सेनापति छत्रमान गुरुङ, प्रहरी प्रमुख रमेश चन्द ठकुरीको नाम पनि फउन्डेसनको सम्भावित सदस्यका रूपमा सार्वजनिक गरिएको छ । यी नामहरू देख्दा संस्था कसरी सुचारु होला भन्ने प्रश्न पनि जन्मिएको छ । जे होस्, नेपाली जनताबीच लेकप्रिय राजा वीरेन्द्रको नामबाट नेपालीकै हितमा काम हुनु खुसीकै विषय हो । संस्थाले काम सुरु गर्न नपाउँदै ‘सिङ्गापुरमा पूर्वयुवराजलाई सघाउने महिला’का रूपमा प्रचार गरेर फाउन्डेसनलाई रहस्यमयी तुल्याउने कसरत सुरु भएको पनि देखिएको छ । तर, हरेक कुरालाई रहस्यमयी बनाउन खोज्ने, नकारात्मक रूपमा प्रचार गर्ने र राम्रो कामलाई पनि व्यक्तिविशेषसँग जोडेर औंला ठड्याउने कार्य हामी नेपालीमा एउटा कुसंस्कारकै रूपमा विकसित भएको छ । यस्तो रोगबाट हामी मुक्त हुनैपर्छ । एन्जेलाको संस्था विशुद्ध सामाजिक सेवाका लागि क्रियाशील रहला या अरू नै अमूक उद्देश्यका लागि पनि सक्रिय होला भन्ने सवालमा रुमलिनुभन्दा पनि यसले के-कस्ता काम गर्ला र यसले अघिसार्ने सकारात्मक कदममा हामीले कसरी कदम मिलाउन सक्छौँ भन्ने कुरामा चिन्तन गर्नु उपयुक्त हुन्छ भन्ने हाम्रो ठहर छ ।
– शालिकराम सिग्देल र प्रमोद प्रधान, काठमाडौं
अपराधी सार्वजनिक गरियोस
फरि्पङको हात्तीवन जङ्गलमा नेपाल प्रहरीले हालै ठूलो परिमाणमा चरेस फेलापारेको समाचार सुन्दा प्रहरी सक्रियतालाई साधुवाद भन्न मन लाग्यो । कतै विदेश सप्लाई गर्न लागेको अनुमान गर्न मिल्ने ढङ्गले प्याकिङ गरिएको भनी प्रहरी सूत्रले नै घटना सार्वजनिक गरेबाट त्यो चरेस कुनै ठूलै तस्कर गिरोहले नेपालबाट बाहिर पठाउन खोजेको बुझिन्छ । त्यो अवैध सामान सँगसँगै केही स्थानीय युवाहरूलाई पनि प्रहरीले हिरासतमा लिएको बताइएको थियो । तर, त्यसबारे थप यथार्थ किन सार्वजनिक गरिएन ? हिरासतमा लिइएका व्यक्तिहरूबाट के कुरा खुल्यो ? आखिर त्यो चरेस तस्करीमा को-को संलग्न रहेछन् । यो कुरा प्रहरीले स्पष्ट पारोस्, यसबाट नेपाल प्रहरीको छवि अझ उचो हुनेछ । त्यसरी बरामद गरिएको सामान नष्ट गरिन्छ या कहाँ लगेर बुझाइन्छ ? यसबारे पनि बताइयोस् ।
– सञ्जीव चौधरी, हाल : काठमाडौं
प्रतिक्रिया