राजनीतिक दल कि प्राइभेट कम्पनी ?

राजनीतिक दल कि प्राइभेट कम्पनी ?


– बबिता बस्नेत

परिवार र परिवारका सदस्यको साथ मानिसको जिन्दगीमा निकै महत्वपूर्ण हुन्छ । ‘फेमिली फस्र्ट’ भन्ने भनाइ नै छ । सार्वजनिक जीवनमा मानिसले अनेकौँ प्रकारका सफलता प्राप्त गरे पनि पारिवारिक या व्यक्तिगत जीवनमा ऊ खुसी छैन भने त्यसलाई सफलता नमान्नेहरू पनि छन् । यद्यपि चाह्यो भने मानिस आफैँमा पूर्ण हुन भने सक्छ । परिवार, छोराछोरी, नाता–सम्बन्ध कसैको साथबिना नै महान् बन्ने महामानवहरू यही संसारमा थिए र छन् । तर, त्यो अवस्थासम्म पुग्नका लागि मानिसले कम्तीमा ‘म को हुँ र यो संसारमा मेरो अस्तित्व किन छ ?’ भन्ने अवस्थामा पुग्नु आवश्यक हुन्छ । गौतम बुद्ध, स्वामी विवेकानन्द, महावीर, सद्गुरुलगायतका नामहरू परिवारको साथबिना नै विश्वविख्यात बने ।

सार्वजनिक जीवनमा भएका मानिसले परिवारलाई त्यति समय दिन भ्याउँदैनन् । तर, जतिसुकै व्यस्त भए पनि परिवारलाई समय दिनु सम्बन्धित व्यक्तिको पारिवारिक दायित्वभित्र पर्छ । तर, हामीकहाँ समय दिने, पारिवारका सदस्यको रेखदेख गर्ने मात्र होइन राज्यसत्तालाई नै पारिवारिक बिरासत बनाउने होड चल्दै छ । नेता प्रचण्डले छोरीको पदका लागि शेरबहादुर देउवाको साथ लिनु भो । प्रधानमन्त्री देउवा प्रचण्डसँग एउटै प्लेनमा चढेर रेणु दाहाललाई भोट देऊ भनी आफ्ना कार्यकर्तालाई कन्भिन्स गर्न चितवन पुग्नुभयो । चितवन जाँदा प्लेनमा प्रचण्डपुत्र प्रकाशले खिचेको दुई नेताको फोटो अहिलेसम्म सोसियल मिडियामा ‘हिट’ नै छ । यद्यपि रेणु पहिल्यैदेखि एमाओवादीसँग सम्बद्ध थिइन् । तर, उनको ठाउँमा अरू कुनै कार्यकर्ता मेयरमा उठेका भए प्रचण्ड त्यसरी प्रधानमन्त्रीलाई लिएर पुग्नुहुने थिएन भन्न सकिन्छ । चितवनमा झैँ अरू ठाउँमा पनि चुनावका लागि माओवादी–काङ्ग्रेस एकता भएको थियो, तर प्रचण्डको त्यसप्रकारको उपस्थिति देखिएन । राजनीतिमा परिवार या सन्तानमोहका अनेक रूप देखिरहेका हाम्रा लागि उक्त दृश्य त्यति आश्चर्यजनक थिएन । बरु त्यतिबेलाको समयलाई फर्किएर हेर्दा प्रधानमन्त्री देउवालाई धेरथोर ग्लानि अवश्य हुँदो हो । विगतमा माओवादीले हत्या गरेका धेरै काङ्ग्रेसीजनका परिवारलाई माओवादीलाई भोट हाल्न बाध्य पारिएको थियो ।

अरूको झैँ बाबुआमाको राजनीतिक बिरासत लिने हो भने डा. आरजु राणा देउवा अहिले आमाका कारणले राप्रपा प्रजातान्त्रिकमा हुनुपथ्र्यो । तर, उहाँले आमाको होइन, पतिको बिरासत लिन चाहनुभयो । फाइदा पनि यसैमा छ ।

विगतमा गिरिजाप्रसाद कोइरालाको पुत्रीमोहलाई लिएर खुब चर्चा हुने गथ्र्यो । छोरीलाई उपप्रधानमन्त्रीसम्म बनाउन उहाँ सफल हुनुभयो । यूएनको माथिल्लो तहमा काम गर्ने आफ्नो छोरालाई सूर्यबहादुर थापाले राजनीतिमा ल्याउनुहोला भन्ने सोचिएको थिएन । छोरा सुनील थापा अहिले राप्रपाका केन्द्रीय नेता हुनुहुन्छ । आफ्ना छोराछोरीले राजनीतिमा रुचि नराखेर होला कमल थापाले भाइ गणेश थापालाई समानुपातिकबाट दोश्रो संविधानसभाको सांसद बनाउनुभयो । राजसंस्था फर्काउनका लागि सोहीअनुरुपको भूमिका निर्वाह गर्ने मान्छेलाई राप्रपा नेपालले सांसद बनाउला भनेर बिरामी, बुढेसकाल केही नभनी लाठी टेकेर गाईलाई भोट हाल्न बुथ पुगेकाहरूलाई उक्त मनोनयन दाँतमा ढुङ्गा लागेसरह भएको थियो । यो घटनापछि कमल थापालाई सर्वसाधारणले हेर्ने दृष्टिकोणमा पनि भारी गिरावट आयो ।

पारिवारिक बिरासत छोराछोरीमा लानका लागि हत्ते गर्ने नेताहरूको भिडमा आफ्नो छोरा सानै भएकाले हुन सक्छ शेरबहादुर देउवाले पत्नीलाई आफ्नो उत्तराधिकारी बनाउन खोजिरहनुभएको देखिन्छ । अरूको झैँ बाबुआमाको राजनीतिक बिरासत लिने हो भने डा. आरजु राणा देउवा अहिले आमाका कारणले राप्रपा प्रजातान्त्रिकमा हुनुपथ्र्यो । तर, उहाँले आमाको होइन, पतिको बिरासत लिन चाहनुभयो । फाइदा पनि यसैमा छ । संविधानसभाको सुरुदेखि नै सांसद बन्नुभएकी उहाँ अहिले कैलालीबाट प्रत्यक्ष निर्वाचन लड्दै हुनुहुन्छ । महिलाहरू यसरी प्रत्यक्ष चुनाव लडेर संसदमा आउनु राम्रो कुरा हो । पारिवारिक कारणले भन्दा आफ्नै बुतामा राजनीतिमा महिलाहरू आउन सके त्यो झनै राम्रो हुनेछ । अहिलेसम्मको अवस्था हेर्दा यो सम्भावना न्यून देखिन्छ ।

‘प्रजाको छोरा र आफ्नो छोरालाई सँगै आगो लाग्यो भने पहिला प्रजाको छोराको आगो निभाएर मात्र आफ्नो छोराको शरीरमा लागेको आगो निभाउनु’ भनी धर्मशास्त्रमा लेखिएको छ । त्यतिबेला लेखिएको छोरा शब्दलाई अहिले सन्तान भनी बुझ्नुपर्ने हुन्छ । राज्यसत्तामा पुगेका मानिसले आफ्नो परिवारका सदस्यलाई सोही ठाउँमा पु¥याउन खोज्नुलाई लोलुपता भन्नुपर्ने हुन्छ । कतिले चाहिँ पति वा पत्नीको पदलाई आफ्नो महत्वाकांक्षा पूरा गर्ने साधन बनाइदिन्छन् । सिक्किमका तत्कालीन राजा नामग्यालकी पत्नी होप कुक र लेण्डुप दोर्जेकी पत्नी एलिजा मारियाको राजनीतिक महत्वाकाङ्क्षाले सिक्कमलाई अन्ततः स्वतन्त्र देशबाट भारतको प्रदेश बनाइदियो । राजनीतिमा पारिवारिक मोह र हस्तक्षेप भयो भने त्यसको परिणाम केसम्म हुन्छ भन्ने कुराको उदाहरण धेरै छन् ।

दुई हजार वर्ष पहिले ग्रिसका दार्शनिक प्लेटोले ‘आइडियल स्टेट’को परिकल्पना गरेका थिए । उनले अगाडि सारेको ‘आदर्श राज्य’को खाकामा सकेसम्म विवाह नगरेका, परिवार नभएका र दार्शनिक सोच भएका मानिसलाई राज्यशक्तिमा परिचालन गर्नुपर्छ भन्ने थियो । राज्यको माथिल्लो पदमा बस्ने मानिस पारिवारिक मोहबाट मुक्त हुनुपर्ने सोचबाट निर्देशित भएर उक्त परिकल्पना गरिएको थियो भन्न सकिन्छ । राष्ट्रका कर्मचारी र सुरक्षाकर्मीका परिवारलाई राज्यले हेर्ने व्यवस्था मिलाउनुपर्ने योजना उनले अघि सारेका थिए । राज्यलाई सबल बनाउन अहोरात्र खटिने या खटिनुपर्ने कर्मचारी र सुरक्षाकर्मीलाई पारिवारिक बोझ नहोस् भनेर यसप्रकारको परिकल्पना गरिएको थियो । पारिवारिक मोहले मानिसलाई केसम्म गर्न सक्छ, कहाँ पु¥याउन सक्छ भन्ने कुरा महाभारतदेखि नै जगजाहेर छ ।

‘राजनीति’ राज्यको शासन मजबुत गर्ने, जनतालाई सुखसुविधा दिने, अन्य राष्ट्रहरूसँग उपयुक्त व्यवहार गर्ने राज्यको नीति हो । बहुदलीय व्यवस्थामा राजनीतिक दलमार्फत यसलाई व्यवस्थित रूपमा अघि बढाइन्छ । त्यसैले राजनीतिक दललाई प्राइभेट कम्पनीजस्तो गरी चलाउन मिल्दैन । प्राइभेट कम्पनी या कन्सल्टेन्सी फर्ममा मालिकले चाहेको जसलाई राखे पनि हुन्छ, कसैलाई अघि बढाए पनि हुन्छ, नबढाए पनि हुन्छ । पद, हैसियत जे दिए पनि भयो । तर, राजनीतिमा पारिवारिक सदस्यहरूलाई अघि बढाउँदा निकै सोच्नुपर्ने हुन्छ । राजनीतिमा सम्बन्धित व्यक्तिको प्रवेश केका लागि ? यसले पार्ने असर या प्रभाव के हो ? जनतासम्म के–कस्तो सन्देश पुग्ला ? उक्त कदमले मुलुकलाई कहाँनेर कस्तो फाइदा पुग्छ ? आदि । संविधानसभाको समानुपातिकमा कतिपय नेताहरूले पार्टीलाई प्राइभेट र कतिपयले ऐनले कतै व्यवस्था नगरेको पारिवारिक कम्पनी नै बनाए । अबको समानुपातिक विगतभन्दा फरक हुनुपर्छ । कम्तीमा सांसद हुनेहरूले आफू केका लागि त्यहाँ जाँदै छु र जनताले मेरो नाममा किन कर तिर्ने ? भन्नेबारेमा सोच्न सक्ने हुनुपर्छ । प्राइभेट कम्पनीहरूले त आफैँ ट्याक्स तिर्छन्, मिहिनेतले व्यवसाय अघि बढाउँछन् । तर, कसैका पारिवारिक कम्पनीका लागि जनताले किन ट्याक्स तिर्ने ? त्यस्ता मानिसले राज्यलाई दिने योगदान कस्तो हुन्छ ? यसपटक समानुपातिकबाट सांसद छान्दा परिवारभन्दा माथि उठिदिनका लागि नेताहरूलाई सर्वसाधारणको अनुरोध छ । तर, कुनै व्यक्ति जो राजनीतिक पृष्ठभूमिमै छ र उसले ‘डिजर्भ’ गर्छ भने उनीहरूलाई भने नेताका सन्तान, पत्नी या पति भए भन्दैमा उत्तरदायित्व लिनबाट बन्चित गर्नुहुँदैन । राजनीति अवसरभन्दा बढी उत्तरदायित्व हो । यसलाई प्राइभेट कम्पनीभन्दा माथि उठाउनैपर्छ ।