बन्दुक बोक्नेलाई जेल, एसिड बोक्नेलाई के ?

बन्दुक बोक्नेलाई जेल, एसिड बोक्नेलाई के ?


– राजन घिमिरे

चलचित्र केका लागि बनाउने ? ‘एनि हाउ दाम कमाउ’ कि दामसंगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्ने ? कि दर्शकहरूलाई सस्ता मनोरन्जनका कुरा पस्केर उनीहरुको विश्वासको गलत फाइदा उठाउँदै दाम मात्र सोर्ने संकल्प गर्ने ?

चलचित्र मनोरन्जनको साधन हो, हलमा बसुन्जेल दर्शकहरूलाई बोर हुन दिन हुन्न भन्दै दर्शकहरूको नाममा सस्ता र फर्मुलाले भरिएका कथामाथि चलचित्र बनाएर आत्मरतिमा रमाउने अनि चट् मगनी पट् विवाह भनेजस्तो सोचले चलचित्रको यात्रा र उपस्थिति दीगो हुँदैन भन्ने तथ्य यतिबेला बुझ्नु अनिवार्य भैसकेको छ ।

आफ्नो चलचित्रले समाजमा कस्तो प्रभाव पार्यो त ? किन मेरो चलचित्र हेर्न आइरहेका छन् र हेरेर जाने दर्शकहरूले के लिएर गैरहेका छन् ? भन्ने कुराको ख्याल नगरी यति करोड र उति करोड भनेर डंका बजाउनेहरु पनि यहाँ छन् भने अर्कोतर्फ चलचित्रले समाजको कथा ब्यथा बोक्नुपर्छ, त्यस्ता विषयको उठान सिनेमामा गर्नु पर्दछ भन्ने उद्देश्य लिएर त्यसैअनुरूप काम गर्ने रेखा थापा जस्ता चलचित्रकर्मी पनि यहीँ छन् ।

हुन त यी दुवैखाले चलचित्रकर्मीहरूले चलचित्र नै बनाएका हुन् तर उद्देश्य , विचार, बाटो र यात्रा भने फरक छ यी निर्माताहरुमा । रेखा थापा पनि ग्ल्यामरस र चटपटे नायिका नै हुन्, उनले पनि हलुका र सस्ता विषयमा चलचित्र बनाउन सक्थिन् तर त्यसो गरिनन् । उनले समय र परिस्थितिअनुरूप चलचित्र निर्माण गरी सामाजिक क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउँदै आएकी छिन् । सिनेमामार्फत पनि समाजमा केही दिने र समाजका विद्यमान समस्यालाई उजागर गर्न सकिन्छ भन्ने कुरालाई बलियो तरिकाले रेखाले चलचित्र रूद्रप्रियामा उठाएकी छिन् ।

यस चलचित्रले कति कमायो वा कति कमाउँला ? रेखा थापा र निर्माता रमेश एमके पौडेलले खासै सोचेका छैनन् । उनिहरूले त हलमा आएका दर्शकले कत्तिको सन्देश बोकेर गए या सामाजमा यो चलचित्रले कस्तो सकारात्मक प्रभाव पार्ला भन्ने बारे मात्र सोचेका छन् । एक जना दृष्टिविहीन केरामा चिप्लिएर लड्यो भने त्यस्ता दृश्य राखेर दर्शकहरूलाई हँसाउन खोज्ने हाम्रो चलचित्र निर्माणको शैली र हैसियतले पैसा त कमाउला तर नेपाली सिनेमाको यो यात्रा लामो नलैजान पनि सक्छ । त्यसकारण पनि रेखाको रूद्रप्रिया जस्तै अरू संवेदनशील विषय बोकेका चलचित्रहरूले पनि समाजमा महत्वपूर्ण भूमिका निभाएका छन् ।

समाजमा उत्पिडनमा बाँचेका महिलाहरूमाथि समर्पित रेखाको चलचित्रले ति महिलाहरूको पक्षमा बोलेर उनिहरूको मन र मुहार हँसाएको छ । यो हाँसो भनेको पैसामा जोख्न मिल्ने हाँसो र सफलता होइन । पुरूषको हप्काई र पेलाई नमान्दा एउटी नारीले एसिडपिडित हुनुपर्ने वास्तविक कुरालाई चलचित्रमा उतारेर गफ मात्र होइन कि सामाजिक कार्य नै गरेर शिर ठाडो पारेकी छिन रेखाले, ‘बन्दूक बोक्ने जेल जाने तर एसिड बोक्ने किन जेल जानुनपर्ने ?’ यो प्रश्न सोधेको छ चलचित्रले ।