रूद्रप्रिया : फिल्म पण्डितहरूलाई झापड !

रूद्रप्रिया : फिल्म पण्डितहरूलाई झापड !


– राजन घिमिरे

आफूलाई नेपाली सिनेमाको पण्डितका रुपमा चित्रित गर्नखोज्ने एकतप्काको गफ नै ठूला ! उनीहरू कोठाभित्र बसेर गफ शुरू गर्छन्- ‘सिनेमाले समाज बोल्नुपर्छ, समाजप्रति कलाकारहरूको जिम्मेवारी पनि हुनुपर्छ र, यो कुरा कलाकारहरुले मनन पनि गर्न सक्नुपर्छ… ।’

यिनीहरू यस्तै यस्तै गफ दिन्छन् तर कार्यान्वयनमा भने सस्ता, फर्मूलायुक्त र फिल्म हेरेर हलबाट निस्कँदा बिर्सिसक्ने कथा बोकेका सिनेमा निर्माणमा रमाइहेका हुन्छन् । गफ मात्र दिने यो वर्गले कहिले पनि आफ्नो सोचलाई बृहत बनाउन सकेनन्, गफ दिएअनुरूपको विषय छनौट गर्न पनि यिनीहरूको दिमागमा आएन ।

त्यसो त आफ्नो सोच, क्षमता, दक्षता र खोजमाथि यी गफाडीहरूलाई विश्वास छैन । कुरा मात्र गर्ने तर चित्रण गर्न नसक्ने … क्षमता र साहस छैन भने यिनीहरूले एकपटक चलचित्र रूद्रप्रिया हेर्नैपर्छ, अनि थाहा हुन्छ, कलाकारहरूको जिम्मेवारी, कर्तव्य र भूमिका । जसले गफ दिनेहरूलाई बुद्धि बाँडेको छ भने सस्ता कथामाथि बनेका चलचित्र हेरेर दिक्क भएका दर्शकहरूलाई मुलुक र जनताको वर्तमान वास्तविकताको नजिक पुर्याउने छ ।

सस्ता फर्मुला भएका कथा वा विषयका बारेमा रेखा थापालाई पनि अवगत थियो होला तर, उनले त्यसो नगरेर सिनेमामार्फत मनोरन्जन र शिक्षा एकैपटक पस्केकी छिन्, दर्शकहरूलाई । रेखाजस्ती नेपाली सिनेमा क्षेत्रमा एउटा विशिष्ट पहिचान बनाएकी अभिनेत्रीले आफ्नो कर्तव्य र जिम्मेवारीलाई भुलिनन् । भोलि इतिहासले रेखाले कस्तो फिल्म बनाइन् ? भनेर प्रश्न गर्दा उनले रूद्रप्रिया बनाएँ भनेर गर्वका साथ नाम लिन सक्छिन् । यो मामिलामा रेखा, निर्माता रमेश एमके पौडेल र निर्देशक सुदीप बबी भूपालसिंहले शिर ठाडो पार्न सक्छन् भनी ठोकुवा गर्न सकिन्छ ।

समाज र परिवार जति नै सम्पन्न भएता पनि दैनिकजसो हुने गरेका नारी हिंसा र उत्पिडनलाई चलचित्र रुद्रप्रियाले उठाएको छ । एसिड प्रहारका कारण जीवन बर्बाद भएकी चेलीले खपेको पीडा र त्यै केटी साहसी हुँदा के कतिसम्म गर्न सक्छे भन्ने नारीपात्रलाई रेखाले चलचित्रमा देखाउन खोजेकी छिन । एसिडका कारण आफ्नो अनुहार क्षतबिक्षत भएको सत्य घटनामा आधारित नारीलाई प्रेरित पार्ने उनको विषय छनौट साँच्चै सलाम गर्नलायकको छ ।

कलाकारहरूको अभिनय कस्तो छ वा यसले कति कमाउला त्यसको लेखाजोखा अहिले नै नगरौँ, तर एउटी जिम्मेवार कलाकारले समाजप्रति निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गरेर सबैको वाहवाही भने आज बिहिबारबाट प्रदर्शनमा आएको यस चलचित्रले पाउने कुरामा शंका मानिरहनु पर्दैन ।