रुम्बेकमा रमाउँदै गुजरातका कल्याण

रुम्बेकमा रमाउँदै गुजरातका कल्याण


  • जेपी त्रिपाठी

सामान्य रोजगारीका लागि दिनहुँ हजार–पन्ध्र सयको दरले नेपाली युवा बिदेसिने गरेको तथ्याङ्क हामी बारम्बार प्रस्तुत गरिरहेका हुन्छौँ । हुन पनि बिदेसिएर जस्तोसुकै होस्, अर्काको नोकरी या मजदुरी गर्ने संस्कारको विकास नेपालीजनमा भएको देखिन्छ । आफ्नै व्यवसाय गरेर अरूलाई रोजगारी दिन सक्ने औकात बोकेका नेपाली परायाभूमिमा विरलै भेटिन्छन् ।

यस सन्दर्भमा भारतीयहरू निकै अगाडि देखिन्छन् । आज विश्वका कुनै मुलुक बाँकी नहोलान् जहाँ भारतीय व्यवसायी नपुगेका होऊन् । साउथ सुडानजस्तो द्वन्द्वग्रस्त अफ्रिकी मुलुकको दूरदराजमा भेटिएका एक पात्र परमुखी सोचले ग्रस्त हामी नेपालीजनका लागि प्रेरणाका पात्र हुन सक्छन् । उनी हुन्– साउथ सुडानको रुम्बेकमा ‘इन्डियन फार्म’ सञ्चालन गरी बसेका कल्याण पटेल । आन्तरिक द्वन्द्वका कारण असुरक्षाको उत्कर्षमा रहेको बिरानो देशको गाउँमा एक्लो भारतीय परिवार व्यवसायमा कमाउँदै–रमाउँदै टिकेर रहन सक्नु लरतरो आत्मविश्वासले भ्याउने कुरै भएन ।

भारत गुजरात (भुज)का कल्याण पटेल विगत १२ वर्षदेखि सुडान बस्दै आएका छन् । आफ्नै बुतामा केही गर्ने सोचका साथ बिनायोजना परिबन्दवश उनी सुडान पुगेका रहेछन् । सुरुदेखि नै उनमा कसैको नोकरी नगर्ने, जस्तोसुकै होस् आफ्नै व्यवसाय गर्ने सोच पलाएको रहेछ । उनको सफलताको कडी पनि यही आत्मविश्वास नै रहेको मनन गर्न सकिन्छ । सुडानसम्म पुगेर पनि अरूको नोकरी नगरी आफ्नै व्यवसाय स्थापित गर्न सक्ने उनको आँट र खुवी पक्कै पनि प्रेरणाको विषय हो ।

सन् २०११ मा सुडान विभाजन भएपछि समस्या बढेको र आफ्नो व्यवसायमा पनि मन्दी आएको उनी बताउँछन् । उनको अनुभवमा सुडानको व्यवसाय पहिले निकै राम्रो थियो, खासगरी सन् २०१३ पछि अवस्था नकारात्मक बनेको हो ।

रुम्बेकस्थित यूएन क्याम्पबाट करिब पाँच किलोमिटरको दूरीमा पटेलको ‘इन्डियन फार्म हाउस’ छ । स्थानीय एक जमिनदारसँग २००×२०० मिटर एरिया जमिन भाडामा लिएर खेतीपाती गर्दै आएका पटेल आफ्नो परिवारसहित रुम्बेकमा बस्दै आएका छन् । उनलाई पत्नीको हरदम साथ छ भने छोरा र बुहारी रुम्बेकभरमै उच्चस्तरमा गनिने ‘हिल भ्यू’ नामक होटेलमा काम गर्छन् । दुई छोरीको भारतमै बिहेवारी गरिदिएर आफू सुडानमा व्यवसाय गरिरहेको बताउने उनको बारीमा भिन्डी, सिमी, काउली, ब्रोकाउली, टमाटर, कागती, बदामलगायतका कृषि उपज उत्पादन हुन्छन् । वर्तमान अवस्थामा स्थानीयवासीका अलावा यूएनकर्मीहरू कल्याण पटेलका उब्जनी उपभोग गर्ने ग्राहक हुन् । त्यहाँको कमाइले उनले भारतमा करोडौँको सम्पत्ति जोडेका रहेछन् । रोचक त के छ भने यत्तिका काम पटेलदम्पती दुईजनाले नै भ्याइरहेका छन् भने करोडौँ सम्पत्तिको मालिक भएर पनि उनको वेशभूषा र व्यवहार अत्यन्त साधारण छ ।

पटेलको फार्म हाउसमा यतिबेला कागती प्रशस्त फलेका छन् । झन्डै निबुवा आकारका कागतीका दाना रूखमा थामिन नसकी भुइँभरि असरल्ल परेका देखिए । यतिबेला कागतीको मूल्य खस्केको पटेलले सुनाए । जमिनको भाडा वार्षिक २५ हजार डलर बुझाउँछन् उनी, र हाल मासिक दुई हजार डलरको मात्र कारोबार रहेकाले व्यवसाय घाटामा रहेको बताउँछन् । ‘पहिले ज्यादा फाइदा थियो, सुडान विभक्त भएपछि कारोबारमा मन्दी आउनुका साथै विभिन्न समस्या पनि पैदा भएका छन्,’ केही खिन्न हुँदै सुनाए उनले । तैपनि आफू साउथ सुडानमै जमेर रहने बताउन पनि कल्याण पछि हटेनन् ।

दक्षिण सुडान सुरक्षाका मामलामा बदनाम बनिरहेको वर्तमान परिवेशमा पनि आफूले कुनै दुव्र्यवहार झेल्नु नपरेको कल्याणले बताए । आफ्नो जमिनदार निकै असल स्वभावको व्यक्ति भएकाले आफूलाई सहज भइरहेको उनको भनाइ छ । सुडानको नागरिकता नै लिने सोच छ कि भन्दा उनले रमाइलो जवाफ दिए, ‘यहीँका मानिसको नागरिकताको ठेगान छैन, मैले किन खोजिरहने ?’ इच्छा लागुन्जेल र चलिन्जेल व्यवसाय गर्ने, मन लागेन भने गुजरात फर्कने उनले प्रस्टै बताए ।

सुरुमा खुलेर कुरा गर्न हिच्किचाएका कल्याणलाई पङ्क्तिकारले ठट्टाको लवजमा भनेको थियो, ‘मोदीजीको गाउँको मानिस भएर पनि बोल्न कन्जुस्याइँ गर्ने ? मीठो–मीठो बोलेर मोदीजीले दुनियाँभर वाहवाही पाइसके !’ त्यसपछि मसक्क मुस्काउँदै पटेलले भने, ‘हो..हो.. मोदीजीको त के कुरा गर्ने ?!’ त्यसपछि चाहिँ अल्पभाषी प्रतीत भएका पटेल मज्जैसँग खुल्दै गए ।

सुडानका सार्वजनिक स्थान तथा सुडानी नागरिकका तस्बिर खिच्न नपाएर खिन्न बनेका हामी नेपाली ‘डेलिगेट्स’को मन त्यतिबेला फुरुङ्ग बन्यो जब उनै पटेल सहजकर्ता बनेर सुडानी जमिनदार परिवारसँग फोटो खिच्ने व्यवस्था मिलाइदिए । मङ्गार नामका ती मुखियासँग कुरा गरेर हाम्रो चाहना सुनाइदिए कल्याणले । तीन गाउँका एकल जमिनदार रहेछन् ती । तस्बिर खिच्ने प्रस्ताव सुन्दा रिसाउलान् भन्ने हाम्रो अनुमान फेल खायो । उनले सहज–स्वीकृतिमा मुन्टो हल्लाए र कुर्सीबाट उठेर आँगन पार गर्दै घरभित्रतिर लागे । हामी अलमल्ल प¥यौँ, हाम्रो अलमल बुझेर पटेलले सम्झाए, ‘फोटो खिच्ने भनेकोले कपडा बदल्न मङ्गार घरभित्र गएका हुन्, आउँछन् ।’

नभन्दै एकैछिनमा उनी कपडा बदलेर फर्किए । एकछिनअघि सेतो मैलो कुर्ता–पाइजामामा ‘वृद्ध–मानव’जस्ता देखिएका उनी नयाँ सर्ट–पाइन्टमा अर्कै देखिए । उनले आफ्नी पत्नीसँग पनि परिचय गराए । घरमै चिकित्सक टोली बोलाएर स्वास्थ्य सेवा लिँदा रहेछन् मङ्गार । आँगनछेउको रूखमुनि शीतलमा बसेका दुई स्वास्थ्यकर्मी युवतीहरूको कानमा साउतीको लवजमा उनले केही भने । मङ्गारले हामीसँग हात मिलाउन युवतीहरूलाई भनेका रहेछन्, उनीहरूले पालैपालो हात मिलाए ।

सुडानी नागरिकलाई नजिक उभिएर हेर्ने मौकासमेत नमिलेका हामीले सुकोमल युवतीहरूसँग हात मिलाएर हाई–हेलो गर्ने र फोटो खिच्ने अवसरसमेत पायौँ । मङ्गारकी पत्नी र परिवारका अन्य सदस्यहरू पनि हामीसँग हात मिलाउन आए । एक सामूहिक र थप अलग व्यक्तिसँग विभिन्न पोजमा तस्बिर लिने काम भयो । जुबामा खुलेर तस्बिर लिन नपाएर न्यास्रिएका हामी रुम्बेकमा मिलेको यस मौका कारण दङ्ग पर्‍यौँ । सुडान यात्रा यस अर्थमा फलदायी भएको अनुभूतिसमेत गरियो । गुजरातदेखि साउथ सुडान पुगी खेतीपातीमा रमाएका कल्याण पटेललाई धन्यवाद दिँदै हामी फार्म हाउसबाट बाहिरियौँ ।

यो पनि पढ्नुहोस्-

जातीय द्वन्द्वले थलिएको देश
https://ghatanarabichar.com/68072

हेमन्तको हेराइबाट साउथ सुडान बुझ्न खोज्दा…
https://ghatanarabichar.com/71279