नेपाल युके तेक्वान्दो टोलीलाई २१ पदक

नेपाल युके तेक्वान्दो टोलीलाई २१ पदक


इङल्यान्डको म्यान्चेस्टर सिटीमा सम्पन्न ब्रिटिस नेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाल युके तेक्वान्दो टोलीले २१ पदक जितेको छ । उक्त प्रतियोगितामा सगरमाथा तेक्वान्दो डोजाङ (एसटीकेडीडी) र जेन मार्सल आर्ट एकेडेमी (जेडएमएए) का खेलाडी मिलेर बनेको नेपाल युके तेक्वान्दो टोलीले ३ स्वर्ण, ४ रजत र १४ कांस्य गरी जम्मा २१ पदक जितेको एसटीकेडीडीका संस्थापक अध्यक्ष राष्ट्र राईले जनाएका छन् । विभिन्न ६५ क्लबका १ हजार १ सय खेलाडी सहभागी इङल्यान्डको प्रतिष्ठित ब्रिटिस नेसनल तेक्वान्दो प्रतियोगितामा नेपाल युके तेक्वान्दो टोली समग्रमा सातौं स्थानमा रह्यो । एसटीकेडीडी र जेडएमएएबाट जम्मा ३७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नोभिसतर्फ पुरुष ६१ केजीमुनि रितेश राणा, ५७ केजीमुनि प्रशन लिम्बू र ६५ केजीमुनि सफल गुरुङले टोलीलाई स्वर्ण दिलाए । नोभिसमै पुरुष ७४ केजीमुनि मेट गाइल्स, ७४ केजीमाथि रोनित गुरुङ र ६४ केजीमुनि भबस दर्लामी तथा महिला २६ केजीमाथि जियाना लिम्बूले रजत जिते । त्यसैगरी, पुरुष ६८ केजीमुनि सुसाङ लिम्बू, ७८ केजीमाथि अमिर गौच र प्रेम राणा, ७८ केजीमुनि सिर्जक गुरुङ, ६८ केजीमुनि विमित राई, ५७ केजीमुनि निश्चल थापा तथा महिला ५१ केजीमुनि यस्मिन सर्तुङ्गी, ४० केजीमुनि प्रमिशा राणा र ५२ केजीमुनि विपासना गुरुङले नोभिसतर्फ कांस्य जितेका थिए ।

एडभान्सको पुरुष ४५ केजीमुनि रियाज राई तथा महिला ४४ केजीमुनि एलिशा राई, ४९ केजीमुनि अस्मिता राई, ४६ केजीमुनि निकिता गुरुङ र ५९ केजीमुनि औश्मा गुरुङले नेपाल युके तेक्वान्दो टोलीलाई कांस्य दिलाए । एसटीकेडीडीका अध्यक्ष राईले इङल्यान्डकै प्रतिष्ठित प्रतियोगिताका रुपमा रहेको ब्रिटिस नेसनल तेक्वान्दोमा खेलाडीको प्रदर्शन तारिफ योग्य भएको बताएका छन ।

आगामी जनवरीमा नेपालमा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनको ११ औं संस्करणमा राईले नेतृत्व गरेको टोलीले टिम च्याम्पियनको उपाधि जित्ने तयारीमा जुट्ने बताए । उक्त उपाधि २०१६ मा अमेरिकाको पोर्टल्यान्डमा सम्पन्न प्रतियोगितामा जितेको थियो । राईकै सक्रिएतामा हाल झापाको दमकमा सगरमाथा बहुउद्देश्यीय कभर्डहल निर्माण भइरहेको छ ।