प्रभुपत्नी रिनाकुमारी प्रदेश नं. २ कै प्रथम महिला मेयर

प्रभुपत्नी रिनाकुमारी प्रदेश नं. २ कै प्रथम महिला मेयर


प्रदेश नं २ कै पहिलो महिला प्रमुखका रुपमा रौतहटको मौलापुुर नगरपालिकामा रिनाकुुमारी साह निर्वाचित भएकी छिन् । रिनाकुमारी माओवादी केन्द्रका नेता एवम् मन्त्री प्रभु शाहकी पत्नी हुन् । उनी निकटतम प्रतिद्वन्द्वी राजपाका उम्मेदवारभन्दा झण्डै दोब्बर मत ल्याएर प्रमुख पदमा निर्वाचित भएकी हुन् । यहाँ माओवादी केन्द्रका उम्मेदवार गौरी शंकर जयसवाल उपमेयरमा निर्वाचित भएका छन् ।

रौतहटकै परोहा नगरपालिकामा भने नेपाली कांग्रेसका शेख वकिल प्रमुख र सुुगन्धी देवी गिरी उपप्रमुखमा निर्वाचित भएका छन् भने ईशनाथ नगरपालिकामा फोरम लोकतान्त्रिकका सन्तोष मेहता प्रमुखमा र हुुसेनी आरा खातुुन उपप्रमुखमा निर्वाचित भएका छन् ।

जिल्लाभरिका १६ नगरपालिका र दुुई गाउँपालिका गरी कूल १८ स्थानीय तहमा भएको निर्वाचनको मतगणना जारी रहेको छ । देशमै चासोको केन्द्र रहेको चन्द्रपुुर नगरपालिकामा नेपाली कांग्रेस अग्रस्थानमा, एमाले दोस्रो स्थानमा, माओवादी केन्द्रका उम्मेदवार तेस्रो स्थानमा रहेका छन् ।

यस्तै, गौर नगरपालिकामा राजपा अग्रस्थानमा, एमाले दोस्रो स्थानमा र फोरम तेस्रो स्थानमा रहेका छन् । एघार स्थानीय तहमध्ये चार स्थानमा नेपाली कांग्रेस, चार स्थानमा मधेशवादी र तीन स्थानमा माओवादी केन्द्रको अग्रता रहेको छ ।

उता राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगन भएको राजविराज नगरपालिका वडा नं १५ मा बिहिबार शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।

यसैगरी, पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका अध्यक्षमा नेपाली जनता दलका नथुनीप्रसाद कुशवाहा विजयी भएका छन् । कुशवाहाले दुई हजार ८ सय १६ र उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका लालसादेवीले दुई हजार ६ सय ९६ मत हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ । उक्त गाउँपालिकाको उपाध्यक्षमा भने फोरम नेपालका राजेश चौरसिया जनता दलकी मालतीदेवी कोइरीलाई पराजित गर्दै विजयी बनेका छन् ।