‘सके सपारौं, नसके नबिगारौं’को जरो खोतल्दा…

‘सके सपारौं, नसके नबिगारौं’को जरो खोतल्दा…


समग्र इच्छा, आकांक्षा या रहर भएका व्यक्तिहरु बीचको नातालाई साथी भनिन्छ, जुन आफन्त, नातरदार वा अन्यत्रका व्यक्तिहरुबीच पनि हुन सक्छ । साथित्वलाई उमेर, लिङ्ग, जात, धर्म, वर्ण आदि केहीले पनि छेक्न सक्दैन ।

मेरा पनि साथीहरुका शृङ्खलामा ५० को दशकको शुरुवाततिर विचारीचौतारा-४, धाङधुङका इन्द्रबहादुर क्षेत्री (यसपछि इन्द्रदाइ भनिएको) सँग अनपेक्षित मित्रताको महल खडा भयो । हामी दुबैजना विज्ञानका विद्यार्थी थियौं । मभन्दा पहिले इन्द्रदाइले आइएस्सी पास गरेर जनप्रदीप माध्यमिक विद्यालय, चिलाउनेबास, स्याङ्जामा अध्यापन गर्नुभयो । त्यसपछि कालीकोट पुग्नुभएका इन्द्रदाइले त्यसभेकका दीपेन्द्र, भोला, कर्णदेखि आफ्नै भाइ जयबहादुरलाई पनि उतै लग्नुभई अण्डर म्याट्रिक भएपनि शिक्षण पेशामा रोजगार गराउनुभयो ।

संयोग ! म पनि आइएस्सी गरेपछि सोही जनप्रदीप माविमा पढाउन थालेँ । मेरै सहपाठी साथीहरु अग्नी, कृष्ण, विष्णुले प्रवेशिका परीक्षा दिंदै गर्दा इन्द्रदाइको हुलिया दिएर ‘दुर्गममा त एसएलसी फेल भएकाहरुलाई पनि शिक्षक बनाइन्छ रे ! फेरि आइएस्सी टिचरको सोर्सफोर्स चल्छ रे १ अरु साथीहरु पनि इन्द्रदाइसँग साथ लागेर दुर्गमतिर लागे, हामी पनि यो फेल भैरहेको अनुहार लिएर कति यहीं तलमाथि गरिरहनु ?’ भन्दै दुर्गम जाने आग्रह गरेबमोजिम विभिन्न आरोह-अवरोह पार गर्दै कालीकोट हुँदै मुगु जिल्लामा पुगेर शिक्षकको काम गरेको थिएँ । यो कार्यको उपमा दिंदै गाउँले शुभचिन्तकहरुले हामीलाई समाज सरोकारीका रुपमा चित्रण गर्दथे । मैले पनि आफ्नै दाजू डिल्लीराम, होमबहादुर लगायत रुद्र, विष्णुलाई मुगु पनि जाने बाटो खुलाएको थिएँ । यसले हामी दुईजनालाई समानाकांक्षीको परिभाषामा समेटेको महसूस हुन्थ्यो ।

दिनहरु बित्दै जाँदा म लोकसेवा आयोगको प्रतिस्पर्धामा सफल भई शाखा अधिकृत पदमा प्रवेश गरें । इन्द्रदाइ विभिन्न परियोजनाहरुमा संलग्न हुनुभयो । म राष्ट्रिय योजना आयोगको सचिवालय अन्तरगत कार्यरत हुँदा इन्द्रदाइ युनाइटेड मिशन टु नेपाल अन्तरगत अनौपचारिक शिक्षा परियोजना, जाजरकोटमा कार्यरत हुनुहुन्थ्यो । त्यो परियोजनाको मूल्याङ्कनका लागि मलाई आग्रह गरेपछि ममा वहाँप्रतिको श्रध्दामा वृध्दि हुन पुग्यो ।

समान उमेरका छोराछोरी हुँदा अन्यान्य लाइकमाइण्डेडहरुलाई समेत समेटेर प्रतिभा समूहको ब्यानरमा हिमालय इङ्लिस बोर्डिङ स्कुलको शाखाको रुपमा प्रतिभा इङ्लिस बोर्डिङ स्कूलको स्थापना चिलाउनेबासमा गरियो । जसबाट केटाकेटीहरुले पढ्ने र श्रीमतीजीहरुले घर सम्हाल्ने अवसर पाउने हुँदा बढी नै लागिपरियो ।

सीमित सरकारी वेतनभोगी मैले दशैंताका आफ्नो तलव बुझी बोर्डिङमा कार्यरत शिक्षकहरुलाई आंशिक तलब दिनुपर्ने बाध्यतासँग पौंठाजोरी खेल्नु पर्दथ्यो, जसमा इन्द्रदाइको सहयोगले मेरो मनमा वहाँप्रति थप आदरभाव प्रकटियो । कुनैदिन वहाँ मेरो आवासमा आई आफैंले खानपीनको जोहो मिलाई उल्टै छुट्टिने बेलामा केही रकमको निस्शर्त सहयोग गर्दाका कारुणिक क्षणहरु अविस्मरणीय छन् ।

यस्तै क्रममा प्रतिभा बोर्डिङ स्कुललाई व्यवस्थित गराउने क्रममा मैले पोखराको जागीरमा २ महिनाको बिदा लिई भवन लगायतको व्यवस्थापनमा जुटें । सोही अवधिमा प्रतिभा समूहको तदर्थ गठन गरी सोही समूहको अगुवाईमा जनप्रदीप माध्यमिक विद्यालयमा उच्च शिक्षा सञ्चालन, त्यहीं प्रतिभा चमेना गृह सञ्चालन, प्रतिभा औषधी पसल, प्रतिभा फर्निचर उद्योग सञ्चालनका लागि पहल गर्दा मैले वहाँलाई पनि पत्रचार गरी अवगत गराई मेरो वहाँप्रतिको आस्था प्रकटेथेँ । उल्लिखित प्रयासबाट आर्जन हुने आयबाट प्रतिभा बोर्डिङ स्कूलमा अध्ययनरत स्थानीय प्रतिभावान् केटाकेटीहरुलाई छात्रवृत्ति दिने परिकल्पनाहरु अघि बढाइए । यी कार्यहरु कतिपयले मूर्तरुप लिनै पाएनन् भने कतिपयमा इन्द्रदाइको र कताकति अग्नीसहित मेरो मात्र जस्तो संलग्नता रहन पुग्यो । यसले पनि हामीलाई अरु नजिक्याउन सहयोग गऱ्यो ।

प्रतिभा समूहको आग्रसरतामा जनप्रदीप उच्च माविको शुरुवात भएपछि त्यसको भौतिक एवं प्राज्ञिक पक्षको उत्थानका लागि सहयोगी दाताहरुको खोजी भयो । सो क्रममा युनाइटेड मिशन टु नेपालको विद्यालय साझेदारी परियोजनासँग सम्पर्क स्थापनामा इन्द्रदाइ लागिपर्नु भयो । परिणामस्वरुप त्यस परियोजनाका परिकल्पनाकार धनञ्जय पाठकसँग बसाउठ हुन पुग्यो । यो परियोजनाको सहयोगले उच्च माविलाई ठूलो राहत पुग्दा मेरो सान्निध्यता इन्द्रदाइसँग थप आत्मीय बन्न पुग्यो ।

म लेखनाथ नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा कार्यरत हुँदा इन्द्रदाइ दैलेख अनौपचारिक शिक्षा परियोजनामा निर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो । जनप्रदीप उमाविमा विद्यालय साझेदारी परियोजना – यसपछि ‘विसाप’ भनिएको, भित्र्याइएपछि त्यसको सुसञ्चालनका लागि युएमएन, शिक्षा विभागका उपनिर्देशक श्री धनञ्जय पाठकको आवागमन बाक्लियो । वहाँका हरेक कार्यक्रममा मैले यथाशक्य सहयोग गरें । वहाँले मलाई ‘सरकारी जागिरे पनि यति सिन्सियर हुन्छन् र ! भन्ने लागेकोमा तिमीले मान्यता बदलिदियौ…।’ भन्ने अभिव्यक्तिसँगै दैलेखमा सुषुप्तावस्थामा पुगेको विसापमा समन्वयकर्ताको जिम्मेवारी वहन गर्न आग्रह गर्नुभयो । संयोग ! प्रतिभा बोर्डिङ स्कूल सुक्दै गयो । इन्द्रदाइको छोरा इनाम र मेरो ठूलो छोरा रोशनकाबीचमा पनि सहपाठीको दोस्ती बढिरहेको थियो, जसले पनि हामी बाबुहरुको दोस्तीमा मलजलको काम गय्रो । अब दुबैजनालाई गण्डकी बोर्डिङ् स्कूलमा पढाउने शोच बनाई ४ कक्षाको प्रवेश परीक्षामा सामेल गरायौं ।

दूर्भाग्य ! इनाम छोराको नामै निस्केन, जसले दुईजनाको सहपठनमा भाँजो हाल्यो एकातर्फ भने अर्कोतर्फ रोशनको नाम निस्केपनि सरकारी अधिकृतको छोरा भएका नाताले छात्रवृति नपाउने भयो । पैसा तिरेर पढाउने हैसियत मसँग भएन । विचरा छोरो ! बाउ सरकारी अधिकृत भएवापत छात्रवृतिमा पढ्न पाएन, मासिक चारहजार तलवभोगी बाउले एउटा छोरालाई मात्रै करिब मासिक साढेचार हजार भर्न सक्ने पनि भएन । यस्तो असामञ्जस्यताका समयमा एकदिन धनञ्जय, इन्द्रदाइ र म भई विसाप चिलाउनबासका फिडर विद्यालयहरुको सामूहिक निरीक्षण गय्रौं । अन्त्यमा आठगह्रेमा आई चियापान गर्दैगर्दा उल्लिखित प्रसङ्ग उप्क्यो । धनञ्जयसरले मलाई गतवर्षदेखि नै विसाप। दैलेखमा अफर गरिरहेको व्यहारा स्मरण गर्दै यसपाली पनि युएमएन जोइन गर्न भन्नुभयो । अब फेरि इन्द्रदाइ र म एउटै मातृनिकायका भगिनी संस्थाहरुमा कार्यरत हुनसक्ने सम्भावनाले मित्रताको बिरुवामा पालुवा पल्हाउन थालेको महसूस भयो ।

धनञ्जय सरले ‘आफूलाई युएमएनका तर्फबाट गण्डकी बोर्डिङ् स्कूलको व्यवस्थापन समितिमा प्रतिनिधिका रुपमा लामोसमय काम गर्दा त्यहाँको पढाइको स्तरबारेमा जानकार भएकाले त्यहीं पढाऊ भनेर म सिफारिश गर्दिन । मेरी छोरी रेस्डी पाठक होलील्याण्ड ईन्टरनेशनल स्कूल, बुद्धनगर बानेश्वरमा ४ कक्षामा पढ्छिन्, अब बाबुहरुलाई पनि त्यहीं भर्ना गरेमा र तिलकले युएमएन जोइन गरेमा तीनजना युएमनरहरुका बच्चाबच्चीहरु एकै स्कूलमा पढ्थे । भेट्न आउँदा पनि पालो गरेर आए भैहाल्यो, म नै स्थानीय अभिभावक हुने भैहालें । बरु बाबुहरुलाई त्यस स्कूलमा भर्नाको चाँजो म मिलाइदिउँला’ भन्नुभएपछि हामी दुईभाइले पनि व्यहोरा उपयुक्त ठहय्रायौं । जसको परिणाम इनाम रोशनको सँगै पढ्ने इच्छा मात्रै हैन हामी दुईलाई सँगै रहन पाउने अवसर पनि जुट्न जाँदा हाम्रो साथित्वप्रतिको लगावमा थप बृद्धि हुन गयो ।

‘एमएडलाई न्यूनतम शैक्षिक योग्यता भनिएको भएता पनि, तपाईं आफू जनप्रदीप उमाविको विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय बुद्धिजीवी, वर्तमानमा बाह्य जानिफकार सरकारी जागिरे पनि भएको हुँदा र तिनै सरोकारवालाहरुसँग समन्वयकारी भूमिका नै समन्वयकर्ताको मुख्य काम भएकाले र तपाईंमा काल्पनिक रुपले सम्बन्धित व्यक्ति बनेर ठोस सहभागिता र खँदिलो योगदान गर्नसक्ने खुवी देखिएकाले समन्वयकर्ताका लागि उपयुक्त उम्मेदवार ठहर्दा भर्ना गर्न सकिने’ व्यहोरा धनञ्जयसरले जनाउनु भयो । अन्तत: आफ्नै आग्रेसरतामा चिलाउनेबासमा उमावि सञ्चालनमा ल्याइएकोलाई पनि सहयोग हुने र सो सहयोगको सदुपयोग नजिकैबाट नियाल्न सकिने, छोराहरुलाई पनि सँगै पढ्ने रहर पुरा हुने, आफ्नो आर्थिकावस्थामा पनि स्वच्छ ढङ्गले सुधार हुने जस्ता व्यहोराले मलाई विसाप दुल्लु, दैलेखमा काम गर्न उत्प्रेरित गरायो, जसमा अन्तरङ्गका साथी बनेका इन्द्रदाइसँगै काम गर्न पाउने परिवेशले ठोस योगदान पुऱ्यायो । यसरी दुईजना उमेरका अग्रजानुज साथीहरु मित्रवत रुपमा एउटै मातृनिकायका स्यानीय भातृनिकायहरुमा काम गर्ने हिसाबले दैलेखको दुल्लुमा कार्यरत हुनपुग्दा हामीबीचको मित्रता झन् प्रगाढ हुन पुग्यो ।

त्यसपछि हाम्रो बसाइ दुल्लुस्थित ऋषि रिजालको घरको एउटा कोठामा हुन पुग्यो । हरेक दिनको दैनन्दिक समिक्षा अनि भोलिपल्टको कार्ययोजना बनाई काम अघि बढाउँदा वास्तवमा परियोजनाले राम्रेसँग गति लिन सफल भयो । एकापसमा सकारात्मक एवं नकारात्मक व्यहोराहरु खुलारुपले शेयरिङ् गर्दा दिनप्रतिदिन सुकार्यको थालनीमा सहयोग हुन थाल्यो । एउटै भान्साको खाना, एउटै कोठाको सुताइले हामीबीचमा अनपेक्षित साथित्व मौलाउन थाल्यो ।

एकदिन दुबैजना सुतिसकेका थियौं । निद्रा भने लागिरहेको थिएन । इन्द्रदाइले ‘Conqure your evil by good’ भन्ने भनाइलाई नेपालीकरण गर्ने प्रस्ताव राख्नुभयो । ‘आफ्ना नराम्रा कुराहरुलाई राम्रा पक्षले प्रतिस्थापन गर’ भन्ने सोझो अनुवादलाई ‘सकेसम्म राम्रो गर, नत्र नराम्रो कसै नगर’ भन्ने भावानुवाद गरियो । भोलिपल्ट बिहान हातमुख धुन जाँदा पनि यही चर्चा हुँदैगयो । फर्कंदासम्ममा ‘सके सपार, नसके नबिगार’ भन्ने वाक्यांशमा दुवैजना सहमत भयौं । त्यसपछि हाम्रा भनाइहरुको अन्त्यमा, कार्यकक्षहरुमा उक्त वाक्यांशलाई भन्ने र लेखेर टाँस्ने कामहरु भए । अरुहरुबाट पनि यसलाई उपयुक्त भनाइको रुपमा स्वीकृति प्राप्त हुँदै गयो । यसरी एउटा सच्चा मित्रत्वको आरनबाट खारिएर जीवनको अविस्मरणीय भनाइरुपी हीरा हातलाग्यो, जसले अन्तरङ्गको सम्बन्धलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गराइदियो ।

समय बित्दै गयो । चिलाउनेबास र दुल्लुका विसाप। हरुको पहिलो चरण सम्पन्न भई दोस्रो चरणका लागि नवीकरण गर्नुपर्ने समय आयो । मलाई बिदा सकिएको नाताले परियोजनाको रिन्युएसन नगरी सरकारी जागिरमा फर्कन्छु भन्न नैतिकता बाधक बन्यो । हुनपनि नयाँ व्यक्तिले परियोजना बारेमा बुझ्न मै एकाध वर्ष लाग्थ्यो भने मेरो निरन्तरताले चिलाउनेबासमा पनि सहजै नवीकरण गर्नसकिने देखियो । त्यसका लागि मैले अवैतनिक बिदा लिनुपय्रो र ६ महिना लिएँ पनि । जसकै कारणले मेरो सरकारी जागीरको पदोन्नति पनि ६ वर्ष पछि भयो र अन्ततस् अहिले एकतह मुनिबाटै सेवानिवृत्त हुनेभएँ । कतिपय मित्रहरुलाई यो प्रसङ्ग खुच्चिङ्को विषय पनि भएकोछ र पनि आफैंले पढेको विद्यालयलाई उच्च मावि हुँदै हाल क्याम्पसका रुपमा सञ्चालन भएको परिवेश मेरा लागि सदा असीम सन्तुष्टिको प्रसङ्ग बनिरहेकोछ र बनिरहने छ । समयको प्रवाहसँग लहराउँदै इन्द्रदाइलाई दैलेख अनौपचारिक शिक्षा परियोजनामा छाडी म सरकारी जागीरमा फिर्ता भएँ । यसमा पनि एउटा कथांश प्रासाङ्गिक बन्न पुगेको छ ।

कुरा के भयो भने, एक पटक दैलेख जिल्ला अनौपचारिक शिक्षा समितिको बैठकमा हामी दुबैलाई आमन्त्रण गरियो । बैठकको समापनपश्चात् शिक्षा अधिकारीज्यूले हामीलाई आफ्नो कार्यकक्षमा लगेर ‘ग्रिन डलर तपाईंहरु नै खानुहोस्, हामीलाई दिनोस् भन्दैनौं । तर तपाईंहरुले के गर्दै हुनुहुन्छ ? कहाँ गर्दै हुनुहुन्छ रु कसरी गर्दै हुनुहुन्छ रु जस्ता व्यहोरा त सामयिक रुपमा हामीलाई जानकारी गराउने गर्नुहोस् न !’ भने । थोरै बोल्ने स्वभावका इन्द्रदाइले नबोली-नबोली धार्नी हल्लाउनुभयो । तर मलाई भने सरकारी जागीरको तुजुकले शिक्षा अधिकारीको श्रेणी हेर्न उक्सायो ।

शौचको निहुँमा बाहिरिएर नियाल्दा ‘निमित्त शिक्षा अधिकारी’ भएको पत्ता लगाएँ । भित्र गएर ‘म पनि सरकारी कर्मचारी नै हुँ, संयोग सरसँग शायद यो नै पहिलो र अन्तिम औपचारिक भेट हुने भयो । वास्तवमा हामीले गरेको कामको रिपोर्टिङ् सम्बन्धित विद्यालय, व्यवस्थापन समिति, परियोजनाको मुख्यालयमा पनि यथासमयमा बुझाउनु पर्ने हुँदा रिपोर्ट समयमै तयार गर्नैपर्दछ । त्यो व्यहोरा यहाँ कार्यालयमा पनि पठाउने नै गरेकै छौं, कता मिस्प्लेस हुन पुगेछ कुन्नी ?’ भन्दोभएँ । तव जिशिअ साहेवले ‘के नासु हो तपाईं कहाँ काम गर्नुहुन्थ्यो ?’ भनी जिज्ञासा राखे । ‘अहिले दरबन्दी मनाङ् जिविसमा योजना, अनुगमन तथा प्रशासकीय अधिकृतका रुपमा कायम छ, म लेखनाथ नगरपालिकाको कार्यकारी अधिकृत हुँदा यता आएको थिएँ । सरको उपसचिव कहिले हजुर ?’ भनी व्यङ्ग कस्न मनलाग्यो ।

‘हैन म पनि शाखा अधिकृत नै हो, एकवर्षदेखि यहाँ काम गरिरहेको छु ।’

‘ए… अधिकृत त पुरानै होला ! कुन व्याच हजुर ?’

‘अँ पुरानै भन्नुपय्रो, १० वर्ष पुग्न लागे, ४८ को लट हो ।’

‘ए हाम्रो ३ वर्षको फरक रहेछ ।’

‘तपाईं ५१ को शाखा अधिकृत हो ?’

‘भन्न त कसैले ४४ को भन्छन् तर मैले ४५ आषाढमा नियुक्ति लिएकाले ४५ कै व्याच भन्न रुचाउँछु’, यति कुराकानी भएपछि जिशिअका लवाज नै भिन्न भए रे ! म्याक्स वेवरको कर्मचारीतन्त्र न हो, सिनियर र जुनियरको होश त पुय्राउनै पऱ्यो बरा । त्यसपछि साविकका प्रसङ्गहरुलाई बेवारिसे बनाउँदै हाम्रो बिदा गर्न माथिसम्म आई चिया पिएर छुट्टिएथे ।

भोलिपल्ट हामी दुल्लु फर्कंदा बाटो काट्ने औषधि नै बनेथ्यो त्यो प्रसङ्ग ! अनि इन्द्रदाइले नै मलाई सरकारी जागीरमा फर्कन कर गर्नु भएथ्यो । म फर्कें, वहाँ पनि जनयुद्धकालीन प्रतिकूलताले दैलेख छाड्नुभयो । हाल वहाँ सपरिवार बेलायतमा हुनुहुन्छ । शायद वहाँलाई पनि आत्मासन्तुष्टि मिलिरहेको हुनुपर्छ । हामी छुटेपछि पनि उपर्युक्त भनाइलाई मैले छाडिन । बरु ‘सके सपार, नसके नबिगार’ भन्दाखेरि आदेशात्मक कथनजस्तो महसूस गरी अचेल ‘सके सपारौं, नसके नबिगारौं’ भनी प्रयोगमा ल्याउने गरेको छु ।

आफू बसेका सम्पूर्ण कार्यालयहरुमा, कार्यालयबाट निस्कने सबै प्रकाशनहरुमा, आफ्नो घरमा, कार्यकक्षमा, कतै र कहीं पनिका मन्तव्य प्रकट गर्ने अवसरको अन्त्यमा, फेसबुक, भाइवर, म्यासेञ्जर, ट्वीटरका अभिव्यक्तिहरुमा, अहिले त कसैले कुनै मित्रता स्वीकार गरेपछि निजको वालपोष्टमा केही उल्लेख गर्ने अवसर पाएँ भने ‘…सके सपारौं, नसके नबिगारौं…’ लाई नाराकै रुपमा लेख्ने गरेको छु । माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुँदाका समारोहमा पनि प्रस्तुत गर्दा व्यहोरा उपयुक्तै ठहरियो, जसले पनि थप सन्तुष्टि दिलाएको छ । हातले छापा अक्षरमा लेख्दा माथि वायाँ र तल दायाँ कुनामा इन्द्र र तिलकको संक्षिप्त रुप ‘इति’ भनेर उल्लेख गर्दछु । शायद इन्द्रदाइमा पनि यस भनाइप्रति अपनत्व, लगाव हुनैपर्दछ । नभएपनि यो भनाइ दुईजना आत्मीय मित्रहरुको अन्तष्करणबाट प्रस्फुटिएर उद्धृतिएको हो । यसप्रति सम्मान प्रकट्दै सबै जनसमुदायसमक्ष सके राम्रो गरौं हैन सकिंदैन भने यथास्थितिमै रहनदिऊँ बिगार चाहीं नगरौं भन्ने सदाग्रह गर्न चाहन्छु, गरिरहेकोछु र जीवन पर्यन्त गरिरहने छु ।

…सके सपारौं, नसके नबिगारौं…!