प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति कति ?

प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति कति ?


प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री देउवाले आफ्नो सम्पत्ति विवरणमा डडेलधुरामा बुबाको नाममा ५६ रोपनी जग्गा, कञ्चनपुरमा १० विगाहा, असर्फी १० थान, सिक्री, औंठी लगायतका विवरण समावेश गरेका छन् ।

उनले आफ्नो सम्पत्ति विवरणमा बैंकमा जम्मा १६ लाख ५० हजार रहेको बताएका छन् । उनले आरजु देउवाको नाममा रहेको सम्पत्ति भने देखाएका छैनन् ।

देउवाले बूढानीलकण्ठस्थित घर र जग्गाको विवरण भने लुकाएका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाएर सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

यस्तै, सरकार परिवर्तन हुँदा प्रायः मन्त्री हुन नछुट्ने गच्छदारको सुनसरी दुहवी नपामा २/७ वर्ग्मिटरमा रहेको २ कोठाको टिनको छाना भएको पक्की घर, श्रीमती निर्मलाको नाममा विराटनगर महानगरपालिका–१५ मा दुईतले पक्की घर छ । त्यसैगरी, ७५ तोला सुनका धनी गच्छदार र उनकी श्रीमतीको नाममा दुहबी, विराटनगर, ललितपुरको बुङमतीलगायत विभिन्न स्थानमा जग्गा–जमिन रहेको विवरणमा उल्लेख छ ।

सम्पत्ति विवरण सार्वजनिक गरिएका मन्त्रीमध्ये सबैभन्दा धनी मन्त्रीका रुपमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ देखिएका छन् । उनको सम्पत्ति हेर्दा उनी अर्बपति मन्त्रीका रूपमा देखिएका छन् । उनको स्याङ्जा, पोखरा, रुपन्देही, काठमाडांैको कुलेश्वर र ललितपुरमा गरी सातवटा पक्की घर रहेको छ ।

उनको विभिन्न नाममा करोडौं मूल्यका जग्गा छन् । मन्त्री श्रेष्ठ र उनको परिवारका सदस्यको नाममा चार वटा गाडी रहेका छन् । गच्छदारसँग एक थान राइफल र १ थान बाह्रवोरको बन्दुक छ ।

यस्तै, अन्य केही मन्त्री पनि करोडपति देखिएका छन् । सम्पत्ति विवरण हेर्दा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित, कृषि विकासमन्त्री रामकृष्ण यादव, भौतिक योजनामन्त्री वीरबहादुर बलायर, युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, कानुनमन्त्री यज्ञबहादुर थापा, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुर, विज्ञानमन्त्री दीपक बोहोरासँग करोडौं सम्पत्ति छ । उनीहरुले विवरणमा सक्दो लुकाउने गरी पेश गरेको देखिन्छ ।