२ सय साठी रुपैयाँको लागि ज्यान लिने ४० वर्षपछि पक्राउ

२ सय साठी रुपैयाँको लागि ज्यान लिने ४० वर्षपछि पक्राउ


लमजुङ प्रहरीले ४० वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लाको राईनास नगरपालिका (साविक राईनास मोहोरियाकोट–४) का रेपबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत लमजुङले २०३७ सालमा थापालाई १० बर्षको कारावास सजाय सुनाएको थियो । थापालाई २०३४ साल पुस ९ गते स्थानीय भोजबहादुर थापाको हत्या गरेको अभियोग थियो । थापाले भोजबहादुरको साथबाट २ सय ६० रुपैयाँ लुटेर भीरबाट धकेलीदिएका थिए ।

भीरबाट खसेपछि घाइते बनेका भोजबहादुरको ६ महिनापछि मृत्यु भएको थियो । घाइते भएपछि परिवारले रेपबहादुरलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको थियो । भोजबहादुरको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दामा पुनः मुद्धा चलाइएको थियो ।

घटनापछि फरार अभियुक्तलाई ४० बर्षपछि निजकै घरबाट पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले जानकारी दिए । थापालाई पूर्व फैसलाअनुसार हिजो बुधबार जिल्ला कारागार चलान गरिएको छ । मुद्दा फैसला हुँदा अभियुक्त थापा जिल्ला अदालत लमजुङमा कार्यलय सहयोगी रहेको बताइएको छ ।

जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अन्य अभियुक्तहरुलाई पनि पछिल्लो समय खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । जिल्लामा अदालतको फैसला पछि अझैपनि तीनसय भन्दा बढी अभियुक्तहरु कैद भुक्तान नगरी फरार रहेको अदालतले जनाएको छ ।