दशैँपछि बढ्ने गरी घट्यो अण्डाको मूल्य

दशैँपछि बढ्ने गरी घट्यो अण्डाको मूल्य


दशैं, तिहारलगायतका चाड मनाउन राजधानीबाट सर्वसाधारण बाहिरिन थालेपछि काठमाडौं उपत्यकामा अण्डाको खपत घटेको छ । खपत घटेसँगै मूल्यमा पनि गिराओट आएको सम्बद्ध व्यवसायीहरुले जनाएका छन् ।

नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार ठूलो आकारका एक क्रेट अण्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य ३ सय ३० कायम गरिएको छ भने मध्यम आकारको अण्डाको खरिद मूल्य प्रतिक्रेट २ सय ७० कायम गरिएको छ ।

सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार खरिद मूल्यमा पाँच रुपैयाँ बढी लिएर बिक्री गर्ने चलन छ । उपभोक्ताले अण्डालाई बढी नै मूल्य तिरे पनि किसानले केही महिनायता निरन्तर कम मूल्य पाउँदै आएका थिए । चार महिनाअघि ठूलो अण्डाको खरिद मूल्य प्रतिक्रेट रु ३ सय ६० सम्म थियो भने मझौला अण्डाको किसानले प्रतिक्रेट रु ३ सय ३० मूल्य पाएका थिए ।

काठमाडौँबाट सर्वसधारण बाहिरिनु, सोह्र श्राद्धका कारण खपत कम हुनु, पहाडी क्षेत्रमा अण्डा पु¥याउन नसक्नु लगायतका कारण माग घटेसँगै अण्डाको मूल्य समायोजन गरिएको हो । केसीलाई उद्धृत गर्दै राससले जनाएअनुसार
दशैंको पूर्णिमापछि पुनः मूल्य वृद्धि हुने छ ।

लागत मुल्य बढ्ने र अण्डाको मुल्य घट्दा कृषक चिन्तित बनेका छन् । लेयर्स कुखुराको चल्लाको मूल्य प्रतिगोटा रु १७० पुगेको छ । दाना, औषधि, मजदुर, ढुवानी लगायतको मूल्य बढेकाले अण्डाको हालको मूल्यले लागत धान्न मुस्किल पर्ने सङ्घका महासचिव त्रिलोचन कँडेलले बताए । उपभोक्ता मूल्य प्रतिगोटा रु १४ रहेको छ नेपालमा हाल दैनिक २० लाख गोटासम्म अण्डा उत्पादन हुन्छ ।

चार वर्षअघि नेपालमा दैनिक २५ लाख गोटासम्म अण्डा उत्पादन हुने गरेको सङ्घका अध्यक्ष केसीले बताउनुभयो । कुखुरामा देखिने घातक रोग बर्ड फ्लुको प्रकोपले किसान विस्थापित हुँदा अण्डा उत्पादन घट्दै गएको हो । जमिन खण्डीकरण हुँदै जानु र अन्य रोगको प्रकोप बढ्नुले कुखुरा पाल्ने किसानको सङ्ख्या घट्दै गएको छ ।