काङ्ग्रेसबाट काठमाडौंमा को-को बन्दै छन् उम्मेदवार ?

काङ्ग्रेसबाट काठमाडौंमा को-को बन्दै छन् उम्मेदवार ?


देशको राजधानी काठमाडौंको दश संसदीय निर्वाचन क्षेत्र तथा बीस प्रदेश सभा क्षेत्रमा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार बन्न विभिन्न नेता र कार्यकर्ताको दौड सुरु भएको छ । ०७० मा सम्पन्न संविधानसभाको निर्वाचन परिणाम काङ्ग्रेसको पक्षमा पठाउने काठमाडौंले यसपटक कसलाई मौका दिने हो, स्पष्ट भइसकेको छैन । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ काङ्ग्रेसले र समानुपातिकतर्फ हिन्दूराष्ट्र तथा राजसंस्था पक्षधर दाबी गर्ने राप्रपा नेपालले सर्वाधिक मत हासिल गरेको थियो । स्थानीय निर्वाचनअघिसम्म काठमाडौं एमालेको पोल्टामा जान सक्ने अनुमान गरिँदै थियो, महानगर प्रमुखमा विजयी विद्यासुन्दर शाक्यको स्तर तथा उनको कार्य–व्यवहारले एमालेप्रतिको आकर्षणमा क्षति पु¥याएको छ । अबको निर्वाचनमा काठमाडौंमा एमाले पराजित भयो भने त्यसको मुख्य कारण विद्यासुन्दर नै हुन सक्ने देखिएको छ ।

सङ्घीय संसद्को सदस्यका सम्भावित उम्मेदवारका रूपमा काङ्ग्रेसका अधिकांश पुरानै नेताहरूको नाम चर्चामा आएको छ । काठमाडौंको क्षेत्र नं. १ मा प्रकाशमान सिंहको दाबी पुनः रहने निश्चित मानिएको छ । स्थानीय निर्वाचनमा उम्मेदवार चयन गर्ने क्रममा प्रकाशमान सिंहले आवश्यकताभन्दा ज्यादा हस्तक्षेप गरेको र आफ्नो निकटकाहरूलाई मात्र छानी–छानी टिकट दिएको कारण कार्यकर्ताहरू उनीसँग असन्तुष्ट बनेका छन् । प्रकाशमान आफैँ सात नम्बर क्षेत्रका बासिन्दा भए पनि उनलाई एक नम्बरका बासिन्दाले स्वीकार गरेका छन्, तर उनले भोजपुरका मोहनकुमार राई तथा माततीर्थतिरकी बासिन्दा कल्याणी रिजाललाई च्यापेका कारणले पनि असन्तुष्टि बढेको छ ।

प्रकाशमानसँग असन्तुष्टहरूले उक्त क्षेत्रबाट विनोद भट्टराई (सन्त नेता कृष्णप्रसाद भट्टराईका भतिज) या हरिबोल भट्टराईमध्ये एकलाई उम्मेदवार बनाउनु उपयुक्त हुने दाबी गर्न थालेका छन् । काङ्ग्रेस कार्यकर्ता, समर्थक र मतदाताहरू असन्तुष्ट रहेकाले तिनलाई सन्तुष्ट नबनाईकन प्रकाशमान १ नम्बर क्षेत्रमा चुनाव लड्न जानु उनका निम्ति निकै जोखिमपूर्ण हुन सक्ने ठानिएको छ । २ नम्बर निर्वाचन क्षेत्रमा दीपक कुइँकेल नै सबैभन्दा बलिया देखिएका छन् । तर, सो क्षेत्रमा उपेन्द्र कार्की र प्रतिमा गौतमले पनि उम्मेदवारी दाबी गर्ने भएका छन् । कार्कीलाई देउवा खेमाको काङ्ग्रेस नेताका रूपमा सो क्षेत्रमा चिनिन्छ । देउवासँग निकट भए पनि कार्की उक्त क्षेत्रमा कुइँकेल जति लोकप्रिय नरहेको बताइन्छ । ३ नम्बर क्षेत्रमा अम्बिका बस्नेत, गजेन्द्र लामा र परशुराम पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

हाल सांसद रहेकी बस्नेतले देउवासँग बलियो सम्बन्ध बनाएकीले सो निर्वाचन क्षेत्रमा उनी नै उम्मेदवार बन्ने सम्भावना प्रबल छ । ४ नम्बर क्षेत्रमा भने गगन थापालाई चुनौती दिएर उनीसँग उम्मेदवारीका लागि प्रतिस्पर्धा गर्न सक्ने अहिलेसम्म कोही देखिएका छैनन् । नरहरि आचार्य विजयी बनेको ५ नम्बर प्रदेशमा यसपटक विनोद भट्टराई र रमेश खड्काले पनि सम्भावित उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गरेका छन् । ६ नम्बर निर्वाचन क्षेत्रमा भीमसेनदास प्रधानलाई चुनौती दिएर अगाडि आउन सक्ने कोही देखिएका छैनन् । ७ नम्बर क्षेत्रमा प्रमिला सिंह र ओमदेवी मल्लको नाम सम्भाव्य उम्मेदवारका रूपमा अगाडि आएको छ । निर्वाचन क्षेत्र नम्बर ८ मा नवीन्द्रराज जोशी नै लोकप्रिय मानिन्छन् । त्यहाँ जुद्धरत्न बज्राचार्यले आफूलाई सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन् । ९ नम्बर क्षेत्रमा ध्यानगोविन्द रञ्जित बलिया मानिन्छन्, तर सो क्षेत्रमा तीर्थराम डङ्गोल, नवीन चित्रकार र दामोदर गौतमको नाम पनि चर्चामा छ । १० नम्बर क्षेत्रमा राजेन्द्रकुमार केसी (राजन) को विकल्प देखिएको छैन । तर, वडाध्यक्षदेखि मेयर र प्रदेश सभादेखि सङ्घीय संसद्सम्मको हरेक पदमा दाबी गर्ने व्यक्तिको रूपमा चिनिएका राजकुमार नकर्मीले पनि सम्भावित उम्मेदवारका रूपमा आफूलाई अघि सार्ने प्रयास गरिरहेका छन् ।

प्रदेश सभामा को कहाँ ?

सङ्घीय संसदमा पुरानै नेताहरूले रुचि देखाएका भए पनि प्रदेश सभामा भने युवा नेताहरूको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउन थालेको छ । काठमाडौंबाट प्रदेश सभामा बीसजनाले प्रतिनिधित्व गर्ने मौका पाउँदै छन् । १ नम्बर निर्वाचन क्षेत्रभित्र पर्ने प्रदेश सभामा एकातिरबाट रवीन्द्रविक्रम राणा (प्रकाश), कल्याणी रिजाल र सुरजचन्द्र लामिछानेले सम्भावित उम्मेदवारका रूपमा आफूलाई अघि सारेका छन् भने अर्कोतिर प्रबल थापा, राजु अर्याल, मोहनकुमार राई र ऋषिराज आचार्यको नाम ज्यादा चर्चामा छ । त्यस्तै, २ नम्बर क्षेत्र सीमाभित्र पर्ने दुई निर्वाचन क्षेत्रमा लोकेश ढकाल, रामजी भण्डारी, हरिश्चन्द्र श्रेष्ठ, ओम कार्की, दीपक थापा, शङ्कर थापा र दिलीप श्रेष्ठलाई सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ ।

३ नम्बर क्षेत्रमा दुई प्रदेश सभा सदस्यका लागि चारजनाको नाम विशेष चर्चामा आएको छ । दीपक रिजाल, लता घिमिरे, विमल ठकुरी र हरिबोल भण्डारीलाई प्रदेश सभा सदस्यको सम्भावित उम्मेदवारको रूपमा लिइएको छ । विमल ठकुरी दिवङ्गत सांसद चक्रबहादुर ठकुरीका सुपुत्र हुन् । ४ नम्बर क्षेत्रमा दुई प्रदेश सभा सदस्यका निम्ति राधा घले, नरोत्तम वैद्य, न्हुच्छेनारायण श्रेष्ठ, आत्माराम पौडेल, साधुराम खड्का, श्रीराम लामिछाने र सानु श्रेष्ठको नाम लिन थालिएको छ । त्यस्तै, ५ नम्बर क्षेत्रमा प्रदेश सभाको दुई सदस्यका लागि दामोदर खड्का, पे्रमबहादुर खड्का, मुरारी तामाङ, अनीषराम भट्टराई (वडाध्यक्षमा पराजित), गोकर्ण केसी र वसन्त श्रेष्ठको नाम चर्चामा आएको छ । प्रदेश सभाका निम्ति ६ नम्बर निर्वाचन क्षेत्रमा जीवन डङ्गोल, काठमाडौं काङ्ग्रेसका सभापति सबुज बानियाँ, वर्षराम भण्डारी, रुद्रमान मानन्धर, न्हुच्छेनारायण मानन्धर, श्याम खड्की र इन्द्रमान महर्जनको नाम चर्चामा अगाडि छ ।

यस्तै, ७ नम्बर निर्वाचन क्षेत्रमा धर्म अर्याल, सुदर्शन आचार्य, उत्तम भट्टराई, विनोद पन्त र प्रमोदहरि गुरागाईंमध्ये कुनै दुईजनाले उम्मेदवार बन्न पाउने विश्वास गरिएको छ । ८ नम्बर निर्वाचन क्षेत्रमा भने तीनमध्ये दुईले प्रदेश सभा सदस्यको उम्मेदवार बन्न पाउने प्रबल सम्भावना छ । सो क्षेत्रमा कृष्णा अमात्य, अमिन पाण्डे र राजेश श्रेष्ठको नाम विशेष रूपले चर्चामा अगाडि आएको छ । ९ नम्बर विर्नाचन क्षेत्रमा जयकृष्ण महर्जन, राजन केसी, श्यामकृष्ण खड्का र धर्म गौतममध्ये कुनै दुईजनाले प्रदेश सभा सदस्यको उम्मेदवार बन्न पाउने सम्भावना रहेको छ । १० नम्बर निर्वाचन क्षेत्रमा भने प्रदेश सभाको दुई सदस्यका लागि पौने एक दर्जन व्यक्ति उम्मेदवार बन्न प्रतिस्पर्धामा देखिएका छन् । पुकार महर्जन, प्रणयसिंह मुन्ना, धर्म केसी, इन्द्रमान तुलाधर, कृष्णमान डङ्गोल र राजकुमार नकर्मीको नाम चर्चामा अलिक अगाडि रहेको छ । उल्लिखित व्यक्तिहरूमध्ये राजकुमार नकर्मी गत निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवार बनेर पराजित व्यक्ति हुन् ।

काठमाडौंमा काङ्ग्रेसका तर्फबाट उम्मेदवार बन्न सक्ने व्यक्तिको नाम यसरी चर्चामा आएको भए पनि नेतृत्वले ज्यादा हस्तक्षेप गरेको अवस्थामा जहाँ जो कुनै व्यक्तिलाई उम्मेदवार बनाइन सम्भव छ । तर, त्यसो गरिएमा काङ्ग्रेसले काठमाडौंमा ठूलो क्षति व्यहोर्नुपर्ने सम्भावना देखिएको छ ।