जेन्डर शब्दको निहितार्थ र गलत प्रयोग

जेन्डर शब्दको निहितार्थ र गलत प्रयोग


– ममता शर्मा नेपाल

हिजोआज कतैकतै आवेदन फारम वा अन्य ‘अफिसियल डकुमेन्ट्स’ हरुमा लिङ्ग अंकित गरिनु पर्ने कोष्ठमा जेन्डर भनेर लेखिएको पाइन्छ । जसमा आवेदक वा निवेदकले आफु कुन लिङ्गको (स्त्री, पुरुष, वा तेश्रो लिङ्गी) मानिस हो त्यसको पहिचान दिलाउनु पर्ने हुन्छ । के लिङ्ग र जेन्डरको अर्थ उस्तै हो ? लिङ्ग लेख्नु पर्ने ठाउँमा जेन्डर लेख्न मिल्छ ? प्रश्न सामान्य लाग्न सक्ला वा औचित्यहीन पनि लाग्न सक्ला तर यी दुई शब्दले बोकेका भाव र अर्थ धेरै फरक छन् । यी दुई शब्दहरुको फरक भावार्थ हुँदाहुँदै पनि यिनलाई धेरै व्यक्तिले एउटै अर्थ मानेर प्रयोग गरिरहेको पाइन्छ । यसबाट के परिणाम निस्कन्छ भने जुन उद्देश्य, प्रयोजन र अवधारणा अनुसार ‘जेन्डर’ शब्दको अविष्कार गरियो त्यो अर्थहीन हुन जान्छ र ‘जेन्डर’ को मर्म पनि लुप्त हुनपुग्छ ।

जेन्डर सामाजिक लिङ्गको रुपमा आएको नयाँ अवधारणा हो । अथवा यसलाई यसरी पनि भन्न सकिन्छ, ‘लिङ्ग’ शब्द भन्दा यो निकै कान्छो छ । ‘लिङ्ग’ भनेको ‘बायोलोजिकल’ कुरा हो जुन प्राकृतिक हुन्छ । मानिस जन्मे पछि चिकित्सकले उसको लिङ्ग हेरेर केटा वा केटी के जन्मियो त्यो निर्धारण गर्दछ । अनि समाजले उ छोरा वा छोरी जन्मेको आधारमा उसप्रति गर्ने अपेक्षा र व्यवहार चाहीं जेन्डर अर्थात सामाजिक लिङ्ग हो । केटा र केटीको प्राकृतिक लिङ्ग विश्वभरि उस्तै हुन्छ भने उनीहरुको सामाजिक लिङ्ग समाजअनुसार फरक हुन्छ । किनकि छोरा र छोरी कसलाई बढी प्राथमिकता दिने, महिला र पुरुषको कस्तो भूमिका हुने, समाजमा कसको हैसियत र सम्मान उच्च हुने, श्रोत–साधन र शक्तिमा कसको पहुँच बढी हुने भन्ने कुरा त्यहाँको समाजले निर्धारण गर्छ । यी विषय समाज कत्तिको पितृप्रधान छ त्यसमा भर पर्छ । महिला र पुरुषका बीचमा हुने भेदभाव प्राकृतिक होइन भनेर महिला अधिकारवादीहरुले पनि उठाउँदै आएको विषय हो । त्यस्तै जातीय तथा वर्गीय भेदभाव पनि प्राकृतिक होइनन् । यी पनि समाजले नै बनाएका हुन् ।

नेपालमा भइरहेको जेन्डरको बुझाइ र प्रयोगबारे एउटा अन्तरवार्तामा भारतीय नारीवादी लेखक तथा लैङ्गिक विश्लेषक कमला भासिनले यसरी भनेकी छन्– ‘….नेपालमा जेन्डरलाई लिङ्गको अर्थमा प्रयोग गर्ने गरिन्छ, त्यो सही शब्द होइन । जेन्डरलाई लिङ्ग भन्ने हो भने तपाइले जेन्डरको बहस नै अन्त्य गरिदिनुभयो । किनभने नेपालीमा लिङ्गको दुइटा अर्थ हुन्छ– पेनिस (पुरुषको यौनाङ्ग) र सेक्स अर्थात् भाले, पोथी । तर जेन्डर भनेका यी दुवैभन्दा निकै भिन्न हो । जेन्डर भनेको सामाजिक लिङ्ग हो ।’

जेन्डरको अवधारणा अस्सीको दशकमा विकसित भएको हो । यो मूलतः सन् १९६० र सन् १९७० को दशकमा विश्व महिला आन्दोलनले ल्याएको उपलब्धि हो । दोश्रो विश्व युद्धपछि महिलाका अवस्था झन्झन् नाजुक बन्दै गएपछि संसारभरिका महिलाले विश्व समुदायलाई महिलाको अवस्था उकास्नका लागि दबाब दिएपश्चात प्राप्त भएको सफलता हो यो । महिला आन्दोलनले अब उप्रान्त विकासका हरेक कार्यक्रममा महिलालाई पनि सहभागी गराउनै पर्ने विश्व समुदायलाई दवाव दियो । फलस्वरुप सत्तरीको दशकमा विकासमा महिला (विड) तथा विकास र महिला (वेड) जस्ता अवधारणाहरु प्रयोगमा ल्याइए तर यी अवधारणाले महिलाका अवस्थामा आशा गरिए अनुसारको उपलब्धि ल्याउन सकेनन् । यस पछि अस्सीको दशकमा जेन्डरको अवधारणा ल्याइएको हो जसलाई विश्वका लगभग सबै राष्ट्रले अनुमोदन गरेका छन् ।

एउटा अन्तरवार्तामा भारतीय नारीवादी लेखक तथा लैङ्गिक विश्लेषक कमला भासिनले यसरी भनेकी छन्– ‘….नेपालमा जेन्डरलाई लिङ्गको अर्थमा प्रयोग गर्ने गरिन्छ, त्यो सही शब्द होइन । जेन्डरलाई लिङ्ग भन्ने हो भने तपाइले जेन्डरको बहस नै अन्त्य गरिदिनुभयो । किनभने नेपालीमा लिङ्गको दुइटा अर्थ हुन्छ– पेनिस (पुरुषको यौनाङ्ग) र सेक्स अर्थात् भाले, पोथी । तर जेन्डर भनेका यी दुवैभन्दा निकै भिन्न हो । जेन्डर भनेको सामाजिक लिङ्ग हो ।’

जेन्डर शब्दले महिलालाई मात्र इंगित गर्ने होइन । यो अवधारणाले महिला पुरुष दुवै लिङ्गलाई समान दृष्टिले व्यवहार गर्न झक्झकाउँछ । एउटा लिङ्गले अर्को लिङ्गलाई विभेद तथा शोषण गर्न निषेध गर्छ । धेरैले जेन्डरलाई महिलासँग सम्बन्धित विषय हो भनेर पनि बुझेको पाइन्छ । यस्तो भ्रम किन पनि भयो भने नेपालमा मात्रै होइन संसारभरि नै पुरुषको तुलनामा महिलाको अवस्था राम्रो छैन । महिलाहरु पीडित, शोषित र दमित छन् । महिलामाथि सबै किसिमका हिंसा र विभेद हुने गर्दछ । त्यसैले पुरुषका तुलानामा महिलाका मुद्दाहरु समाचारका रुपमा पनि आउने र महिलामाथि हुने हिंसा तथा विभेद नियन्त्रण गर्न नीति, नियम तथा कानुन पनि बनाउने गरिन्छ । नेपालले पनि लैंगिक हिंसा तथा विभेद कम गर्न घरेलु हिंसा विधेयक, लैंगिक उत्तरदायी बजेट, महिला आरक्षण आदि विभिन्न रणनीतिहरु ल्याएको छ । जसको मुख्य उद्देश्य हो समाजमा लैंगिक समानता कायम गर्नु । अहिले महिलामाथि भइरहेको शोषण, हिंसा र विभेद यदि पुरुषमाथि हुन्थ्यो भने पनि यही जेन्डरको अवधारणा अनुसार नै रोकथाम गरिन्थ्यो । तसर्थ जेन्डर महिलालाई पनि पुरुष सरहको स्थानमा ल्याउने एउटा लैंगिक अवधारणा हो । महिलालाई मात्र केन्द्रमा राखेर महिलाको मात्र मुद्दा उठाउनका लागि त नारीवाद नै छ ।

केही समय यता महिला र पुरुष बाहेक अर्को लिङ्गको पनि बहस चल्ने गरेको छ । जुन तेश्रो लिङ्गीको नामले चिनिन्छ । तेश्रोलिङ्गीभित्र शारिरिक-प्राकृतिक तथा व्यक्तिगत वा मनोवैज्ञानिक दुवै किसिमका लिङ्गीहरुलाई राखिएको छ । जन्मिदा केटा र केटी दुवै लिङ्ग भएको वा दुवै (कुनै पनि) लिङ्ग नभएको र जन्मिदा एउटा लिङ्ग भएको तर उसको चाहना र व्यवहार अर्को लिङ्गको भएको यस्ता लैंगिक पहिचान भएका व्यक्तिलाई लैङ्गिक अल्पसंख्यकको रुपमा परिभाषित गरिएको छ । नेपालले यस्ता अल्पसंख्यकको चाहना र मानवअधिकारलाई ध्यानमा राखेर सन् २००७ मा उनीहरुको लैंगिक पहिचानलाई कानुनी मान्यता प्रदान गरेको छ । यसरी तेश्रो लिङ्गीलाई पनि जेन्डरको विषयभित्र समावेश गरिएको छ ।

शब्दहरु त्यसै बन्दैनन् र तिनको अर्थ पनि खास–खास अन्तरवस्तुमा निहित हुन्छ । शब्दका अर्थहरूको प्रश्न सामान्य व्याकरणीय मात्र हुँदैन । यसका पछाडि इतिहासका बहुआयामिक कारकहरुले काम गरेको हुन्छ । यसमा राजनीतिदेखि संस्कृतिसम्मका अनेक तत्वहरुको हात हुन्छ । सामाजिक आन्दोलन र तिनका निहितार्थहरुको प्रभाव हुन्छ । यो कुरा नबुझी जेण्डर र लिङ्ग शब्दलाई मिसमास गर्नु बिडम्बनाको विषय हो ।