प्रथम आईएफके करातेमा रुपक र बिन्दु च्याम्पियन

प्रथम आईएफके करातेमा रुपक र बिन्दु च्याम्पियन


नेपाल आर्मीकी बिन्दु पुन मगर र कास्कीका रुपक नेपाली प्रथम आईएफके पुरुष तथा महिला खुला क्योकोसिन कराते प्रतियोगितामा च्याम्पियन भएका छन् । पुरुषतर्फको खुला फाइनलमा रुपकले ललितपुरका गोपाल महर्जनलाई हराउँदै च्याम्पियन भएका हुन् ।

महिला खुलातर्फ नेपाल आर्मीकी बिन्दुले फाइनलमा आफ्नै विभागकी मञ्जु विकलाई हराउँदै च्याम्पियन भइन् । दुवैतर्फको च्याम्पियनले ट्रफी र नगद २५ हजार प्राप्त गरेका थिए ।

महिला र पुरुषमा पहिलो र दोस्रो हुनेलाई भाटभटेनी क्लबका अध्यक्ष उमेश गुरुङले क्रमशः ५ हजार र २ हजार प्रदान गरे । प्रतियोगितामा मकवानपुरका सन्तोष लामालाई उत्कृष्ट फाइटर घोषित गरिएको इन्टरनेसनल फेडेरेसन अफ करातेका ब्रान्च चिफ गणेशलाल कक्षपतीले बताए । लामालाई के ब्याग स्पोर्टस् प्रालिले नगद १० हजारबाट पुरस्कृत गरेको थियो ।

प्रतियोगितामा क्योकुशिनका विभिन्न विधाका च्याम्पियनले मात्र सहभागिता जनाएका थिए । एकदिने प्रतियोगिताको उद्घाटन नेपाल क्योकुशिन कराते संघ बज्रका अध्यक्ष जगतप्रसाद गौचनले गरेका थिए । विजेता खेलाडीलाई इन्टरनेसनल फेडेरेसन अफ करातेका अध्यक्ष कमल बस्न्यात र नेपाल मुँआथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले पुरस्कृत गरे । प्रतियोगितामा कुल २८ प्रोफेसनल फाइटरको सहभागिता रहेको थियो ।