पोर्चुगलमा युरोप नै आतंकित पार्ने हत्याकाण्ड

पोर्चुगलमा युरोप नै आतंकित पार्ने हत्याकाण्ड


– डिल्लीराम अम्माई

पोर्चुगलको नेपाली समाज यतिबेला त्रसित बनेको छ । यही सेप्टेम्बर १२ का दिन पोर्तुगलमा भएको एउटा हत्याकाण्डले र घटना एउटा नेपालीकै आवेगको कारणले घटे पनि वा त्यसको परिदृश्यलाई जतिसुकै काँटछाँट गरेर बाहिर ल्याउन खोजिए पनि घटनाले युरोपमा भएका नेपाली समाजभित्र असंगठित रुपमा आतंकवादी सोचले पर्दा उठाउन खोजेको कुराको संकेत देखाएको छ ।

यसपटक हरिबहादुर र ओमबहादुर अर्जुनको आतंकवादी मनोदशाको शिकार हुन पुगे, जसमध्ये एकजनाको मृत्यु नै हुन पुग्यो । तर यो बदला लिने र मार हान्ने सोच अहिले पोर्चुगलमा मात्र सीमित नभई भौतिक रुपमा उत्रि नसकेको भए पनि शीतयुद्धको रुपमा बेल्जियमलगायत धेरै युरोपियन देशका नेपाली समाजमा ब्याप्त छ । यसलाई मनोवैज्ञानिक रुपमा न्यूनीकरण नगर्ने हो भने यसले कुनै पनि बेला बेल्जियमलगायत नेपाली समाजले भौतिक क्षति ब्येहोर्नु पर्ने अवस्था आउन सक्छ ।

बेल्जियममा पत्रकारहरुमाथि गरिएका भौतिक हमलाहरु हुन् वा अहिले बेल्जियममा भएको एनआरएनएको चुनावपछि जनसम्पर्क समिति र ओएनएफभित्र देखिएको चरम शीतयुद्ध र आक्रमणको तयारी अवस्थालाई हेर्दा अब कुनै पनि बेला अप्रिय घटना घट्न सक्ने अनुमानलाई नकार्न सकिँदैन ।

पोर्चुगलमा अभियुक्त अर्जुन सापकोटाद्वारा घटाइएको घटनाको कारण हेर्दा त्यति ठुलो देखिँदैन । उनी कामबाट निकालिँदा अर्कोले चुक्ली लगाएको आशंकाले एकजनाको ज्यान गएको छ भने मृतकका भाइ ओम जिसी घाइते भएका छन् । अर्थात्, भाइलाई हान्न उध्याइएको चक्कुले दाजुको मुटु छिचोलेर ज्यान लिएको छ ।

यस घटनापछि आतंकवादका झिल्काझिल्कीहरु मुस्लिम कट्टरपन्थीबीच खोज्दै गरेका युरोपियन सुरक्षा निकायको ध्यान नेपालीहरु तिर पनि सरेको छ, जुन कुरा अत्यन्त गम्भीर मात्र नभई नेपालीको अहिलेको पुस्ता र भावी पुस्ताको लागि पनि नराम्रो संकेत हो । अब नेपालीले काम खोज्दै जाँदा यो घटनाको समाचार पढेका युरोपियनहरुले विश्वासको रुपले नहेरी आशंकाको रुपमा हेर्ने कुरा निश्चित छ ।

अब केहीबेर हाम्रो कर्मभूमि बेल्जियमका असामाजिक गतिविधि बारे पनि समीक्षा गरौँ । घर झगडामा अत्यन्त वदनाम भएको नेपाली जनसम्पर्क समिति बेल्जियमको सनकी नेतृत्वले गर्दा एनआरएनएको चुनाबमा पटकपटक जुन परिणाम भोगिरहेको छ त्यसको कारण खोज्नेतर्फ नेतृत्वले कहिल्यै ध्यान दिएन । पत्रकार महासंघ युरोप शाखाका अध्यक्षलगायत माथि गरिएको अभद्र सांघातिक आक्रमण पनि राजनैतिक भाषामा एउटा आतंकवादी कार्य नै थियो, जसको मनोवैज्ञानिक नकारात्मक असर सम्पूर्ण युरोपियनवासी नेपाली र विशेष गरेर बेल्जियम समाजमा परेको कुरा घमण्डी र अदुरदर्शी नेतृत्वले बुझ्न सकेन ।

तर त्यो नेतृत्वले आफै आत्मा समीक्षा नगरे पनि जनसाधारणले चुनावमा छानीछानी दनक दिए । गल्ती एउटाले गरे तर दनक निर्दोषले खप्नु पर्यो । पराजयको यो महत्वपुर्ण पाटोलाई नेतृत्वले कहिले बुझ्ला त्यो त भविष्यकै गर्भमा छ । तर अन्तर्घातको महाचक्रमा फसेको भनिएको जनसम्पर्क समिति बेल्जियमभित्रको बदलाको आतंकवादी मनोरोग अहिले बेल्जियमको दुवै ग्रुपमा ब्याप्त छ ।

एउटा पक्षले अर्को पक्षको कार्वाहिको लागि हतियारहरु उध्याइरहेको अवस्था हो अहेलेको । हामी सबै नेपालीको गुठी मालिकहरुलाई अनुरोध छ । उध्याइएका हतियारहरु थन्क्याइयोस र प्रतिरोधात्मक शैलीलाई त्यागेर हिजो पोर्चुगलबाट नेपालीको गिदीमा लागेको हिंसात्मक ब्रेन ट्युमरलाई अप्रेशन गरेर फाल्नेतर्फ ध्यान दिइयोस् ।

आखिर हल्काफुल्का आशंका र इगोको कारण पोर्चुगलमा दुःखजिलो गरेर जीविकोपार्जन गरिरहेका ४४ वर्षीय हरिबहादुर जिसीमाथि चक्कु प्रहार भएको छ। इगो धरिएका ३८ वर्षीय ओम जिसी सामान्य घाइते बनि घर फर्किएका छन् । दुई दाजुभाइ झन्डै ५ वर्षदेखि श्रीमती र ३ वर्षीया छोरीका साथ पोर्चुगलमा बस्दै आएका थिए । उनले सामाजिक रुपमा कसैको कुभलो गरेका पनि थिएनन् ।

तर दानबी आशक्तिले उनैलाई पहिलो शिकार बनायो । अब ती नाबालक बच्ची र उनकी आमाको आफ्ना देवर र अङ्कल बाहेक कोहि सहारा छैन । त्यसको लागि त्यहाका संघसंस्थाले अवश्य आफ्ना आधिकारिक धारणाहरु बनाउलान् र असहायहरुको आशा बन्लान् भन्ने कुरा आशावादी बन्नुबाहेक हामीसंग अर्को विकल्प पनि छैन ।

अर्को कुरा अब नेपालीहरुले यो वा त्यो गुटको नजिक भएको आधारमा फरार अपराधीलाई लुकाउन खोज्ने नगरियोस् । अन्यथा मृतकको आत्माले सराप्ने छ । उनि जो सुकै हुन्, जहाँसुकैका हुन्, अपराधी हुन् र अपराधीको संरक्षण पनि अर्को जधन्य अपराध नै हो । धादिङ स्थायी घर भएका हत्याआरोपी अर्जुन सापकोटा स्थायी बसोवास गर्ने कानुनी अधिकार नपाइसकेकोले खोज्न कठिनाइ भैरहेको बताइए पनि एकदिन उनी समातिने पक्का छ । त्यसमा युरोपभित्रको नेपाली वा संघसंगठन कहिँकतै नमुछियोस् भन्नेमा नेतृत्व सजक होला भन्नेमा पूर्ण ढुक्क नभएपनि आशा गर्न सकिएला ।