निर्वाचन आयोगलाई पहिलेका चुनावको अनुभव लाभकारी

निर्वाचन आयोगलाई पहिलेका चुनावको अनुभव लाभकारी


तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहका साथ भइरहेको, मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको निर्वाचन आयोगले जानकारी दिएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार तेस्रो चरणमा स्थानीय तह निर्वाचन हुने प्रदेश नं २ का आठ जिल्ला गरी तीन हजार ५ सय ७७ मतदान केन्द्र कायम गरिएको छ भने १ सय ३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि २६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेका छन् । यस प्रदेशका स्थानीय तहका विभिन्न पदका लागि ३७ हजारभन्दा बढी उम्मेदवारी परेको पनि आयोगले जानकारी दियो ।

निर्वाचन आयोगले अघिल्ला निर्वाचनमा मत बदरको प्रतिशत अत्याधिक भएकोले यसपटक यसपटक मतदाता शिक्षालाई विशेष जोड दिएको छ । स्थानीय भाषामा स्थानीय एफएम रेडियोमार्फत निर्वाचनको प्रचारप्रसार गर्ने तथा गैरसरकारी संघसंस्था र राजनीतिक दलका युवा संगठनलाई पनि मतदाता शिक्षामा सहयोग गर्न आयोगले अपिल गर्दै आएको छ । यस्तै, सडक नाटकमार्फत पनि मतदाता शिक्षा प्रदान गरिएको छ ।

चुस्त मतगणनाका लागि यसपटक आवश्यकताअनुसार १२ टोलीसम्म गठन गर्ने र भरसक पाँच दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने सोच आयोगले राखेको बताइएको छ । पहिलेका अनुभवका आधारमा सबै कुरामा तयारी गर्न निकै मद्दत पुगेको आयोग सुत्रले जानकारी दियो ।