लमजुङ कांगेसमा अन्तरघात मौलायो : महत

लमजुङ कांगेसमा अन्तरघात मौलायो : महत


नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्ब परराष्ट्र मन्त्री प्रकाशशरण महतले लमजुङ कांग्रेसमा भुसे आगो सल्किएको बताए । लमजुङ कांग्रेस बलियो भएपनि गुट उपगुट र अन्तरघात मौलाएका कारण चुनाव हार्नुपरेको भन्दै नेता महतले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेस लमजुङ–काठमाडौं तथा नेवि संघ लमजुङ–काठमाडौं सम्पर्क समितिको संयुक्त आयोजनामा राजधानीमा आयोजित वडा दशै, शुभ दिपावली तथा छठको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रममा बोल्दै नेता महतले जिल्ला नेताहरुलाई संवेदनशिल भएर सोच्न अनुरोध गरेका छन् । नेता महतले राइनस नगरपालिकाको ८ वटा वडामा कांग्रेसले जित्ने तर मेयर हारेको भन्दै यो अन्तरघात र गुट उपगुटको पराकाष्ठ भएको बताए । “चुनावमा एमालेलाई सहयोग गर्ने अनि पार्टी हारेपछि फेरी कांग्रेस हुँ भन्दै पार्टीमा फर्किने अन्तरघातीहरु धेरै भए ।” नेता महत भन्छन्, “टिकट जस्ले पाए पनि के भयो । आखिर कांग्रेसकै ब्यक्तिले टिकट पाएको हो । अनि किन असहयोग ।”

लमजुङमा कांग्रेसको पकड भएको ठाउँमा कांग्रेसकै जिम्मेवार नेताका कारण पार्टी हारेको भन्दै नेता महतले अब यस्तो गल्ती नगर्न जिल्ला नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् । “बेसीशहर नगरपालिकामा कांग्रेसको जित पक्का थियो तर त्यहाँ पनि अन्तरघातीहरुले हराए ।” उनले भने, “चित्त नबुझेका कुराहरु घरभित्रै बसेर छलफल गर्नुपर्छ । तर कांग्रेस नै कांग्रेस हराउ अभियानमा लागेको चाँही राम्रो हुँदैन् ।”सो अवसरमा लमजुङका नेताहरु रामचन्द्र अधिकारी, रामबहादुर गुरुङ, तुलसी नारायण श्रेष्ठ, डिकेन्द्रराज कडेंल, डा. टकराज गुरुङ, विष्णु धिताल तथा विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।