मुक्केबाज सुशीलले यसरी पाए नागरिकता

मुक्केबाज सुशीलले यसरी पाए नागरिकता


राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा गई सनाखत गरिदिएपछि सुशीललाई नागरिकता पाउन सहज भएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सुशीललाई वंशजका आधारमा नागरिकता हस्तान्तरण गरेका थिए । सुशील पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ४९ केजीका स्वर्ण विजेता हुन् ।

राखेप सदस्य–सचिव विष्टले देशको गौरव र सम्भावना बोकेको खेलाडीले नागरिकता पाउनु खुशीको कुरा भएको बताउँदै जिल्ला प्रशासन कार्यालयले खेलाडीलाई न्याय गरेको धारणा व्यक्त गरे । उनले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपले सुशीललाई नागरिकता दिलाउन पहल गरेको बताउदै १३ औं सागको तयारीका लागि सुशीललाई वैदेशिक प्रशिक्षणमा पठाउन बाटो खुलेको बताए ।

सदस्य–सचिव विष्टले खेल क्षेत्रको मात्र नभइ अन्य क्षेत्रका नागरिकता पाउनबाट छुटेको प्रतिभाहरुको पनि खोजी गरी नागरिकता दिन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।

सुशीलले नागरिकताकै कारण पासपोर्ट नबनेपछि चार अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउदा आफू निराश हुनु परेको स्मरण गर्दै नागरिकता पाएपछि आफूले जिन्दगीकै स्वर्ण पदक जितेको महशुस गरेको प्रतिक्रिया दिए । उनले बक्सिङ परिवारका साथै नागरिकता दिलाउन पहल गर्ने सम्पूर्णलाई धन्यवाद दिदै अब आफ्नो लागि भन्दा पनि देशका लागि केहि गर्छु भन्ने अठोट लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।