चुनाव गराउन काङ्ग्रेस नै चाहिन्छ : डा. महत

चुनाव गराउन काङ्ग्रेस नै चाहिन्छ : डा. महत


हरिवन (सिराहा) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले मुलुकमा गत २० वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन नेपाली कांग्रेसको नेतृत्वका कारण सम्पन्न भएका दाबी गरेका छन् । मुलुकका सबैजसो ऐतिहासिक परिवर्तनमा नेतृत्व प्रदान गरी अहम भूमिका निर्वाह गर्दै आएको कांग्रेसको पहल नभएको भए चुनाव सम्भव नहुने उनको तर्क छ ।

बुधबार बिहान सर्लाहीको नवलपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा. महतले भने– यसबीचमा धेरै पार्टीका सरकार बने, एमालेले पनि दुई पटकसम्म सरकार चलायो, सकेको भए उनीहरु पनि गर्थे, तर निर्वाचन गर्न भने कांग्रेस नै चाहियो ।

प्रजातन्त्रको स्थायित्व र संविधानको कार्यान्वयनका लागि नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले नै आगामी मंसिरमा केन्द्र र प्रदेशको निर्वाचनको तयारी थालिसकेको उनले जानकारी दिए ।

अहिले प्रदेश नम्बर २ मा हुन गइरहेको निर्वाचनका लागि देशव्यापी रुपमा माहोल बनेको मात्र नभई आमनागरिकको यो रुपको खुसी र चासो देखिनुमा पनि कांग्रेसको नेतृत्वको सरकारको कारणले भएको उनको टिप्पणी थियो ।

नेता डा.महतले भने– यो निर्वाचनको अभियानमा प्रदेश नं. २ का पनि सबै नागरिक समेटियुन र सबैको सहमतिमा शान्तिपूर्ण निर्वाचन होस भनेर नै यहाँ तेस्रो चरणमा निर्वाचन तोकिएको हो र यो निर्वाचन पनि कांग्रेसको नेतृत्वको सरकार नभएको भए सम्भव नै थिएन ।

कांग्रेसले क्षणिक रुपमा फाइदा लिनका लागि हुँदै नहुने काम पनि गरिदिन्छौँ भनेर जनताका अघि सपना नबाँड्ने र जे गर्न सकिन्छ त्यो मात्र भन्ने गर्छ भन्दै नेता डा. महतले यो देशको विकास र समृद्धिका लागि कांग्रेस नै बलियो हुनुपर्ने तर्क गरे ।

महतसहित नेपाली कांग्रेसका नेताहरू यतिखेर निर्वाचन प्रचारप्रसार अभियानका लागि तराईमा छन् ।