दशैंलगत्तै मिदिम करापुको विद्युत

दशैंलगत्तै मिदिम करापुको विद्युत


लमजुङस्थित तीन मेगावाट क्षमताको मिदिमखोला (करापु) जलविद्युत आयोजनाले निर्माण कार्य सम्पन्न गरेको छ । आयोजना निर्माण सकिएसँगै प्रवद्र्धक कम्पनी युनियन हाईड्रोपावरले दशैंलगत्तै विद्युत उत्पादन थाल्ने जानकारी दिएको छ ।

आयोजना निर्माणको कार्य सम्पन्न भएसँगै प्रवद्र्धक कम्पनी युनियन हाईड्रोपावर यतिबेला परीक्षणमा जुटेको आयोजनाका जनसम्पर्क अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार निर्माण कार्य सकिएसँगै आयोजनाको सुरुङ, पेनस्टक पाइप र विद्युत गृहको परीक्षण भइरहेको छ । ‘हामीले पहिलो चरणमा सुरुङ, पेनस्टक पाइप र सेट्लिङ बेशीनमा पानी पठाएर परीक्षण गरिरहेका छौँ’, अधिकारीले भने, ‘परीक्षण एक सातासम्म चल्नेछ ।’

निर्माण सम्पन्न यो आयोजनामा जडित टर्बाइन लगायतका उपकरणहरुको केही काम भएकोले विद्युत गृहको परीक्षण दोस्रो चरणमा गर्ने आयोजनाका प्रमुख आवासीय इन्जिनियर दिप बहादुर सिंहले बताए । उनका अनुसार आयोजनाको पेनस्टक पाइप जडान भएको ठाउँमा र सुरुङमा चुहावट भए नभएको परीक्षण भइरहेको छ ।

आयोजनामा ११२१.२४ मिटर लामो भुमिगत सुरुङ, ३४३.५ मिटर पेनस्टक पाइप र १५५.६ मिटर लामो कल्भर्टको निर्माण गरिएको छ । प्रवद्र्धक कम्पनी युनियनले आयोजनाको परीक्षण र प्रसारण लाइनको निर्माणको कार्यलाई एकसाथ अघि बढाइरहेको छ । आयोजनामा प्रसारण लाइन निर्माणको कार्य बाँकी रहेकोले सबै परीक्षण एकसाथ गर्न नपाएको इन्जिनियर सिंह बताउँछन् । ‘आयोजनाको विद्युत गृहदेखि भोर्लेटारसम्मको ९ किलोमिटर लामो प्रसारण लाइनको निर्माण कार्य भइरहेको छ’, जनसम्पर्क अधिकृत अधिकारीले भने, ‘प्रसारण लाइन निर्माणको काम ५ किलोमिटर सकिएको छ । १० दिन भित्र लाइन निर्माणको कार्य सकिनेछ ।’

आयोजनाको विद्युत गृह रहेको स्थान मध्यनेपाल–८ (करापु) पत्तरीबाट भोर्लेटारसम्मको ९ किलोमिटर लामो प्रसारण लाइन निर्माणको काम प्रवद्र्धक कम्पनी आँफैले गरिरहेको छ । आयोजनासँगको सम्झौतामा नेपाल विद्युत प्राधिकरणले भोर्लेटारमा शवस्टेशन निर्माण गरेर आयोजनाको विद्युत शवस्टेशनमा जोड्ने र ग्रिडमा पठाउने भएपनि अहिलेसम्म त्यसको निर्माण कार्य भने हुन सकेको छैन् । आयोजनाका जनसम्पर्क अधिकृत अधिकारीका अनुसार आयोजनाको विद्युतलाई भोर्लेटारबाट नेपाल विद्युत प्राधिकरको ३३ केभी लाइनमार्फत दमौली पठाउने तयारी भइरहेको छ । यसका लागि प्रवद्र्धक कम्पनी र नेविप्राको संयक्त प्रयासमा भोर्लेटार–दमौली प्रसारण लाइनको निर्माण कार्य अघि बढिरहेको छ ।

प्रवद्र्धक कम्पनी युनियन र प्राधिकरणसँग विद्युत जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) मा आयोजना निर्माण सम्पन्न हुनु अगावै भोर्लेटारमा शबस्टेशन निर्माण गर्ने सहमति भएको थियो । तर सो अनुरुपको काम भने हुन सकेन ।

प्रवद्र्धक कम्पनी युनियन हाईड्रोपावरले ३ मेगावाट विद्युत उत्पादन गर्ने गरी पश्चिम लमजुङको करापु र नाल्मा गाउँको सिमानामा यो आयोजना निर्माण गरेको हो । आयोजनाको शुरुको लागत ५४ करोड रहेपनि इन्धन अभाव, भुकम्प र मजदुर अभावका कारण आयोजनाका समय र लागत दुबै बढेको जनसम्पर्क अधिकृत अधिकारीले बताए । ‘सुरुङमा कमजोर चट्टान भएका कारण अलि समय लाग्यो ।” अधिकारीले भने, “सुरुङमा धेरै ‘रिप’ हाल्नुपर्ने अवस्था आएकोले पनि हामी ढिला भयौं ।’

आयोजनाको प्रवद्र्धक कम्पनी र नेपाल विद्युत प्राधिकरण बिच २०६७ माघमा विद्युत खरिद बिक्रि सम्झौता (पिपिए) भएको थियो । साविकको करापु र नाल्मा गाविसको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध बाँधीएको छ ।

यसका साथै आयोजनाको मुख्यप्रभावित क्षेत्रहरू नेटा, करापु, नाल्मा, ईशानेश्वर, भोर्लेटार, बाँग्रे र सिन्दुरे लगायतका स्थानमा सामाजिक उत्तरदायित्वका कामहरु भइरहेको स्थानिय समाजसेवी डम्बरबहादुर गुरुङले बताए । उनले स्थानियको आयोजनामा जनसहभागिता बढाउनका लागि प्रभावित गाविसमा लागि १० प्रतिशत शेयरसमेत वितरण गरेको बताए । पानीको वहावमा आधारित स्वदेशी लगानीको यो आयोजना र नेपाल विद्युत प्राधिकरणबिच सुख्खायाममा ८ रुपंैयाँ ४० पैसा र बर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरि पिपिए सम्झौता भएको हो ।

– छविलाल बगाले