आठ घण्टा दैनिक श्रमदान पछि खानेपानी योजना सम्पन्न

तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साविकको सिन्धुलीको भद्रकाली गाविस–५, बुक्ति खट्टारका स्थानीयबासी खानेपानीको योजना सम्पन्न गराउन श्रमदान गरिरहेका छन् । गाउँमा दीर्घकालीन खानेपानीको मुहान र पानीको पहुँच नहँुदा अब ‘एक घर एक धारा’ पाइने भएपछि स्थानीय उत्साहपूर्वक खानेपानीको योजनामा श्रमदान गरिरहेका छन् ।

गाउँघरमा अहिले युवाशक्ति कम भएको त प्रायः सबैलाई नै थाहा छ । सदैव पानीको समस्यामा रहेका त्यस क्षेत्रका महिला पनि अहिले पुरुषसरह दैनिक आठघण्टा श्रमदान गरिरहेका छन् । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग र ग्रामीण विकास समाज सिन्धुलीको आयोजनामा खट्टार खानेपानी तथा सरसफाइ योजना निर्माण गर्न स्थानीयको उल्लेख्य सहभागिता रहेको छ ।

गाउँघरमा बिहान बेलुका घरधन्दा र दिउँसोभर खानेपानीको योजना निर्माणको निर्माण चरणमा पाइप लाइन खन्ने, पुर्ने, स्थानीय सामग्री संकलन गर्ने, गैरस्थानीय सामग्री निर्माणस्थलसम्म पु¥याउन व्यस्त रहेका छन् । अब केही महिनामा नै घरमा सफा पानी घरकै धाराबाट थापेर खान पाउने हुँदा आफूहरु पनि योजना निर्माणमा लागेको स्थानीय तथा खट्टार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य समेत रहनुभएका संगीता बम्जनले बताउनुभयो ।

महाभारतको काखमा रहेर विगतमा खानेपानीको समस्या हुँदा आफूहरुलाई खानेपानीको जोहो गर्न हिउँद् होस् या वर्षा सधैँ समस्या थियो, नेपाल सरकारले ‘एकघर एक पानीको धारा’ बनाइदिने रेडियोमा सुनेका थियौँ, उहाँले भन्नुभयो, ‘अब त आफ्नै घरमा धाराबाट पानी पिउने दिन आएको छ ।’

अब खट्टारका महिला दिदीबहिनी खोला र कुवाबाट पानी बोक्ने झन्झटबाट मुक्ति पाउने छन् भने समयको समेत बचत हुने उहाँ बताउनुहुन्छ । गर्मीयाममा काकाकुलजस्तै बन्ने गरेकोमा अहिले धारामा पानी थापेर खान पाउने आशामा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म श्रमदान गरिरहेको स्थानीय दिलबहादुर गोलेले बताउनुभयो ।

खानेपानी योजना सम्पन्न गर्न पुरुषसरह महिला पनि श्रमदानमा लागि परेको उहाँको भनाइ छ । खानेपानी योजना सम्पन्न गराउन बालुवा बोक्ने, ढुंगा बोक्ने, गिट्टी बोक्ने, सिमेन्ट र अन्य आवश्यक सामान बोक्न पनि महिला सक्रिय रहेका छन् । खानेपानी योजनाको सुरुवाती चरणदेखि नै स्थानीयले राम्रो साथ दिएको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर गोलेले बताउनुभयो । समुदायका व्यक्ति पानीको समस्यामा रहेको र पानीको मुहान बनाई घरघरमा धारा बनाउने संस्था गाउँमा आएको सुन्ने बित्तिकै स्थानीय खानेपानीको योजना चाँडै सम्पन्न गराउने योजनामा रहेको उहाँ बताउनुहुन्छ ।

अहिलेसम्म दुई हजार ४०० मिटर खानेपानीको पाइपलाई तीन फिट गहिराइमा पुर्ने कार्य सम्पन्न भएको छ । अब वर्षात् पनि कम हुँदै गएकाले मुहान र पानीपोखरीको काम गर्ने गोलेले बताउनुभयो । सरसफाइका बारेमा चेतना नहुँदा फोहरमैलालाई नजिकै राख्ने खट्टारका जनता अहिले सरसफाइका क्षेत्रमा पनि उत्तिकै जानकार भएको बास मोटिभेटर अनितामाया गोले बताउनुहुन्छ । सरसफाइका बारेमा बेखबर स्थानीय अहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ राख्नुपर्छ, सफा र स्वच्छ खानेकुरा खानुपर्ने र सफा लुगा लगाउनुपर्छ भन्ने उनीहरुमा चेतना फैलिएको गोलेले बताउनुभयो ।

घरायसी कार्यबाट निस्केको फोहरलाई पनि उनीहरुले खाल्डोमा हालेर मल बनाउने कार्यमा लागेको उहाँको भनाइ छ । मानिसको आनीबानी परिवर्तन र विकास निर्माणका कार्यमा लाग्नु सबैभन्दा महत्वपूर्ण कुरा भएको बास मोटिभेटर गोले बताउनुहुन्छ । महाभारतका डाँडा छिचोलेर भिरपाखामा पाइपलाइन पुर्नुपर्ने भएकाले स्थानीय जोखिम मोलेरै भएपनि श्रमदानमा जुटेको बास टेक्निसियन राजनप्रसाद काफ्लेले बताउनुभयो । वर्षायाममा पहिरोले पाइप चुडाउने डर, सुक्खा समयमा डढेलोले पाइपलाई क्षति पु¥याउने भएकाले स्थानीयबासी उत्साहका साथ पाइपलाइन पुर्न लागिपरेका छन् ।

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म घरायसी कामलाई थाती राखी योजना चाँडै सम्पन्न गर्नु उनीहरुको लक्ष्य रहेको उहाँको भनाइ छ । पहाडी क्षेत्रमा धेरैतिर फैलिएको बस्तीलाई सातवटा खानेपानीको मुहानबाट पानी ल्याइने कार्य भइरहेको छ । विकट क्षेत्र भएकाले निर्माण सामग्री ढुवानीमा समस्या भएकाले स्थानीय उपभोक्ताको प्रयासमा नै अहिलेसम्म निर्माण सामग्रीको ढुवानी हँुदै आएको छ ।

खट्टार खानेपानी आयोजना निर्माणका लागि रु ५६ लाख २६ हजार ६ सय ५१ को लागतमा योजना सम्पन्न हुने बास अफिसर उज्ज्वल खतिवडाले जानकारी दिनुभयो । मंसिर महिनासम्ममा आयोजना सम्पन्न गरी त्यस क्षेत्रका ८१ घर परिवारलाई घरघरमा पानी पु¥याइने लक्ष्यका साथ काम भैरहेको उहाँले बताउनुभयो ।

आयोजना सम्पन्न भएपश्चात् ५१७ जना प्रत्यक्ष लाभान्वित हुने उहाँको भनाइ छ । एक विद्यालय र एक बौद्ध मन्दिरलाई पनि खानेपानीको धारा जडान गरिने बताइएको छ । तामाङ जातिको बाहुल्य रहेको खट्टारमा कहीँ कसैले खानेपानीका लागि पहल नगरिदिँदा समस्यामा रहेका उनीहरु अब पानीको समस्याबाट छुटकारा पाउने आशामा रहेका छन् । रासस



तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया


Loading...



1 Shares
Share1
Tweet
+1
Share